२६ भदौ, काठमाडौं । फुटबलर किरण लिम्बु र ब्याडमिन्टनकी नङसल तामाङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत किरण पुरुषतर्फ तथा नङसल महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
राष्ट्रिय टोलीका गोलरक्षक किरण व्यवसायिक फुटबल खेल्ने क्रममा हाल माल्दिभ्समा छन् । त्यसैले उनको अवार्ड आमाले लिइन् । यो अवार्डका लागि किरणसँगै ब्याडमिन्टनका रत्नजीत तामाङ, क्रिकेटका शरद भेषावकर, एथलेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठ मनोनयनमा परेका थिए ।
नेपाललाई पहिलो पटक एसियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगिताको उपाधि जित्ने क्रममा गोलरक्षक किरण चेम्जोङको महत्वपूर्ण भूमिका रहृयो । लाओसबिरुद्धको सेमिफाइनलमा तीन पेनाल्टी रोकेर नायक भएका उनी नेपाली टोलीका नम्बर एक गोलरक्षक हुन् ।
यस्तै चार प्रतिस्पर्धीलाई पछि पार्दै नङसल महिलातर्फ उत्कृष्ट महिला खेलाडी भइन् । उनीसँगै एथलेटिक्सकी कान्छीमाया कोज, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराई मनोनयनमा परेकी थिइन् ।
जुडोकी मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट युवा खेलाडी बनिन् । यो अवार्डका लागि मनितासँगै क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली मनोनयनमा परेकी थिइन् ।
मनिताले ११ औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् ।
यस्तै एथलेटिक्सका पुष्पराज ओझा उत्कृष्ट प्रशिक्षक बने । यो अवार्डका लागि ओझासँगै फुटबलका ग्योतोकु कोजी र मेघराज केसी, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टन किरण थापा मनोनयनमा परेका थिए ।
रियो ओलम्पिकमा सरस्वती भट्टराई र हरिकुमार रिमालका प्रशिक्षक पुष्पराज ओझा त्रिभुवन आर्मी क्लवका प्रशिक्षक हुन् । सातौं राष्ट्रिय खेलकुदमा उनको टोली त्रिभुवन आर्मीले एथ्लेटिक्समा सर्बाधिक २२ स्वर्ण, १६ रजत र ८ काश्य जितेको थियो ।
पुरुष भलिवल टिमलाई टिम अफ दि इयर अवार्ड प्रदान गरिएको छ भने बन्दी सहायता गृह -पाम)लाई विशेष अवार्ड प्रदान गरिएको छ ।
पिपुल्स च्वाइस अवार्ड कान्छीमायालाई
पिपुल्स च्वाइस अवार्ड एथलेटिक्सकी कान्छीमाया कोजुले जितिन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता छनोट गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अनुसार कुल ९५ हजार ७२६ भोट आएको थियो । एक भोट बराबर चार फेसबुक लाइक मानिएको थियो ।
मनोनयनमा परेका पाँच खेलाडी मध्ये सबैभन्दा धेरै भोट पाएकी कोजुले अवार्ड जितिन् । फुटबलका सुजल श्रेष्ठ दोस्रो र क्रिकेटका दिपेन्द्र सिंह ऐरी तेस्रो स्थानमा रहे । जम्मा आएको मतमध्ये उनले ६६ हजार १२४ मत पाइन् ।
एथ्लेटिक्सको महिला म्याराथन र हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमानधारी कोजुले गत वर्ष सहभागी भएका पाँचै प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।
घनश्यामलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
पल्सर स्पोर्ट्स अवार्ड अन्तरगर्त लाइफ टाइम अचिभमेन्ट अवार्ड पूर्व गल्फर घनश्याम थापालाई प्रदान गरिएको छ ।
सूर्य नेपाल गल्फ कोर्षका संस्थापकसमेत रहेका थापा नेपालका पहिलो पुस्ताका व्यवसायिक गल्फर हुन् । १० वर्षको उमेरमै गल्फमा लागेका उनले भारतमा प्रशिक्षण गरी व्यवसायिक गल्फर भएका थिए ।
७० वर्षीय थापाले भारत ओपनदेखि दुई पटक गल्फ विश्वकप खेलेका छन् ।
प्रतिक्रिया 4