+
+

बेपत्ता डोरबहादुर विष्ट र नेपालका बुद्धिजीवी

निनाम लोवात्ती कुलुङ निनाम लोवात्ती कुलुङ
२०७४ माघ ४ गते १०:२२


भनिन्छ, डोरबहादुर विष्ट ०५३ पुसमा घर-परिवारलाई भनेरै १५/१६ दिनका लागि जुम्ला हिंँडेका थिए । केही समयको जुम्ला बसाइपछि उनी काठमाण्डौं आउन नेपालगञ्जसम्म झरेका थिए । उनले तत्कालीन नेकोन एयरको टिकट पनि काटेका थिए । तर, उनले फेरि काठमाण्डौ नआएर दुई महिना धनगढीमा गएर बिताउन चाहन्छु भनी घरपरिवारमा खबर गरेका थिए । त्यसपछि वेपत्ता भएका डोरबहादुर विष्टका बारेमा हालसम्म खास खबर कसैलाई थाहा छैन ।

समाजशास्त्री एवं चर्चित लेखक डोरबहादुर कता छन् ? के गर्दैछन् ? जिउँदै छन् कि मरे ? कसैलाई अत्तोपत्तो छैन । कम्तिमा उनका घर परिवार र आफन्तले त खोजीनीति पक्कै गरे होलान् । केही पत्रपत्रिकाले डोरबहादुरका बारेमा खोजमुलक ढंगले लेख/फिचर प्रकाशित गरेको पनि हो । तर, अहिलेसम्म उनको पत्तो लागेको छैन ।

भनिन्छ, डोरबहादुर विष्टले जब ‘फ्याटालिज्म एन्ड डेभलपमेन्ट’ (भाग्यवाद र विकास) नामक किताब लेखे, अनि त्यो किताब सन् १९९१ प्रकाशित भयो, तब नेपाललगायत विदेशका ठूलाठूला विद्वान भनाउँदाहरुको पनि दिमागको बत्ती नकारात्मक रुपमा जलेको थियो ।

अझ विष्टको उक्त किताबकै कारण नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरुको पनि दिमागमा सकारात्मक बत्ती जल्यो ।

अर्थात् माथि उल्लेखित जातजाति, वर्ग, क्षेत्र, लिंग आदिको अगुवाहरुले जब विष्ट बाको उक्त किताब पढे, राज्यले विगत लामो समयदेखि नियम कानुुनको पेटारो बनाएरै गरेको विभेद, खासगरी राज्यको आड भरोसामा एकल जातीय ढंगले एक पक्षले गर्दै आएको अनेकखाले विभेद, थिचोमिचो र शासनहरुका बारेमा नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरु प्रष्ट भए ।

हुन पनि विष्टको त्यही फ्याटालिज्म एन्ड डेभलपमेन्ट नामक किताब पढेरै नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरु नेपालमा रहेको जातीय, भाषिक, क्षेत्रीय, लिंगीय, धार्मिक, वर्गीय आदि विभेदविरुद्ध बुलन्द आवाज उठाउन थाले ।

त्यस्तै नेपालका अनुदारवादी बाहुन क्षेत्रीहरु पनि विष्ट आफू कालिकोटे क्षेत्री भएर पनि हिन्दू जाति प्रथा, हिन्दू धर्म, धर्मकै आधारमा गरी आएको विभेद, ऊँच-नीचको व्यवस्था र छुवाछुत, हिन्दू-हिन्दूबीचमै मन्दिर प्रवेश निषेध, आदिवासी जनजाति र दलितमा पनि मासिने र नमासिने, छोइछिटो हाल्न पर्ने र नपर्ने आदिको व्यवस्था, यही कारणले नै नेपालपछि परेको वास्तविक तस्वीर किताबमा उतारेकोमा रुष्ट थिए ।

ती अनुदारवादी बाहुनक्षेत्रीहरुको भाषामा भन्ने हो भने, विष्टले फ्याटालिज्म एन्ड डेभेलोपमेन्ट किताब लेखेर नेपालमा कलहको बिऊ रोपे ।

त्यसो त डोरबहादुर विष्टले त्यसअघि नै सन् १९६७ मा ‘पिपुल अफ नेपाल’ (नेपालका मानिस/मान्छेहरु) नामक किताब लेखेर प्रकाशित गरिसकेका थिए । उक्त किताबले नै डोरबहादुर विष्टको क्षमता र विद्धता विश्वभरि फैलिसकेको थियो । यसले विष्टका अगाडि मै हुँ भन्ने गोरा, खासगरी नेपालीहरुले केही गर्नै सक्दैनन् भन्ने मानसिकता बोकेका पश्चिमाहरुले पनि नेपालीहरु केही गर्न सक्दैनन् भन्नेहरुलाई वौद्धिक जवाफ दियो । डोरबहादुरको उक्त किताब पढेपछि पश्चिमा ठूला विद्वान भनाउँदाहरु पनि पानीपानी भए ।

विष्टले लेखेको ‘सबै जातको फूलबारी’ नामक किताबको परिचय लेख्ने क्रममा स्वर्गीय डाक्टर हर्क गुरुङले त्योबेला ‘पिपुल अफ नेपाल’ प्रकाशित हुनु दुई कारणले नौलो संस्कार भएको लेखेका छन् ।

गुरुङका अनुसार  ‘पहिलो, त्यस किताबको प्रकाशक सूचना विभाग थियो । त्यसबेला श्री ५ को सरकारको नीति नै ‘एक देश, एक भेष, एक धर्म, एक भाषा’ भन्ने थियो । त्यस्तो एकलौटी संस्कृतिको पैरवी गर्ने राज्य व्यवस्थाले पनि जातीय विविधता दर्शाउने सो किताब छाप्नु एउटा उदेकको कुरा थियो ।

दोस्रो, लेखक आफू कालीकोटे क्षेत्री भएर पनि नेपालका आदिवासी जनजातिबारे अति संवेदनशील हुनु अनौठो धारणा थियो ।’

प्रस्टसँग भन्दा  ‘सबै जातको फूलबारी’ नामक किताब नै सायद पहिलो होला जहाँ प्रस्टैसंँग लेखकले ‘पाँचौं संस्करणसम्म प्रकाशित हुँदा पनि आफूले नेपालका खसहरु सबै नै बाहुन, क्षेत्री र ठकुरीभित्र समावेश भइसकेको ठहर्याएर खस बाहुन/खस क्षेत्री संयुक्त शब्दलाई चलनचल्तीमा ल्याइएछ ।

खसानतर्फको अनुसन्धानमा गएको बेला भेटिएका खसहरुले आफूहरुलाई मतवाली क्षेत्री भनी परिचय दिंँदा बिना छलफल त्यस शब्दलाई उतारेर बाहुन/क्षेत्रीकाे अध्यायभित्र हुलेपछि काम पूरा भएको ठान्ने अपराध गरिएछ । खसहरुलाई अलग अध्यायमा राखेर पूरा विवरण दिनुपर्ने आवश्यक्ता नभएको ठानिएछ ‘ भनी आफूबाट खसहरुमाथि भएको अन्याय/गल्तीलाई लेखक डोरले क्षमायाचना शीर्षकमा अलग्गै कलम चलाएर स्वीकारेका छन् । साथै छैठौं संस्करणदेखि खसहरुका सम्बन्धमा ‘हामी खस’ भनी अलग्गै शीर्षक (पान-११) राखेर खसहरुबारे लेखेका छन् ।

वास्तबमै ‘सबै जातको फूलबारी’ नामक किताब दलित, खसलगायत नेपालका धेरै आदिवासी जनजातिहरुका लागि सञ्जीवनी बुटी नै सावित भएको छ । त्यस्तैमध्ये एक हो, हाल कथित राई जाति भनी चिनिएका र, एक पक्षले जबरजस्ती अझै पनि राई भनेरै चिनाउन खोजिएको २८ भन्दा बढी किराती जातिहरुका बारेमा डोरले लेखेको  ‘हामी किराती-राई’ शीर्षकको लेख, पाना-५ । उक्त लेखमा लेखक डोरले लेखेका छन्, ‘राई भन्ने खास गरी कुनै जातिको नाम भने होइन । यो त गाउँका ठालू वा मुखिया जनाउने शब्द मात्र हो । माझ किराँतमा धेरैजसो राईहरु आफूलाई जिमी वा जिमिन्दार भन्ने गर्दछन्, तापनि राई शब्द बढी प्रचलनमा आउँदैछ ।

सुरुमा बाहुनलाई पण्डित, नेवारलाई साहुजी, राणा र ठकुरीलाई बाबुसाहेब, अरु क्षेत्रीलाई काजी, लिम्बु र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, आदि शब्दले सम्मानपूर्वक सम्बोधन गरेजस्तै मात्र थियो’ भनी लेखेका छन भने, पाना-९ मा ‘यहाँको सबै जग्गा केही वर्षअघिसम्म राईको किपट थियो ।

यहाँँका किपटिया राईबाहेक अरु ठाउँबाट बस्न आएका राई हुन् वा अरु जोसुकै जातका हुन् तिनलाई ‘रैती’ भन्ने चलन थियो । किपटिया राईहरुले जग्गाको नापअनुसारको तिरो नतिरी सबैले बराबरी घरधुरीको तिरो तिर्ने चलन थियो । त्यसले गर्दा थोरै जग्गा हुने किपटिया ‘राई’लाई मर्का परेको थियो । त्यसैले ‘राई’ पद खारेज हुँदा ‘राई’हरु नै खुशी थिए ‘ भनी लेखेका छन् ।

आज देशमा डोरबहादर विष्ट जीवितै भएको भए  वा वेपत्ता नभएको भए नेपालको वर्तमान डावाँडोल राजनीतिलाई सही दिशामा डोर्‍याउन अवश्य नै केही न केही भूमिका खल्थे कि ? भन्ने यो लेख लेख्ने लेखकको आशय हो ।

किनभने, हालको अवस्थामा डा. पिताम्बर शर्माबाहेकका जति नै प्रजातान्त्रिक र उदारवादी भनिएको (बाहुन/क्षेत्री) बुद्धिजीवीहरुले पनि राज्यले विगतमा कानुन र नीति नियमको पेटारो बनाएरै नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका जातजाति, वर्ग, क्षेत्र, लिंग आदिलाई अन्याय गरेको थियो । उत्पीडनमा पारेको हो/थियो भनी स्वीकार गर्न सकेका छैनन् । तर, अब उनीहरुले कुनै न कुनै दिन विगतमा जे भएको भए तापनि अबका दिनमा त्यस्तो गर्नुहुँदैन भनी उनीहरुले स्वीकार गर्नैपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?