२५ माघ, काठमाडौं । व्यवसायी अजयराज सुमार्गीको नाममा विदेशबाट आएको करिब सवा दुई अर्ब रोक्का नराख्न सर्वोच्च अदालतले २३ माघमा अन्तरिम आदेश दियो । तर, सुमार्गीले निकाल्न नपाए पनि चार वर्षअघि नै उक्त रकम अर्थतन्त्रको हिस्सा बनिसकेको खुलेको छ ।
‘समुद्रमा सात वटा खोलाको पानी मिसिएको होला, कुन खोलाको पानी प्रयोग भयो भनेर हेर्न सकिन्छ र ?’ पैसा प्रयोग भएको छ वा छैन भन्ने प्रश्नमा राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक नारायण पौडेलको घुमाउरो उत्तर हो यो । प्रणालीमा आएको पुँजी प्रयोग हुने संकेत उनको थियो ।
‘हामीले त्यो रकम ग्राहकलाई भुक्तानी नदिनु, खाताधनीसँग उक्त रकमको कारोबार नगर्नु भनेका हौं,’ पौडलले स्पष्ट पारे । सुमार्गीको नेपाल टेलिकम स्याटेलाइट प्रालिको नाममा सोही कम्पनीको सेयरधनी रहेको एयरबेल सर्भिस लिमिटेडले भदौ ०७० मा आठ करोड ५० लाख अमेरिकी डलर पठाएको थियो ।
नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा उक्त रकम राखिएको थियो । त्यसमध्ये दुई करोड १३ लाख डलर अर्थात् दुई अर्ब १३ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ, जुन इन्भेस्टमेन्ट बैंकमा छ ।
राष्ट्र बैंकले सुमार्गीले कालोधन प्रवेश गराउन लागेको शंकामा उक्त रकम रोक्का राख्न निर्देशन दिएको थियो । यद्यपि, राष्ट्र बैंककै स्वीकृतीमा सुमार्गीले त्यसभन्दा पहिले केही रकम भुक्तानी लिएका थिए । भुक्तानी भएको रकम रेमिट्यान्सका रुपमा रकम भित्रिएकाले राष्ट्र बैंकको निगरानीबाट उम्किएको अधिकारीहरु बताउँछन् ।
तथापि, रोक्का राखिएको रकम अर्थतन्त्रमा भने सोही अवधिदेखि नै भित्रिइसकेको राष्ट्र बैंकका पूर्वडेपुटी गर्भनर महाप्रसाद अधिकारी बताउँछन् ।
‘ग्राहकको खाता रोक्का राख्नु भनेको पैसा नै रोक्का रहने होइन । बैंकहरुले विभिन्न प्रयोजनमा त्यो रकम देखाउन वा प्रयोग गर्न सक्छन्,’ अधिकारीको स्पष्टोक्ति छ ।
पैसा प्रयोग हुनु भनेको अर्थतन्त्रमा देखिनु वा गणना हुनु नै हो ।
राष्ट्र बैंकको तर्क– ‘समुद्रमा सात वटा खोलाको पानी मिसिएको होला, कुन खोलाको पानी प्रयोग भयो भनेर हेर्न सकिन्छ र ?’
सुमार्गीलाई छैन प्रतिफल
नेपाल टेलिकम स्याटेलाइटको नामको इन्भेस्टमेन्ट बैंकको चल्ती खातामा उक्त रकम छ । चल्ती खातामा बैंकहरुले प्रतिफल दिँदैनन् ।
कालोधनको शंकामा सम्बन्धित कम्पनीलाई रकम भुक्तानी नदिए पनि बैंकले भने यो रकम बिनालागत प्रयोग गर्न पाइरहेको थियो ।
उक्त रकम त्यस समयमा चलेको व्याजदरअनुसार बचत, मुद्दती या ‘कल’ निक्षेपमा राखिएको भए सुमार्गीले अहिले ३० देखि ६४ करोड रुपैयाँसम्म व्याज पाउँथे ।
इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती पाँडे भने अहिलेसम्म उक्त रकम नचलाइएको बताउँछन् । भन्छन्, ‘त्यो रकम जहिले पनि भुक्तानी दिनुपर्छ भन्ने हुन्छ, त्यसैले हामीले चलाएका छैनौं ।’
यसअघि विदेशी मुद्रा कर्जा प्रवाहमा प्रयोग गर्न नपाइने व्यवस्था थियो । यद्यपि, बैंकले प्रणालीमा आएको रकमलाई अन्य प्रावधानमा देखाउन सक्थे ।
हालै राष्ट्र बैंकले विदेशी मुद्रामा रहेको निक्षेपलाई पनि ऋण लगानी गर्न सक्ने व्यवस्था गरिदिएको छ । १२ माघसम्ममा बैंकहरुले विदेशी मुद्रामा दिन सकिनेमध्ये करिब ४७ अर्ब रुपैयाँ कर्जा लगानीमा लगाएका छन् ।
विदेशी मुद्रामा सामान आयात गर्ने व्यवसायी र व्यापारीहरुले यस्तो कर्जा लिने गरेका छन् ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई लगानी जुट्ने
नयाँ कम्पनीका रुपमा आउन खोजिरहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लगानी अभावमा लगभग बन्द हुने अवस्थामा थियो । तर, सर्वोच्चको पछिल्लो आदेशपछि कम्पनीले लगानी पाउने देखिएको छ ।
उक्त इन्स्योरेन्समा सुमार्गीसमेत संस्थापक सेयर लगानीकर्ता छन् । समयमै पुँजी जुटाउन नसकेको बताउँदै बीमा समितिले त्यसलाई सञ्चालनको अनुमति दिएको छैन ।
तर, समितिविरुद्ध कम्पनी अदालत गएपछि अदालतले अन्तरिम आदेश दिएको छ । यसको अर्थ कम्पनी सञ्चालनमा रोक लागिसकेको छैन । यस विषयमा फागुनमा पुनः सुनवाई हुँदैछ ।
कम्पनीमा सुमार्गी र उनका सहयोगीहरुको नामबाट लगभग करिब एक अर्ब रुपैयाँ लगानी रहेको समिति स्रोतले जनाएको छ ।
प्रतिक्रिया 4