+
+

पूरानो पोखरी संरक्षणमा जुटे तनहुँका रुम्सीवासी

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २७ गते १३:२९

२७, चैत, चितवन । तनहुँको व्यास नगरपालिका-१४ रुम्सीका स्थानीयवासी तीन सय वर्ष पूरानो पोखरी संरक्षणमा जुटेका छन् ।

वन्यजन्तु र चरिचरन गर्ने घरपालुवा पुशचौपायलाई पानीको अभाव हुन थालेपछि उनीहरु पोखरीको संरक्षणमा लागेका हुन् ।

‘हिउँदको समयमा पशु चौपायालाई खुवाउने पानीको समेत अभाव भयो,’रुम्सी सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष नरीमाया रानाले भनिन्,’इतिहास बोेकेको परापूर्वकालको पूरानो पोखरी पुरीदैं जाँदा संरक्षण गर्न आवश्यक पनि लाग्यो ।’

पोखरी संरक्षणमा रुम्सीवासीलाई हरियो वन कार्यक्रम अन्तर्गत गैरसरकारी संस्था समन्वय समितिले केही आर्थिक सहयोग पनि गरेको छ ।

रुम्सीको चारवटा पूराना पोखरीको संरक्षणमा ४० हजार रुपैयाँ बजेट आएको अध्यक्ष रानाले जानकारी दिइन् । अन्य रकम स्थानीय जनसमुदायबाट उठाइने छ ।

पोखरी निर्माणपछि वन्यजन्तु र जंगलमा चराउन लैजाने घर पालुवा जनावरलाई पनि पानी खुवाउन सहज हुने स्थानीयवासीको विश्वास छ ।

वर्षको समयमा पर्ने आकाशे पानीले उक्त पोखरी भरिने र हिउँदको समयमा वन्यजन्तु र घरपालुवा चौपायलाई पानी उपभोग गर्न मद्धत पुग्ने सामुदायिक बनका सचिव ज्ञानबहादुर थापाले बताए । पोखरीमा हिउँदभरी पानी राखी राख्न पोखरीको वरपर नयाँ विरुवाहरु लगाउने पनि उनले बताए ।

पछिल्लो समयमा गाउँमा जनशक्तिको अभाव हुँदा पशुपालन गर्ने संख्यामा कमी भएको कारण सयौं वर्ष पुराना पोखरीको संरक्षण हुन नसकेको अध्यक्ष रानाको भनाइ छ ।

स्थानीयले थालेको वनको संरक्षणले गर्दा बनमा बन्य जन्तुको संख्या पनि बढ्न थालेको हुँदा उनीहरुको लागि पनि पानी आवश्यकता परेको उनले बताइन् । उक्त वनमा चितुवा, मृग, स्याल र घोरल जस्ता वन्यजन्तुहरु रहेको सचिव ज्ञानबहादुर थापाले बताए ।

गैसस समन्वय समिति तनहँुका अध्यक्ष प्रतापसिंह गुरुङले हरियो वन कार्यक्रम अन्तर्गत सेती नदी जलाधार क्षेत्रमा पोखरीको सानो भुपरिधी क्षेत्र निर्माण गर्ने उद्देश्यले पुराना पोखरी सफाइ र नयाँ पोखरीको निर्माण गरिएको बताए ।

पोखरी भुपरिधी क्षेत्र देवघाट, व्यास ननगरपालिका, म्याग्दे र रिसिङ गाउँपालिकाको सेती नदी किनारको क्षेत्रमा निर्माण हुने छ ।

उनले यो कार्यक्रम अन्तर्गत ५० वटा पुराना पोखरी संरक्षण र ५ वटा नयाँ पोखरी निर्माण गरिने बताए ।

एउटा पुरानो पोखरी सफाइको लागि स्थान हेरेर १० देखी २५ हजार र नयाँ पोखरी निर्माणको लागि ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष गुरुङले बताए ।

यो कार्यक्रम अन्तर्गत पोखरीको सफाइसँगै पोखरी वरपर बृक्षारोपण, संरक्षणको बोर्ड राख्ने र अन्य बैकल्किप उपायहरुको खोजी गर्ने पनि रहेको गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?