२२ चैत, बुटवल । रुपन्देहीका स्थानीय तहहरुबीच कसले नयाँ र सिर्जनशील काम गरेर रेकर्ड राख्ने भन्ने प्रतिस्पर्धा नै चलेको छ ।
तिलोत्तमा नगरपालिकाले सडक सुन्दरीकरण, हरियाली प्रवर्द्धन, सरसफाइ,जग्गा प्लटिङमा रोक लगायतका नौला कामको शुरुआत गरेर वाहवाही बटुलेको छ ।
तिलोत्तमाले बुटवल-भैरहवा ६ लेन सडकको दाया बाया डिभाइडरमा फूल रोपेर ढकमक्क बंगैचा बनाउन शुरु गरेपछि त्यसको सिको बुटवल उपमहानगरपालिकाले पनि गर्यो ।
रुपन्देहीकै ओमसतिया गाउँपालिकाले देशमै पहिलोपटक बालिका वीमा कार्यक्रम अघि सारेपछि त्यसको सर्वत्र प्रशंसा भयो ।
रोहिणी गाउँपालिकाले शिक्षामा विशेष सुधार योजना अन्तर्गत पालिकाभित्रका सबै सामुदायिक विद्यालय र मदरसाहरुमा कक्षा १ सम्म अनिवार्य अंग्रेजी माध्यममा पढाउनुपर्ने नियम बनायो ।
पाँच वर्षदेखि कार्यसम्पादन मूल्याङकनमा देशकै उत्कृष्ट उपमहानगरपालिकाका रुपमा पुरस्कृत हुँदै आएको बुटवल उपमहानगरपालिकाले पनि नौला कामको थालनी गरेको छ ।
उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई घर-घरमै पुगेर निःशुल्क स्वास्थ्य चेक जाँच गर्न शुरु गरेको छ ।
उपमहानगर अन्तर्गतका नगर स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मीहरु औषधिसहित यो अभियानमा खटिएका छन् । उपमहानगरपालिकाले ८४ वर्ष काटेका जेष्ठ नागरिकलाई घरमै निःशुल्क स्वास्थ्य सेवा र औषधि दिने गरेको छ भने ९५ वर्ष काटेकालाई घरमै पुगेर चेकजाँच गरी निःशुल्क औषधिसँगै एक हजार नगद र पौष्टिक आहार समेत वितरण गर्न थालेको छ ।
उपमहानगर अन्तर्गतका पाँच वटै नगर स्वास्थ्य केन्द्रबाट सबै वडामा यस्तो अभियान शुरु गरिएको नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
यस्तो अभियान हरेक चार/चार महिनामा गरिने र त्यस्ता लक्षित समूहलाई निःशुल्क औषधिसमेत उपलव्ध गराइने बताए ।
उपमहानगरपालिकामा ज्येष्ठ नागरिक परिचयपत्र यसपाली वडादेखि नै वितरण शुरु भएको छ ।
सामाजिक सुरक्षा भत्ताका लिन आउने र यहीँ परिचयपत्रका आधारमा कुन वडामा कति जना यो उमेर समूहका छन् त्यो पहिचान गरिन्छ ।
त्यहीँ आधारमा खोजतलास गरेपछि घरमै स्वास्थ्य सेवा लिएर जाने अभियान शुरु गरिएको नगर स्वास्थ्य केन्द्रका प्रमुख डा.रमेश केसीले जानकारी दिए ।
उपमहानगरपालिकाले नगरवासीलाई रिझाउन सेवाग्राहीको वडामै पुगेर घर नक्साको प्रमाणपत्र वितरण पनि शुरु गरेको छ ।
उपमहानगरपालिकाका वडा नं. ११, १२ र १३ मा विहीबारसम्म करिब दुई सयवटा घर नक्शाका प्रमाणपत्रहरु वितरण गरिसकिएको उपमहानगरपालिकाका प्रवक्ता तथा पूर्वाधार विकास समितिका संयोजक रामप्रसाद रेग्मीले जानकारी दिए ।
घर निर्माणका लागि निवेदन पेश गरेका, पहिलो चरण सकेर त्यसपछिका चरणहरु सुरु गर्न अनुमति मागेका र निर्माण सम्पन्न भएको प्रतिवेदन पेश गरेका सयौं सेवाग्राहीका फाइलहरु उपमहानगरमा त्यत्तिकै रोकिएको अवस्थामा थिए ।
यसबारेमा चौतर्फी गुनासो आएपछि उपमहानगरले यस सम्बन्धी सबै कामहरु अनलाइनमार्फत गराउने काम इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबीपीएस) शुरु गरिसकेको छ । यो इबीपीएस सेवा अहिले चलिरहेको छ । यसलाई बैशाख २ गतेदेखि अनिवार्य गराउने तयारीमा उपमहानगरको रहेको छ ।
उपमहामनगरपालिकामा करिब छ सयजति घर नक्साका फाइलहरुलाई थन्किएर बसेका थिए । ती फाइल अनुसार वडा कार्यालयहरुमा लगेर त्यहीँबाट वितरण गर्नेगरी व्यवस्था मिलाइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।
योजना महाशाखाका अधिकारीहरु गाडीमा फाइल र कर्मचारीहरु लिएर वडा कार्यालयमा पुगेर वितरण शुरु गरिएको छ । खासगरी घर नक्शासम्बन्धी कामहरुमा ढिलासुस्ती हुने गरेको र त्यसले सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको भन्दै गुनासाहरु बढेपछि जनप्रतिनिधिहरुले यसमा चासो दिएका थिए ।
उपमहानगरको भवन तथा नक्शा पास शाखामा हरेक दिन २० देखि २५ वटा नयाँ फाइलहरु प्रक्रियामा जान्छन् । पेश भएको एउटा फाइलको प्रक्रिया पूरा गर्नका लागि कम्तिमा एक महिना लाग्ने गरेको छ । कानुनमै नक्शाको काम पूरा हुन ३९ दिन लाग्ने प्रावधान छ ।
यो चालु आवमा नयाँ घर बनाउने भन्दै -जग, पहिलो, दोस्रो चरणसमेत) ७ सय ८६ जना सेवाग्राहीले निवेदन दिएका छन् । उनीहरुको काम प्रक्रियामा अगाडि बढिरहेको छ ।
चालु आवको यो अवधिसम्म नयाँ निर्माणका लागि इजाजत माग्ने ६ सय सेवाग्राही र घर सम्पन्न भएको प्रमाणपत्र दुई हजार सेवाग्रहीलाई उपलव्ध गराइसकिएको महाशाखाले जानकारी दिएको छ । रुपन्देहीमा १६ स्थानीय तह छन् ।
प्रतिक्रिया 4