२५ चैत, बारपाक । रातको आठ बज्दा खाना खाएर सुत्ने तरखरमा थिए धेरै बारपाकीहरु । चैत लाग्दा पनि जाडो हटेको छैन । तर जाडोको परवाह नगरी वारपाकी महिलाहरु हातमा किताब कापी च्यापेर नजिकैको स्कुलतिर लागे ।
४० वर्ष नाघिसकेका उनीहरुले जाडो थेग्ने पछ्यौरा साथमै राखेका छन् । टर्च लाइटको उज्यालोको पिछा गर्दै उनीहरु घर नजिकैको हिमालय माध्यामिक विद्यालय पुगे । जहाँ उनीहरुको प्रतिक्षा गरिरहेकी थिइन् शिक्षिका राधा सुनार । सबैजना आइपुगेपछि शिक्षिका सुनारले ‘क, ख’ पढाउन थालिन् ।
‘सानोमा पढ्न पाएन अहिले बुढेसकालमा भएपनि पढ्न पाउँदा धेरै खुशी लागेको छ,’ मनमोती बिकले भनिन्, ‘आˆनो नाम मात्र लेख्न जान्न पाए पनि ठुलो हुन्थ्यो ।’ अंग्रेजी पनि सिक्ने रहर भएको उनी बताउँछिन् ।
पढ्न नसकेकोमा पछुतो मानेका महिलाहरु अहिले निकै मिहिनेत गरिरहेका छन् । ‘भूकम्पपछि विभिन्न संघसंस्था आका छन्, कता कता सही गनुपर्यो भन्छन्, हामी भने ल्याप्चे लगाउनुपर्ने,’ स्थानीय माइली गुरुङले भनिन्, ‘लाज भयो, अब नाम मात्र भए पनि लेख्न जान्ने हुनुपर्यो भनेर पढ्न आको ।’
सानोमा नबुझेको पढाइको महत्व अहिले थाहा भएको उनी बताउँछिन् । ‘सानोमा पढ्नुपर्छ भन्ने थाहा भएन, अहिले बुढेसकालमा कलम कापी समाउनुपर्याछ, पढ्नुपर्ने रहेछ भनेर त अहिले पो थाहा भयो त,’ उनले भनिन् ।
माहिलाहरुले साँझसम्म घरको काम गर्नुपर्ने भएकाले कक्षा रातिको समयमा मात्र सञ्चालन गरिएको छ । ‘कापी कलम र पेन्सिल सबै यही बाट उपलब्ध हुन्छ, उहाहँरुको आएर पढ्ने मात्र हो,’ शिक्षिका सुनारले भनिन् । यहाँ १९ जना महिलालाई हरेक दिन बेलुका २ घण्टासम्म पढाइन्छ । नेपाली वर्णमाला, अंग्रेजी अक्षर र नाम लेख्न सिकाइने शिक्षिका सुनारले जानकारी दिइन् ।
बत्ती नहुँदा समस्या
रातिको समयमा कक्षा सञ्चालन हुने भए पनि यहाँ विजुली बत्तीको समस्या छ । हिजोआज शिक्षिकाले घरबाटै सोलार बत्ती ल्याएर पढाउने गरेकी छन् ।
‘भूकम्पले विद्यालयको भवन भत्किएर अस्थायी टहरामा कक्षाहरु सञ्चालन भएका छन्, बिजुली छैन, घरबाट सोलार बत्ती त ल्याउछु तर चार्ज धान्दैन समस्या छ,’ उनले भनिन् । बत्तीको व्यवस्था भए पठनपाठनमा सहज हुने उनले बताइन् ।
प्रतिक्रिया 4