२० भदौ, क्वालालम्पुर । मलेसिया सरकारले कामदारको न्यूनतम तलब बृद्धि गर्ने घोषणा गरेको छ । यसबाट नेपाली कामदार पनि लाभान्वित हुने छन् ।
प्रधानमन्त्रीको कार्यालयले आगामी जनवरी १ देखि लागू हुने गरी कामदारको तलब मासिक १ हजार ५० वा घन्टाको ५.०५ आरएम तलब तोकेको हो ।
यसअघि कामदारको न्यूनतम तलब ठाउँअनुसार मासिक ९२० देखि १००० आरएमसम्म थियो ।
कामदारको न्यूनतम तलब बृद्धि ‘पाकातन हरापन’ गठबन्धनको प्रमुख १० चुनावी बाचामध्ये एक थियो । परामर्श समितिको सुझावका आधारमा तलव वृद्धि गरिएको छ ।
‘देशको आर्थिक अवस्थाका आधारमा न्यूनतम तलब बृद्धि गरिएको हो । तलब बृद्धिले उद्योगलाई प्रभावित नगरोस् भन्नेमा हामी सजग हुनुपर्छ’ प्रधानमन्त्री कार्यालयले भनेको छ ।
तर, न्यूनतम तलब बृद्धि गर्नु सरकारको दायित्व भएको र यसले ठूला, मझौला वा साना उद्योग तथा कम्पनीहरु बन्द गर्नु पर्ने अवस्था नआउने सरकारको दाबी छ ।
सरकारले न्यूनतम तलब बढाएकै कारण सेवा र बस्तुको मूल्य नबढाउन पनि आग्रह गरेको छ ।
मलेसियामा ५ लाखभन्दा बढि नेपाली कामदारहरु कार्यरत रहेको अनुमान छ ।
प्रतिक्रिया 4