+

२०७३ मा नेपाली खेलकुदः फुटबलमा शुभसंकेत, क्रिकेटमा छायो कालोबादल

२०७३ चैत  ३० गते १८:५० २०७३ चैत ३० गते १८:५०
२०७३ मा नेपाली खेलकुदः फुटबलमा शुभसंकेत, क्रिकेटमा छायो कालोबादल

३० चैत, काठमाडौं । नेपालका सर्वाधिक लोकप्रिय दुई खेल हुन् फुटबल र क्रिकेट । वर्ष २०७३ मा नेपाली खेलकुदको घामछायालाई यिनै दुई खेलले प्रतिनिधित्व गरेका छन् ।

यो वर्ष नेपाली फुटबलका सुखद रह्यो तर क्रिकेटका लागि दुःखद । फुटबलमा नेपालले एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि जित्नुका साथै फुटबल संघले लामो समयपछि नयाँ नेतृत्व पायो । यता क्रिकेटमा भने नेपाललाई गहिरो चोट लाग्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आन्तरिक विवादलाई कारण देखाउँदै नेपालको क्रिकेट संघलाई निलम्बन गरिदियो ।

यो बाहेक निर्धारित समयभन्दा तीन बर्ष ढिला गरी आयोजना भएको राष्ट्रिय खेलकुदको सातौं संस्करण सम्पन्न हुनुलाई यो वर्षको हाइलाइट्सका रुपमा लिन सकिन्छ । यस प्रतियोगिताले नेपाली खेलाडीहरुमा नयाँ रक्त सञ्चार गरेको छ । यद्यपि, व्यवस्थापन र पूर्वाधारको हिसाबले उक्त खेलमेलाको आलोचना गर्ने विषयहरु धेरै रहे ।

गत बर्ष ओलम्पिक कमिटीको साधारणसभा विबादरहित रुपमा सम्पन्न भई जीवनराम श्रेष्ठले जिम्मेबारी संहालेयता शान्त देखिएको ओलम्पिक बिवाद यो बर्ष पुनः देखियो । सर्बोच्च अदालतले आफूले दिएको परमादेश लागू गर्न गृह मन्त्रालयलाई ताकेता गरेपछि निश्क्रिय प्रायः रहेको रुक्मशमशेर राणा नेतृत्वको ओलम्पिक कमिटी जुर्मुरायो ।

सर्बोच्चले पाँच बर्षअघि उनी नेतृत्वको ओलम्पिक कमिटीलाई आधिकारिक घोषणा गरेपनि ध्रुवबहादुर प्रधान नेतृत्वको कमिटीले आफू अन्तर्राष्ट्रिय मान्यतामा रहेको अडानका साथ रहेका थिए ।

नेपाली खेलकुदका यस्तै सुखदुखबारे यहाँ चर्चा गरिएको छ ।

ओलम्पिकमा सहभागिता मात्रै

विश्व खेलकुदको महामेला मानिले ग्रिष्मकालिन ओलम्पिकको ३१औं संस्करण गत अगष्ट ५ देखि २१ अर्थात साउन २१ देखि भदौं ५ गतेसम्म ब्राजिलको रियो दि जेनेरियो शहरमा सम्पन्न भयो ।

ओलम्पिकमा नेपालबाट ५ खेलमा ७ खेलाडीले सहभागिता जनाए । ओलम्पिकको छनौट चरणमा असफल भएका नेपाली खेलाडीहरु वाइल्ड कार्ड र वर्ल्ड एक्सेसमार्फत सहभागिता जनाएका हुन् ।

जुडो, तेक्वान्दो र आर्चरी खेलमा नेपालले वाइल्ड कार्ड पाएको थियो भने पौडी र एथ्लेटिक्स वर्ल्ड एक्सेस मार्फत सहभागिता सम्भव भएको थियो ।

नेपाली खेलाडीहरुमा तेक्वान्दोकी निशा रावल, जुडोकी फूपूल्हामू खत्री, आर्चरीका जितबहादुर मोक्तान, एथ्लेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई तथा पौडीका गौरिका सिंह र शिरिष गुरुङ सहभागी थिए ।

११ हजार भन्दा बढी खेलाडीहरुमध्ये १३ बर्षीया गौरिका ओलम्पिककै कान्छी खेलाडीको रुपमा चर्चित भइन् । अन्तर्राष्ट्रिय मिडियाले कान्छी खेलाडीको बारेमा निक्कै कभर गरे । १०० मिटर ब्याकस्ट्रोकमा सहभागीता जनाएकी गौरिका हिट चरणमा पहिलो भए पनि दोस्रो चरणमा पुग्न सकिनन् ।

१०० मिटर फ्रीस्टाइल खेलेका शिरिष गुरुङले पनि पहिलो चरण पार गर्न सकेनन् । डोमेस्टिक पौडीका एक्लो बादशाहको रुपमा रहेका शिरिषले अपेक्षाकृत खेल प्रदर्शन गर्न सकेनन् ।

आर्चरीका जितबहादुर मोक्तानले आर्चरीको ७० मिटर एयर राइफलमा सहभागिता जनाए पनि पहिलो चरणबाट माथि जान सकेनन् ।

६३ केजीमूनि तौल समूहमा प्रतिस्पर्धा गरेकी जुडोकी फूपूल्हामु खत्रीले पनि पहिलो चरण पार गर्न सकिनन् ।

६७ केजीमूनि तौलसमूहमा वाइल्ड कार्डमार्फत सहभागिता जनाएकी तेक्वान्दोकी निशा रावल पनि पहिलो चरणमै पराजित भइन् ।

एथ्लेटिक्सका हरिकुमार रिमालले ५ हजार मिटर र सरस्वती भट्टराईले १५ मिटर दौडमा सहभागिता जनाए । रिमाल र सरस्वति दुवैले हिट चरण पार गर्न सकेनन् ।

सातौं राष्ट्रिय खेलकुद

निर्धारित समयभन्दा तीन बर्ष ढिला गरी राष्ट्रिय खेलकुदको सातौं संस्करण यसैबर्ष पूर्वाञ्चलमा सम्पन्न भयो ।

प्रत्येक दुई बर्षमा हुनुपर्ने प्रतियोगिता पाँच बर्षपछि हुँदा खेलाडीहरुले उत्साहपूर्वक सहभागिता जनाए पनि खेल पूर्वाधार बिकास र व्यवस्थापनमा भने छैटौं राष्ट्रिय खेलकुदमा जस्तै गुनासो रहृयो ।

राष्ट्रिय खेलकुद परिषदले ६ महिनाअघि नै मिति तय गरे पनि पूर्वाधार निर्माणमा भने सफल हुन सकेन । मूख्य गरी इण्डोर खेलहरु बाहिर खेलाइएको, तेक्वान्दो प्रतियोगिता निर्माणाधीन कवर्डहलमा गरिएको, एथ्लेटिक्स ट्र्याक अन्तर्राष्ट्रिय मापदण्डको नभएको, क्रिकेट मैदान खराव रहेकोमा धेरै आलोचना भए । तर लामो समयपछि भएको राष्ट्रिय खेल सफल पार्न खेलाडी र अफिसियलले कुनै कसर बाँकी राखेनन् ।

३५ खेललाई समावेश गराएर राष्ट्रिय खेलकुद आयोजना भएको थियो । बिराटनगरको शहीद रंगशालामा उद्घाटन भएको खेलकुद धरानको एन्फा टेक्निकल सेन्टरको मैदानमा समापन गरिएको थियो । मोरङको बिराटनगर, सुनसरीको इटहरी, इनरुवा, धरान र दुहवी त्यस्तै झापाको दमक, बिर्तामोड, काँकडभिट्टा र भद्रपुर, इलाम, राजविराज र सिरहा बजारमा सातौं राष्ट्रिय खेलकुदको आयोजना भए ।

देशको पुरानो संरचनाअनुसार पाँच बिकास क्षेत्र र तीन बिभागीय टोलीको सहभागीता रहेको खेलकुदमा बिभागीय टोलीकै बर्चश्व रहृयो । २९४ स्वर्ण, २९४ रजत र ४४७ काश्य गरी १०३५ पदकका लागि भएको स्पर्धामा नेपाली सेनाले सबैभन्दा धेरै सफलता हासिल गर्‍यो ।

सेनाले १०८ स्वर्ण, ६१ रजत र ४३ काश्य गरी जम्मा २१२ पदक हासिल गर्‍यो । ४७ स्वर्ण ४२ रजत र ५६ काश्य गरी सशस्त्र प्रहरीको एपिएफले १४६ पदक जित्यो । ४० स्वर्ण ३७ रजत र ४० काश्य जितेर नेपाल पुलिसले तेस्रो स्थान कब्जा गर्‍यो । बिभागबाहिर मध्यमाञ्चल पहिलो भयो । उसले ३१ स्वर्ण, ४९ रजत र ५७ काश्य जित्यो ।

फुटबलमा दुर्इ उपलब्धी

बर्ष २०७३ नेपाली फुटबलका लागि उल्लेख्य रहृयो । घरेलु फुटबलको अवस्था सन्तोषजनक नरहे पनि अन्तर्राष्ट्रिय फुटबलमा नेपालले अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्ने क्रममा एएफसी सोलिडारिटी कपको उपाधि जित्न सफल भयो ।

लामो समयसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने, फिफा बरियतामा अन्तिमतिर रहेका मुलुकका टोलीहरुबीच एएफसीले प्रतियोगिताको आयोजना गरेको थियो । गत कात्तिक २० देखि ३० गतेसम्म मलेसियामा भएको प्रतियोगिताको उपाधि नेपालले मकाउलाई १-० ले हराउँदै हात पार्‍यो ।

एएफसी सोलिडारिटी कप च्याम्पियनको हैसियतमा नेपालले एसियन कप छनौटको तेस्रो चरणमा स्थान बनायो । जस अन्तर्गत नेपाली टोली आगामी करिव १ बर्ष व्यस्त रहनेछ । एसियन कप छनौटको पहिलो खेलमा नेपालले गत चैत १५ गते फिलिपिन्ससँग खेलेको थियो, जुन खेलमा नेपाल ४-१ ले पराजित भयो ।

नेपालले यस बर्ष खेलेका ७ अन्तर्राष्ट्रिय खेलमा चार खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा पराजयको नतिजा निकाल्यो । नेपाल फिफा बरियातामा अहिले १७०औं स्थानमा छ ।

नेपाली फुटबलले लामो समयदेखि नयाँ नेतृत्व पायो । करिव २० बर्षदेखि अखिल नेपाल फुटबल संघ एन्फामा एकछत्र राज चलाइरहेका गणेश थापालाई फिफाले प्रतिबन्ध लगाएपछि नयाँ नेतृत्वका लागि बैधानिक प्रक्रिया अपनाइयो । एन्फाको ‘असन्तुष्ट समूह’का नेता कर्मा छिरिङ शेर्पालाई पछि पार्दै कार्यबाहक अध्यक्षसमेत रहेका नरेन्द्र श्रेष्ठ अध्यक्षमा निर्वाचित भए । गत कात्तिक ८ गते भएको निर्बाचनमा श्रेष्ठले शेर्पालाई पाँच मतले पछि पारेका थिए ।

दुई बर्षअघिको भूकम्पले दशरथ रंगशालामा क्षति पुर्‍याएपछि अन्तर्राष्ट्रिय खेल आयोजना गर्न नसकेको नेपालले यस्तै नियति आगामी बर्ष पनि ब्यहोर्ने सम्भावना छ । यद्यपि एन्फाले सातदोवाटोमा रहेको मैदानमा अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने तयारी गरिरहेको छ ।

क्रिकेट संघ निलम्बनमा

२०७३ साल नेपाली क्रिकेटका लागि बिर्सनलायक वर्षको रुपमा इतिहासमा दरिनेछ । बर्षको सुरुमै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले आन्तरिक बिवाद र सरकारी हस्तक्षेपलाई कारण बनाउँदै आफ्नो २८ बर्ष पुरानो सदस्य संस्था नेपाल क्रिकेट संघ क्यानलाई यसै बर्षको सुरुवातमा निलम्बन गर्ने निर्णय गर्‍यो ।

यसका कारण नेपालले आइसीसीको आधिकारिकता नै गुमाउने सम्भावना थियो तर बिवाद समाधान र नयाँ क्रिकेट संघ गठनका लागि सल्लाहकार परिषद गठन गरेको छ र समाधान प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आइसीसीले नेपाली क्रिकेट टोलीको अन्तर्राष्ट्रिय सहभागितामा बाधा नपार्ने गरी संघ निलम्बन गरेको थियो । संघ निलम्बनमा परेपछि घरेलु प्रतियोगिता नभए पनि नेपाली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट भने वञ्चित हुनु परेन ।

यसबीचमा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो र पाचौं चरणका खेलहरु सम्पन्न भए । चौथो चरणमा नेदरल्याण्ड्स भ्रमण गरेको नेपालले पाचौं चरणमा केन्यालाई कीर्तिपुर मैदानमा आतिथ्य गर्‍यो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणमा गत साउन २९ र ३० मा दुई खेल खेलेकोमा नेपालले एकमा जित र एकमा पराजयको नतिजा निकालेको थियो ।

त्यस्तै पाचौं चरणमा नेपालले गत फागुन २८ र ३० गते कीर्तिपुर मैदानमा केन्याबिरुद्ध खेल्यो । र एक खेलमा जित र एकमा पराजित भयो ।

सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकप छनौटको सुरुवाती खुड्किलो मानिएको यस प्रतियोगितामा नेपाल छैटौं स्थानमा छ । नेपालले १० खेलबाट ४ जित र ६ हारको साथ १० अंक जोडेको छ । प्रतियोगितामा दुई चरणका खेल बाँकी रहँदा नेपाल विश्वकपमा छनौट हुने संभावना निक्कै कमजोर देखिन्छ । नेपालले हङकङ र युएईसँग खेल्न बाँकी छ ।

भलिवललाई पहिलो अन्तर्राष्ट्रिय मेडल

बर्ष २०७३ नेपाली भलिवलका लागि अविष्मरणीय बर्षको रुपमा रहृयो । ४१ बर्षको अन्तर्राष्ट्रिय सहभागिताको इतिहासमा नेपाली पुरुष भलिवलले पहिलो पटक अन्तर्राष्ट्रिय मेडल जित्न सफल भयो ।

महिला भलिवलमा अन्तर्राष्ट्रिय पदक आए पनि नेपालको पुरुष भलिवलले अन्तर्राष्ट्रिय पदक जित्न सकेको थिएन । तर यस बर्ष नेपाली टोली भाग्यमानी सावित भयो ।

तेस्रो एसियन भलिवल कन्फेडेरेसन सेन्ट्रल जोन अन्तर्राष्ट्रिय भलिवलमा नेपालले काश्य जित्यो । यसअघिको दुई संस्करणमा नेपाल दुवै पटक सेमिफाइनलमा पुगेर पराजित भएको थियो । त्यस प्रतियोगितामा नेपालले दुई खेल जितेर सेमिफाइनलमा पुगेको हो ।

तर यसपटक नेपाल भाग्यमानी बन्यो । गत चैत १७ गते माल्दिभ्समा सम्पन्न भएको प्रतियोगितामा चार टोलीमात्रै सहभागी थिए । एक टिमलाई पराजित गर्न सके अन्तर्राष्ट्रिय पदक पक्का थियो । यस्तोमा नेपालले माल्दभ्सिलाई हरायो र काश्य पदक सुरक्षित गर्‍यो ।

फुटबल र क्रिकेटमा केन्दि्रत रहेको नेपाली खेलकुदमा अन्य खेलहरु समर्थक र प्रायोजकको चासोको बिषयमा पर्दैन । तर नेपाली भलिवलले यस बर्ष अहिलेसम्मकै सबैभन्दा ठूलो प्रायोजन सम्झौता गरेको छ ।

राष्ट्रिय लिग भलिवलका लागि राष्ट्रिय बाणिज्य बैंकले नेपाल भलिवल संघसँग २ सिजनका लागि २० लाखको सम्झौता गरेको हो ।

लेखक
कुशल तिमल्सिना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय