
२ असार, काठमाडौं । समय– आइतबार मध्यान्ह साढे १ बजे ।
स्थान– सूर्यविनायक नगरपालिका–५, तीनधारा ।
सन्दर्भ– प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन !
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को पहेँलो ज्याकेट लगाएर हातमा साबेल (बेल्चा) बोकेका ३० भन्दा बढी कामदार तीनधारामाथिको चौतारामा भेटिए । उनीहरु १ आधा घण्टा जति काम गरेर त्यहाँ सुस्ताएका रहेछन् ।
उनीहरुलाई जिस्क्याउँदै स्थानीय नन्दनी चालिसेले भनिन्, ‘अब हाम्रो देशमा चौतारामा बसेर गफ गरेको पनि पैसा पाइन थालेछ ।’
तीनधारामा अनलाइनबखबरको टोली देख्नेबित्तिकै केही महिला कामदार सडकमा ओर्लिए । उनीहरुमध्ये एकले सडकको नालातर्फ देखाउँदै हामीलाई गर्वसाथ सुनाइन्, ‘आज हामीले यत्ति जम्मै नाली सफा गर्यौं नि !’
उनीहरुले २५ देखि ३० मिटर जति नाला सफा गरेका रहेछन् । उनीहरुले गरेको कमको हिसाव गर्ने हो भने एक जनालाई एक मिटर नालाको काम भागमा परेको देखियो ।
नालाबाट निकालिएको फोहोरले सडकको आधा भाग ढाकिएको थियो । एक स्थानीय महिला भने नाला र सडक सफा गर्दा यसरी थुपारिएको फोहोरले दुर्घटना बढ्ने चिन्ता व्यक्त गर्दै थिइन् ।
करिब २ बजे कामदार पार्वती थापाले आजको लागि काम सकिएको बताइन् । उनको भनाइ भुइँमा खस्न पाएकै थिएन । एक बाठी कामदार अघि सारिन् र भनिन्, ‘कहाँबाट सकिनु, खाजा खान जान लागेको ! काम बाँकी नै छ ।’ अरुले पनि उनको भाव बुझे र सही थापे ।
तर, उनीहरुको झुट त्यति बेला खुलासा भयो, जब दिउँसोको २.३० नबज्दै कामदारको यही टोली वडा कार्यालयमा भेटियो । कार्यालयका कर्मचारीले उनीहरुको फटाफट हाजिरी लगाए । अनि ७ सय रुपैयाँ भत्ता पाक्यो ।
‘दिनमा एक मिटर जति नाली सफा गर्दा ७ सय रुपैयाँ पाक्ने यस्तो कार्यक्रम सरकारले अझै ल्याइदिए हुने !’ सूर्यविनायकका स्थानीय रोजनाथ पुडासैनी ब्यंग्य कस्दै भने, ‘यो रोजगार कार्यक्रम हैन, मोजदार कार्यक्रम भयो ।’
तर, रोजगार कार्यक्रम अन्तरगत खटिएका कामदारलाई भने ७ सय रुपैयाँले चित्त बुझेको छैन । उनीहरु भत्ता थोरै भएको गुनासो गर्छन् ।
‘पहिला नगरपालिकामा त ९ सय रुपैयाँ भनेका थिए, अहिले ७ सयमा घटाइदिए,’ कामदार पार्वती थापाले भनिन्, ‘यो त साह्रै कम भयो ।’
सूर्यविनायक वडानम्बर ५ का अध्यक्ष जोशी भने रोजगार कार्यक्रमको कार्यान्वयन प्रभावकारी ढंगले भएको दावी गर्छन् । उनले नाली सफा गरेर सडकमा फलिएको फोहोरको व्यवस्थापन भने सडक विभागले गर्ने बताए ।
‘सडक बनाउने, नाला र मन्दिर सर्फा गर्ने लगायतका काममा ५ लाख रुपैयाँ खर्च गर्ने योजना छ’ उनले भने, ‘कम्तिमा ३ लाख त खर्च हुन्छ हुन्छ ।’
असारे बजेट, असारे रोजगार
असार लागेपछि सडक निर्माण सुरु भएको छ । जम्माजम्मी दुई जना कामदार फिल्डमा छन् । गत जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले शिलान्यास गरेको सडक हो यो । अन्यत्र प्रधानमन्त्री कार्यक्रमको रकम दुरुपयोग भएको खबर आइरहँदा यहाँचाहिँ पक्कै त्यस्तो नहोला भन्ने अपेक्षा गरेर अवलोकन गर्न हामी पुगेका थियौं । तर, कार्यक्षेत्रको अवस्था दयनीय देखियो ।
भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका १ हजार ६ सय बेरोजगार युवाहरुलाई रोजगारी दिने भन्दै सुरु गरिएको कार्यक्रममा जम्मा दुई कामदार भेटिए । उनीहरु पनि स्थानीय थिएनन् । उनीहरु थिए रामेछाप सुनापतिका बुद्ध लामा र सुवास लामा । ९ दिन लगाएर यो सडकमा हालसम्म १० मिटरजति एक भागमा वाल उठाइएको छ ।
बुद्ध र सुवास नाताले काका–भतिज हुन् । उनीहरुलाई यहाँ काममा ल्याएका हुन्, ठेकेदार पदम लामाले । तर, सुवासका दाजु पदम फिल्डमा छैनन् ।
पदमले यो सडक ५ करोडमा ठेक्का लिएको सुनेको बुद्धले बताए । तर, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगतको कार्यविधिमा यस्तो सडक निर्माण गर्दा ठेक्का लगाउन नपाइने स्पष्ट व्यवस्था छ । यो सडक निर्माणका लागि ठेक्का लागिसकेको थियो, तर रोजगार कार्यक्रमका लागि वडामा पैसा आएको पत्तो पाएपछि यसमै घुसाइएको स्थानीयहरु बताउँछन् ।
सूर्यविनायकका ५ का वडाअध्यक्ष राजकुमार जोशी भने पर्खाल लगायतका काम गर्न नगर विकासमार्फत आषाढ २५ गतेसम्म हुने खर्चका आधारमा भुक्तानी दिने गरी ठेकेदार परिचालन गरिएको बताउँछन् ।
‘रोजगार कार्यक्रम अन्तरगतका कामदारले पर्खालको काम गर्न सक्दैनन्, त्यसैले अरु ठेकेदार पनि त्यहाँ मिसिएका छन्,’ उनले भने ।
तर, यसरी काम गर्न रोजगार कार्यक्रमको कार्यविधिले दिँदैन । रोजगार कार्यक्रम र अर्को ठेक्कालाई गोलमाल गरेर यहाँ काम भइरहेको छ ।
सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा यो सडकमा अरु ठेकेदार पनि काम गर्दैछन् भन्ने जानकारी आफूलाई नभएको बताउँछन् । हाल स्थानीय बेरोजगारलाई रोजगारी दिने गरी मात्रै काममा लगाउने र बाँकी काम आगामी वर्षको बजेटमार्फत गर्ने उनको भनाइ छ ।
२४ गते शिलान्यासपछि यहाँ काम थालिएकै थिएन । तर, दिनदिनै यो सडकबारे सोध्दै सञ्चारमाध्यमहरु निर्माण स्थलपुग्न थालेपछि ३ दिन अघिबाट कामको रफ्तार बढाइएको बताउँछन्, स्थानीय राजन बस्याल ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि भर्ति भएका कामदार यो निर्माणस्थलमा खासै देखा परेका छैनन्, उनीहरुलाई वडाले समान्य खालमा कुलो सोहोर्ने लगायतका काममा खटाएको छ,’ उनले भने ।
प्रायः अधबैँसे उमेरका गृहिणी महिला बेरोजगारका सूचीमा दर्ता भएकाले ठेकेदारले यस्तो जटिल सडक आयोजनामा उनीहरुलाई काममा लगाउन सक्ने अवस्था पनि नभएको बस्यालले बताए ।
‘उनीहरु वडा कार्यालय वरपर एक–दुई घण्टा रातो ज्याकेट लगाएर देखा पर्छन् र भत्ता लिएर घर फर्किन्छन्,’ उनले भने ।
फोटो/भिडियोः शंकर गिरी
प्रतिक्रिया 4