
रामहरी ओझा
१६ साउन, डोटी । डोटी सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले डौड प्रहरी चौकीमा प्रहरी कर्मचारीको संख्या बढाउनु पर्ने माग राखे । तर, जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले प्रहरीहरु जिल्लामै कम भएका कारण पठाउन नसकिएको जानकारी दिए ।
‘जिल्लामा जम्मा तीन सय ९६ जनाको दरबन्दी छ,’ धामीले भने, ‘त्यसमध्ये हाल कार्यरत दुई सय ९१ मात्रै छन् ।’
डोटीमा प्रहरी कर्मचारीहरु बस्न नचाहानुको मुख्य कारण न्यून रासन भत्ता भएको प्रहरी कर्मचारीहरु वताउँछन् । ‘सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामध्ये सबैभन्दा कम रासन भत्ता पाउने जिल्ला डोटी हो’ एक प्रहरी कर्मचारीले भने, ‘महंगी र अन्य हिसावले अरु जिल्ला र डोटीमा केही फरक छैन ।’
उनले प्रदेश राजधानी कैलालीबाट डोटीमा आउँदा बाटोमा पर्ने जिल्ला डडेल्धुराका प्रहरीले दैनिक दुई सय १८ रुपैयाँ पाउने गरेको तर डडेल्धुरा भन्दा ६५ किलोमिटर टाढा डोटीमा काम गर्नेले जम्मा एक सय ६६ रुपैयाँ मात्रै पाउने गरेको बताए । ‘डोटी, अछाम र बैतडीको प्रकृति एउटै भए पनि अछाममा दुई सय २५ र बैतडीमा दुई सय २८ रुपैयाँ दैनिक रासन भत्ता पाउने गरेका छन्’ एक अर्का प्रहरी कर्मचारी प्रश्न गर्छन्, ‘अनि को आउने डोटी ?’
उनले डोटीमा कार्यरत प्रहरीलाई रासन भत्ताले नपुग्ने र तलवबाट रासन खानु पर्ने अवस्था रहेको बताए । उनी थप्छन्, ‘जिल्ला सदरमुकाममै बस्न सकिन्न यो भत्ताले, सायल, बोगटान घाङल जस्ता दुर्गम गाउँहरुमा कसरी पुर्याउनु खानलाई ?’
रासन कम भएका कारण डोटी सरुवा भएका प्रहरी कर्मचारीहरु पनि काज मिलाएर अन्यत्र जाने गरेको बताउँछन् जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धामी । ‘डोटीमा काजमा आउन कसैले चाँहदैनन् तर डोटीबाट अन्यत्र काजमा जानेहरुले भनसुन समेत गर्न लाउँछन्,’ धामीले भने, ‘डोटीमा काजमा आउने भनेको घर पायक खोज्नका लागि आउनेहरु मात्रै हुन्छन् ।’ उनले डोटी सरुवा हुने बित्तिकै प्रहरी कर्मचारीमा सिथिलता आउने वताए । उनी थप्छन्, ‘उत्प्रेरित हुनका लागि केही देखिदैन ।’
कूल दरवन्दी संख्या तीन सय ९६ मध्ये हाल २८ जना बिदामा रहेका छन् भने ७७ दरवन्दी खाली छन् । भएका प्रहरी जनशक्तिमध्ये कारागार सुरक्षा, उच्च अदालत, जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला अस्पताल, बाल सुधार गृह, क्षेत्रीय प्रशासन लगायतका निकायहरुको सुरक्षामा ५५ जना खटिएका छन् ।
जिल्लाको शान्ति सुरक्षाको लागि दुई सय ३६ जना प्रहरी मात्रै रहेको जिल्ला प्रहरी कार्यालय डोटीको तथ्याङ्कले देखाउँछ । जिल्लामा रहेका जिल्ला प्रहरी कार्यालय, ६ ईलाका प्रहरी कार्यालय, सात प्रहरी चौकी र चार अस्थायी प्रहरी पोष्टमा दरवन्दी भन्दा कम प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक धामीले वताए ।
२०६८ सालको जनगणना अनुसार डोटी जिल्लाको कुल जनसंख्या दुई लाख ११ हजार सात सय ४६ रहेको छ । यस आधारमा डोटीमा एक प्रहरी कर्मचारीले आठ सय ९७ सर्वसाधारणको सुरक्षा गर्नु पर्ने अवस्था छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार एक प्रहरी कर्मचारीले करिब तीन सय सर्वसाधारणलाई सुरक्षा दिनु पर्ने व्यवस्था छ ।
कुन जिल्लामा कति रासन भत्ता ?
सुदूरपश्चिम प्रदेश अन्तरगतका नौ जिल्लामध्ये बझाङ्ग जिल्लामा सवैभन्दा बढी रासन भत्ता छ ।
बझाङ् (ख) मा दैनिक चार सय तीन रुपैयाँ पाउँछन् । यस्तै दार्चुला (क) दुई ६५, (ख) तीन सय १७, बाजुरा दुई सय ४७ कञ्चनपुर एक सय ६६ र कैलाली एक सय ५८ रुपैयाँ दैनिक रासन भत्ता पाउँछन् ।
डोटी एक सय ६६, डडेल्धुरा दुई सय १८, बैतडी दुई सय २८ र अछाम दुई सय २५ रुपैयाँ प्रहरीले रासन भत्ता पाउने व्यवस्था छ ।
प्रतिक्रिया 4