+
+

सफ्ट बैंकले किन्यो उबरको सेयर

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १४ गते १९:०१

वासिङ्टन डीसी । प्रख्यात अमेरिकी ट्याक्सी सेवा प्रदायक कम्पनी उबरको ठूलो हिस्सा सेयर जापानको टेक कम्पनी सफ्ट बैंकले किन्ने भएको छ ।

स्रोतका अनुसार सफ्ट बैंकले उबरको हालको मूल्यबाट ३० प्रतिशत छुटमा १५ प्रतिशत इक्वीटी सेयर हासिल गर्नेछ । यो सम्झौताले जनवरीमा पूर्णता प्राप्त गर्ने जनाइएको छ ।

सन् २०१९ मा पब्लिक सेयर अफरिङका लागि तयारी गरिरहँदा आफ्नो बोर्डको संरचना सुधार्ने र विगतका स्क्यान्डल एवं गलत कदमहरुबाट बाहिर निस्किने प्रयासका क्रममा उबरले यो कदम चालेको हो ।

सफ्टबैंकले १५ प्रतिशत सेयरको लक्ष्य हासिल गर्नका लागि लगानीकर्ताहरुसँग सहमति गरिसकेको पनि स्रोतको भनाई छ ।

मूल्यांकनको विस्तृत विवरण दुवै कम्पनीहरुले उपलब्ध गराएका छैनन् तर स्रोतका अनुसार उबरको ४८ अर्ब डलर मूल्यमा आधारित रहेर लगानी गरिएको हो । जबकि यसै वर्षको आरम्भमा उबरको मूल्यांकन ७१ अर्ब डलर गरिएको थियो ।

अब उबरमा सफ्ट बैंकको लगानी ७.७ अर्ब रहने छ, जसमा यसै वर्ष हालिएको १ अर्ब डलर पनि समावेश छ ।

यसअघिको लगानी उच्च मूल्यांकनमा गरिएको थियो र सेयर पुनः खरिद न्यून मूल्यमा गरिएको थियो । यसबाट उबरको समग्र मूल्यांकन ५४ अर्ब डलर कायम भएको छ ।

यो लगानी प्रविधिको संसारमा मुख्य खेलाडी बन्ने सफ्टबैंकको प्रयासको एक अंश हो ।

उबर संसारको ठूलो ट्याक्सी सेवा दिने कम्पनी हो, जसको आफ्नै ट्याक्सी भने एउटा पनि छैन । एपमा आधारित यो ट्याक्सी संसारका धेरै देशमा लोकप्रिय छ ।

कुनै गाडीधनीले एप इन्स्टल गरेर आफ्नो गाडीलाई तुरुन्तै ट्याक्सीमा बदल्न सक्ने, मन लागेका बेला चलाउने र मन नलागेका बेला नचलाउने सुविधा छ । प्रयोगकर्ताले पनि एपबाटै नजिकै रहेको ट्याक्सी खोजेर एपबाटै पैसा तिरेर भनेको ठाउँमा जान सक्छन् ।

कम्पनीको वेवसाइटका अनुसार यसका ट्याक्सीहरु विश्वका ७७ देशका ६ सय १६ शहरहरुमा छन् र १६ हजार कर्मचारी कार्यरत छन् । सामान्यतया उबरका ड्राइभरहरुलाई स्वतन्त्र हैसियत दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?