+
+

सेनेगल: गद्य कविताका उचाइतिर डुल्दा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ६ गते ११:२३

मानव मनको सुन्दर अभिव्यक्ति हो कविता । मौलिक बिम्बहरूको उचित प्रयोग भएका कविताहरू सुन्दर हुन्छन् । कविताको चेतना वृहत्तर हुन्छ । साथै भाव, विचार र घट्नाको सही सम्मिश्रणद्वारा अभिव्यक्त गरिएका कविताहरू पनि उच्च कोटीका हुन्छन् । यस दुनियाँका सबैभन्दा सामान्य चीजबीज, वस्तुहरूदेखि बृहत्तम विषयहरूमा कविता लेख्न सकिन्छ र यही नै कवि चेतनाको उत्कृष्टतम पक्ष मान्न सकिन्छ । यही कवित्व सामथ्र्यको अजस्र प्रवाहमा बग्ने सफल कवि हुन् डा.विदुर चालिसे ।

प्राध्यापन पेशामा लागेका उनी नेपाली भाषा व्याकरण बारे अभिलेखकालका सामग्रीमा व्यापक अध्ययन अनुसन्धान गर्ने अध्येता पनि हुन् । पेशागत कर्मको व्यस्तताबाट अलि अघि सरेर उनी सिर्जनामा प्रखर रूपमा स्थापित छन् । विभिन्न संघसंस्थाहरूमा बाक्लै जिम्मेवारी सहित आबद्ध उनमा बौद्धिक चेतको फराकिलोपना देख्न सकिन्छ । उनका प्रायः कवितामा आममान्छे र तिनका भोगाइ पाइन्छ भने भावनात्मक आत्मानुभूतिले भरिएका कविताहरू उनका विशेषताका रुपमा भेटिन्छन् । उनका कविताहरूमा उपदेश कत्ति पनि छैन् । विचारको दृष्टिले सुवोध र सुपाच्य लाग्छन् उनका कविता । क्लिष्टताको कुनै स्थान छैन कवितामा । काव्यात्मक अनुभुतिको गहिराइमा चुर्लुम्मै डुुबेका कविताहरूले पनि स्थान पाएकै छन् । उनका ‘युगबोेल्छ (कवितासङ्ग्रह ) २०४७’,‘सिसिफसको श्रापित मांसपिण्ड (लघुकाव्य) २०५१’,‘अभिलेखीय नेपाली क्रिया (अनुसन्धान)२०७०’,‘ऐतिहासिक नेपाली अव्यय (अनुसन्धान) २०७०’, ‘अभिलेखीय नेपाली व्याकरणको इतिहास (अनुसन्धान) २०७४’, ‘सेनेगल (कवितासङ्ग्रह ) २०७४’, एवं ‘अभिलेखीय नेपाली नामधातु (अनुसन्धान) २०७५’आदि कृति प्रकाशित भएका छन् ।

शब्द संयोजनद्वारा प्रकाशित ‘सेनेगल’कविता सङ्ग्रहभित्र अवतार परिवर्तनदेखि आजितसम्म ४९वटा कविता समेटिएका छन् । यी कविताहरूले समसामयिक विषयवस्तुहरूका रूपमा राजनीति,वर्तमान परिवेश,प्रकृतिप्रेम,जीवनजगत,घट्ना र परिवेश विशेष, प्रगतिशीलता लगायतका विषयवस्तुमा आधारित सरल, सरस र तीतामिठा अनुभूतिहरू, जीवन र मृत्युबोधका दृष्टान्तहरू बारे कविताका माध्यमबाट अभिव्यक्त भएका छन् ।

संरचनात्मक दृष्टिमा गद्यात्मक र प्रगीतात्मक ढाँचाका कविताहरूले भरिएको छ सेनेगल । जहिल्यै आश्वासनका भरमा बाँचेका नेपाली समाज र जनताका संवेदनापरक आवाजलाई कविताहरूमा चित्रण गरिएका छन् । प्रगीतात्मक,गहिरो संवेदनात्मक स्पर्शले प्रायःकविताहरू जीवन्त बनेका छन् । कविताका संरचनाहरू सरल भए पनि भावपक्षमा सबलता प्रशस्तै झल्केका पाइन्छन् । गोपालप्रसाद रिमाल, कवि भूपीदेखि मोहन कोइरालाका लेखनका स्वाभाविक प्रभावहरू उनका कविताहरूमा भेटिन्छन् । प्रायः कविताहरू जीवनमुखी यथार्थता अनि विषयउन्मुख प्रयोगवादी धारबाट सिर्जना भएका छन् ।

कविले वर्तमान समकालीन नेपाली समाजका आम मान्छेहरूले भोगिरहेका कटु यथार्थलाई केन्द्रित गरेर कविताहरूको सिर्जना गरेका छन् । समाजमा व्याप्त असमानता, विकृतिहरूको उजागर, हराएको मानवीयता आदि बारेका विषयले उनका कवितामा स्थान पाएका छन् । समाजको गलत प्रवृत्तिहरू प्रतिको व्यङ्ग्यचेतले अभिभूत कविताहरूको सँगालोका रूपमा रहेको पाइन्छ सेनेगल कवितासङ्ग्रह । कविले सामान्य कथ्य सूत्रमा कविताभित्र आफ्ना कविता शिल्प र क्षमतालाई अत्यन्तै सूक्ष्म ढङ्गले आत्मानुभूतिका माध्यमबाट कवित्व चेतलाई अभिव्यक्त गरेका छन् । कवितामा बौद्धिकता प्रस्ट छचल्किएका छन् । राष्ट्रिय चेतले भरिएका, मानवीय मूल्य र मान्यता निकट, प्राकृतिक छटाको मनोरमले भरिपूर्ण, राजनीतिमा देखिएका विकृत पक्षहरूको उजागर, जीवनप्रतिको आशावादी दृष्टिचेत, समानताका पक्षधरता, वर्तमान राजनीतिक नेतृत्वमा हुर्किएका नकारात्मक प्रवृत्ति प्रतिको प्रतीकात्मक व्यङ्ग्य आदिजस्ता विषयवस्तुले भरिएका कविताहरू सेनेगलमा पढ्न सकिन्छ ।

अन्तर्राष्ट्रिय परिवेशले कवि मन द्रवित भएका छन्, त्यसैले उनी सेनेगलमा भावुकिन्छन् । त्यहाँका सुन्दरीहरूका पीडा खोतल्छन् । मुटुमा हुटहुटी चल्छ उनको । कुनै उद्देश्यले बन्दी बनाइएका सुन्दरीहरूका वर्णन गर्छन् उनी । लिवियाको गृहयुद्धको मारमा परेका आम मानिसहरूको पीडामा एउटी आमाले आफ्नो सन्तानको जीउज्यानको सुरक्षाका खातिर प्राण उत्सर्ग गरेको कुराको भयानक दृश्यलाई मार्मिक चित्रण गरेका छन् ‘उठ न मेरी माता’कवितामा । असाध्यै राम्रा बिम्बहरूको सही प्रयोग गरेर कविताको सिर्जना गरेका छन् उनले:

लहरिरहेको गोप्य प्रेमका स्वीकृति शर्तहरूमा

भविष्य बेचिरहेको सेनेगलको आँखाले

मनभित्रका अलापहरू

पोखिरहन्छन् छताछुल्ल

सुन्दर तस्वीरहरूबाट । (सेनेगल)

कवि प्रकृतिवादी पनि देखिन्छन् । प्रकृतिको सुन्दर, मनमोहक रूपको गजबको चित्रण गर्छन् । सौन्दर्यको भव्य रूपलाई अनुभाव्य बनाउन सिपालु छन् कवि । असाध्यै कलात्मक उच्चताले भरिएका प्रकृतिका बेजोड वर्णन पाइन्छन् उनका कवितामा । उनका कवितामा प्रकृतिको आन्तरिक सौंन्दर्यलाई मज्जाले रस्वादान गर्न सकिन्छ । सटिक बिम्बको उचित प्रयोगले कविता सुन्दर बनेका छन् । यहाँ कविको काव्य, काव्य(भाषा र स्तरीय भाषिक चेत अव्बल देखिन्छन् । उनले प्रकृति प्रेमको सजीव वर्णन गर्दै मानवका कतिपय यौवन पक्षसँग तुलना गरेका छन् । प्रकृति र यौवन भावाभिव्यक्तिको उचित समागमको अनुभव पाइन्छ कवितामा:

न उकालो चढ्दो छ हरियाली

न ओरालो झर्दाे छ शरद्

खुलेको मुद्रामा आफैं सहेली खेलिरहेछ

आकाश गंगा ।

अग्लाइको चैतन्यमा उठेको कन्दरा

होचाइको तिर्खाइमा लत्रिएको बादल

न जोडिन्छन् कतै

न भेटिन्छन् कतै ।

देशमा बेथिति फैलिएको छ । राजनीतिमा अघि जानेहरूले जनताहरूलाई केबल भ¥याङ बनाएका छन् । चुनावअघि मिठा र गुलिया नारा उरालेर ताली खानेहरूले आज जनताका दुख र असुविस्ताको किंन्चित ख्याल नगरेको यथार्थ जगजाहेर छ । यस्तो कुराले कवि मन हुँडलिएको छ । यहाँ आफूले देखेभोगेका यथार्थहरूलाई सटिक बिम्बहरूको प्रयोग गरी भाव र विचार पोखेका छन् । आम मान्छेका जीवनका भोगाइहरूको साँगोपाँगो फेहरिस्त लाग्छन् कविताहरू । जनताको मन जित्ने भाषण गर्नेहरू, पदमा पुगेपछि पछि नफर्कने बर्तमान तीतो सत्य उजागर गरेका छन् कविले । ‘अवतार परिवर्तन’,‘सलाम हजुर’ ‘बेलाबखतका नेता’, ‘रङ्गमञ्चका स्यालहरू’ एवं ‘छनौटको चूनौती’ जस्ता कविताहरूमा उनले वर्तमान राजनीतिका विकृत पक्षहरूलाई औंल्याएका छन् । राजनीतिमा पद र प्रतिष्ठा आर्जन गरेपछि फर्कन नजान्नेहरूप्रति तिखो प्रहार गरेका छन् उनले । नेताहरूको छेपारे प्रवृत्तिप्रतिको कडा व्यङ्ग्य छ तिनमा ।

देश विभाजनतर्फ जानसक्ने खतराप्रति सङ्केत गर्र्दै खबरदारी गरेका छन् देशको आशा कवितामा । राजनीति,दल,वाद,विचारधाराभन्दा राष्ट्रियता अब्बल हुन्छ भन्ने उनको आशय छ । देशप्रेम बाक्लै झाँगिएको छ उनका कवितामा । ‘देशको आशा’ एवं ‘देशको पीडा’जस्ता कविताले यही भन्छन् । उनी राष्ट्रलाई माया गर्ने राष्ट्रप्रेमी कवि भएर कवितामा प्रस्तुत भएकाछन् । ‘नेपाली गाथा’ कवितामा उनले नेपाली स्वाभिमानको इतिहासलाई तुहाउन नहुने भन्दै नेपाली स्वाभिमानपूर्ण इतिहासप्रति गर्व गरेका छन्:

देश दुख्नेलाई

म भन्छु मभन्दा ठूलो मेरो पार्टी हो,

पार्टीभन्दा पनि ठूलो मधेश होला तर,

मधेशभन्दा पनि ठूलो मेरो देश हुन्छ । (देशको आशा)

उनका कवितामा प्रगतिशीलताको प्रचुर प्रयोग देखिन्छ । विचारको दृष्टिकोणले माक्र्सवादबाट अभिप्रेरित कविताहरू छन् यहाँ । तर उनले जवरजस्त कवितामा विचार घुसाउने धृष्टता भने गरेका छैनन् । भावनासँगको तालमेलमा विचारलाई बडो सटिक ढङ्गले जोड्न कवि सफल देखिन्छन् । उनका कविता राजनीतिक कोरा नारा मात्र भएर भद्दा देखिएका पनि छैनन् । वर्तमान समयमा आफूलाई सच्चा माक्र्सवादी भन्नेहरूमा अध्ययनको कमी, वैचारिक बहसहरूको अभाव, माक्र्सवादको दौरा मात्र लगाउने परम्पराको थालनी भएकोप्रति उनी तिखो प्रहार गर्न पछि परेका छैनन् । समाजमा निराशावादिताले घर गरिरहेको यथार्थप्रति उनको चिन्ता छ । निराशाले मान्छेलाई चितामा पु¥याउने भएकाले आशावादिताको सञ्चार गरेर वैचारिक अध्ययनमा लाग्न उनी माक्र्सवादका अनुचरहरूलाई सुझाउँछन् । वैचारिक स्पष्टता भईकन पनि विचार पक्षको सही उद्बोधनले अनेकानेक बिम्ब विधानहरूको प्रयुक्तिले कवितालाई मिठासयुक्त बनाएका छन्:

मोटै छ किताव कत्ति पढ्दैन

माक्र्सवादी हुँ भन्छ विचार गड्दैन

बुझेर नबुझेर,अल्मलिएर कार्यकर्ता बन्छ

तिमी माक्र्सवादी हौ ? भन्यो भने

दुईजना देख्यो कि तर्सिएर परपर सर्छ । (प्रगतिशीलता)

सम्झनाहरूलाई तीतामिठा भावहरूको अभिव्यञ्जनाद्वारा प्रकट गरेका छन् कविले । जहाँ यथार्थको प्रकटीकरण छ । अतिरञ्जनाको कुनै गुन्जायस छैन । कविको कवित्व साधना मनभित्र गुम्फन भएर निस्किएको देखिन्छ । कविताहरूमा प्रयुक्त बिम्बहरूले उनको काव्य शिल्पगत प्रवृत्तिको प्रचुरतालाई प्रस्ट पार्दछ । कवितामा कवि कहीँं कतै बहकिएका छैनन् । उनले आफ्नो हृदयको खोकिलाबाट यथार्थको ज्वाला निकालेका छन्:

उठ्दै फुस्कँदै

तुवाँलो उठिरहेछ

अग्ला पहाडका

शीतलतामा,

कन्दरा घोप्टिरहेछ

निर्ममताको प्यालामा सगरभरि । (प्रकाश पथिक)

यसरी हेर्दा कवि चालिसेका सेनेगल कविता सङ्ग्रहमा समावेश कविताहरूमा अनावश्यक शब्दहरूको चाङ देखिँदैन । राम्रा भाव, सौन्दर्य र शिल्पको समुचित प्रयोग भएको पाइन्छ । समाजको यथार्थलाई सजीव ढङ्गले चित्रण गरेका छन् कविताहरूले । नेपाली जनजीवनको कटु सत्य र भावनात्मकताको अभिव्यञ्जना पाइन्छ कवितामा । जनताको दुरावस्थालाई समेटेका छन् कविले । यसकारण यो कवितासङ्ग्रहले उनमा रहेको जनमुखी लेखनलाई पुष्टि गरेको छ । कविले आफ्नो कवितामा आशा र अनुभूतिको आकासमा मानवताको उच्छ्वास पोखेका छन् । आशावादी कल्पनाको भावमा लतारिएका छन् उनी:

टाढाटाढाका क्षितिजलाई कुरेर

चोइटिएका मनहरू

ओइलिएका आँखाहरू

दिन प्रतिदिनको झझल्कोमा

क्षितिजमा हेरिरहेका थिए कि । (शून्यमा बिलाएका आशाहरू)

बिम्बहरू उसै गरी उचित संयोजित भएका छन् । कविताहरू हेर्दा लाग्छ कवि उत्कृष्ट कवितात्मक कौशलका धनी छन् । उनले उच्चकोटीका काव्यिक प्रयोग गरेका छन् आफ्ना कवितामा । सिद्धान्तको दौराको फेर समाएर कोरा नारा मात्र फलाकेका छैनन् कवितामा, यथार्थता उजागर समेत गरेका छन् । कविताहरू उतिविध्न लामा छैनन्, एक झमटको बसाइमै पढिसकिन्छन् । कविताहरू अप्राकृतिक पालिस लगाएजस्ता देखिन्नन्, मूर्त कुरा नै बढी छन् यिनमा ।

सरलता र यथार्थको उचित संयोजन गरी कविताको रूप दिनसक्नु उनको शैलीगत विशिष्टता भन्न सकिन्छ । बडो सजग भएर लेखिएका छन् कविताहरू । कविताहरूमा कविको चेतनाको प्रारूप झल्केको छ । विषयगत,संरचनात्मक आदिको दृष्टिले उच्चसंयोजनले भरिपूर्ण लाग्छन् । कविताहरूलाई बिम्बहरूले आकर्षक बनाएका छन् । विविध बिम्बहरूको टेकोमा उभिएका छन् कविताहरू । शब्द चयनको कलात्मक पक्षले एकअर्काे कविता पृथक भएको पाइन्छ । आकर्षक आवरण सज्जा र स्तरीय छपाईले सङ्ग्रहलाई झन आकर्षक बनाएको छ । संसारमा कुनै पनि कुरा आफैंमा पूर्ण कदापी हुँदैन । यस कृतिमा पनि कतिपय कविता अत्यन्तै राजनीतिक वायसजस्ता पनि लाग्न सक्छन् । कुनै पंक्ति फिका लाग्न सक्छन् । पाठकलाई केही कविता विवरणात्मक र आख्यानात्मक ढाँचातर्फ ढल्केजस्ता पनि लाग्न सक्छन् । तथापि कविताका शब्द,शब्दावली पाठकहरूले सहजै बुझ्नसक्ने र छोटा छन् । कला र भावको सन्तुलित प्रयोग गरिएको छ । अन्त्यमा भन्न सकिन्छ कवि चालिसेका कवितामा दम छ । सेनेगलले नेपाली साहित्यको कविता विधाको आकासमा एउटा तारा थपेको छ । कविको सिर्जनाको चस्काले मलाईजस्तै पाठकलाई पनि छुनेछ । बधाइ एवं शुभकामना आगामी सिर्जनाका लागि कवि चालिसेलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?