
११ माघ, पोखरा । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आहा ! रारा गोल्डकपमा संकटा क्लबमाथि १-० को कठिन जित निकालेको छ । बिहीबार पोखरा रंगशालामा भएको खेलमा एपीएफको जितका लागि डिफेन्डर आदित्य चौधरीले २८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
संकटाका डिफेन्डर कोएरा लार्बा फ्लोरेन्ट कोनेले एपीएफका रञ्जन विष्टलाई ट्याकल गरेर लडाएपछि रेफ्रीले एपीएफलाई फ्रीकिकको अवसर दिएका थिए । आदित्यले करिब १८ यार्ड टाढाबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले कयौं पटक गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । रक्षापंक्ति बलियो बनाएर ओभरल्यापिङमार्फत काउण्टर अट्याकलाई प्राथमिकतामा राखेका दुबै टिमको फिनिसिङ कमजोर हुँदा स्कोर गर्न समस्या परेको थियो ।
२० औं मिनेटमा एपीएफका नवीन लामाले दायाँ साइडबाट फर्स्ट बार च्यापेर गरेको कडा प्रहार विपक्षी किपर बिनय श्रेष्ठले मुश्किलले जोगाए । त्यसको केहीबेरमा राजेन्द्र रावलले प्रहार गरेको अर्को प्रहार पनि संकटाका गोलकिपर श्रेष्ठले विफल पारे ।
एकपछि अर्को गर्दै आक्रमण बुनेको एपीएफले ४१ औं मिनेटमा गोल गर्न पाएको अवसर पनि फुत्कियो । नविन लामाले सेकेण्ड बार च्यापेर गरेको कडा प्रहार संकटाका गोलकिपर श्रेष्ठले पञ्च गरेर मुश्किलले बचाए । ४८ औं मिनेटमा रञ्जन विष्टको पासमा नवीन लामाको प्रहार पनि संकटाका किपरले विफल पारे ।
५९ औं मिनेटमा एपीएफका युवराज खड्का डि-एरियामा विपक्षी खेलाडी नै नभएको अवस्थामा पनि गोल गर्न चुके । रञ्जन विष्टको पासमा उनले प्रहार गरेको बल बिपक्षी गोलकिपर श्रेष्ठको हातमा सिधै पर्यो । ७६ औं मिनेटमा रञ्जन विष्टको पासमा रामकुमार कुमालले फितलो प्रहार गर्दा बल फष्र्ट बार हुँदै बाहिरियो । ८० औं मिनेटमा रञ्जन विष्टले सेकेण्ड बार च्यापेर प्रहार गरेको बल बिपक्षी गोलकिपर श्रेष्ठले विफल पारे ।
पराजित संकटाले पनि करीब आधा दर्जन गोल गर्ने अवसर खेर फाल्यो । संकटाले २९ औं मिनेटमा गोल गर्ने राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेन । संकटाका प्रकाश बुढाथोकीले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार एपीएफका किपर अमृतकुमार चौधरीले मुश्किलले बचाए ।
एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले फिनिसिङ कमजोर हुँदा जित कठिन बनेको प्रतिक्रिया दिए । लामो यात्राका कारण खेलाडीले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्न नसकेको उनले बताए ।
संकटाका प्रशिक्षक सल्यान खड्गीले फिनिसिङ कमजोरीका कारण पराजित हुनुपरेको बताए । उनले खेलमा हारजित हुने भन्दै खेल भने प्रतिस्पर्धात्मक भएको भन्दै खेलाडीको खेलप्रति सन्तोष व्यक्त गरे ।
एपीएफलाई जिताउन निणर्ायक गोलकर्ता आदित्य चौधरी म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिएको हो ।
प्री क्वाटरफाइनल चरणको अन्तिम खेलमा शुक्रबार नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबले जानकारी दिएको छ ।
प्रतिक्रिया 4