७ माघ, पोखरा । प्रदेश ४ का प्रदेशसभा सदस्यहरुले आइतबार सपथ लिएका छन् । तर, रामबहादुर गुरुङ सपथ लिनबाट छुटेका छन् भने दीपक मनाङे अनुपस्थित रहे ।
प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण समारोह पोखरा नगर प्रशिक्षण केन्द्रमा राखिएको थियो । प्रदेश ४ मा प्रत्यक्षतर्फ ३६ र समानुपातिकका २४ गरी ६० जना प्रदेशसभा छन् ।
प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ गराए । श्रेष्ठले प्रदेशसभाका बाँकी ५७ जना सांसदलाई सपथ खुवाएका हुन् ।
तनहुँ क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य रामबहादुर गुरुङ सपथ लिनबाट छुटे । रामबहादुर विदेशबाट फर्केर काठमाडौंबाट पोखरा आउने जहाज डिले भएका कारण सपथ कार्यक्रम सकिएपछि मात्रै प्रदेशसभास्थल पुगेका थिए ।
राजीव गुरुङ उर्फ ‘दीपक मनाङेे’ मनाङको प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र रुपमा विजयी भएका थिए । तर, ज्यान मुद्धामा दोषी ठहर गर्ने पुनरावेलनको फैसलालाई सर्वोच्चले सदर गरेपछि मनाङे सपथ कार्यक्रममा अनुपस्थित रहे ।
प्रदेशसभास्थल तोकिएको नगर प्रशिक्षण केन्द्र मर्मत तथा रङरोगन गरेर चिटिक्क पारिएको थियो ।
संघीयता कार्यान्वयनसँगै पहिलो पटक गठन हुन लागेको प्रदेश सभास्थल पुग्दा सांसदहरु दंग थिए ।
सपथसँगै प्रदेशसभा सदस्यहरुले बल्ल संघीयताको कार्यान्वयन भएको आभाष मिलेको प्रतिक्रिया दिएका छन् । ‘संसद कसरी चल्छ भनेर टीभीमा देखेका थियौं । आज आफैंले प्रदेश सभामा छिर्न पाउँदा अनौठो महसूस भयो’ सरिता गुरुङले भनिन्, ‘सपथ लिएसँगै बल्ल संघीयता लागू भएको फिल भएको छ ।’
सपथ लिन पुगेका प्रदेशसभा सदस्यहरु उत्साही देखिन्थे । छिट्टै प्रदेशसभा गठन गरी विकासको ढोका खोल्न आतुर रहेको सांसद दीपक कोइरालाले प्रतिक्रिया दिए ।
सपथ लिन पुगेका सांसदका पोशाकसमेत थरिथरीका थिए । केही दौरा सरुवालमा सजिएका थिए भने केही आफ्नो जातीय भेषभूषामा सजिएर पुगेका थिए । सांसद इन्द्रधारा विष्ट जातीय पोशाकमा सपथ ग्रहण स्थलमा पुगेकी थिइन् ।
प्रदेशसभा सदस्यहरुले सपथसँगै खुसी साटासाट गरे । केहीले पहिलो पटक भेट भएर परिचयसँगै सेल्फी खिचे भने पहिले नै चिनापरिचय भएका सांसदले सामूहिक तस्वीरसमेत खिचाए ।
प्रदेशको अन्तिम निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र पहिलो बैठक बसिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि ज्येष्ठ सदस्य र सांसदले सपथ खाएसँगै बाटो खुलेको छ । प्रदेश सरकारका अस्थायी संरचनाहरु धमाधम तयार भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तारानाथ अधिकारीले जानकारी दिए ।
यसैबीच प्रदेशसभा सदस्यहरुको सम्मानमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले दिवाभोजको आयोजना गरेका छन् ।
प्रतिक्रिया 4