+
+

कान्ति अस्पतालको क्यान्सर वार्डमा मनिषाको एक घण्टा

सागर बुढाथोकी सागर बुढाथोकी
२०७६ भदौ २० गते २०:५०

२० भदौ, काठमाडौं । बिहान ९ बज्न १० मिनेट बाँकी छँदा कान्ति बाल अस्पतालको प्राङ्गणमा एउटा गाडी रोकियो । गाडीबाट ओर्लिइन् नेपाली मूलकी बलिउड सेलिब्रेटी मनिषा कोइराला । केही वर्षयता जोडिएको उनको नयाँ परिचय क्यान्सर विरुद्धको अभियन्ता पनि ।

अस्पताल एक्लै पुगेकी उनी सरासर प्रशासन भवनको बाटो हुँदै ‘अंकोलोजी डिपार्टमेण्ट’मा प्रवेश गरिन् ।

त्यहाँ पुग्नासाथ उनको मुखबाट फुर्कियो, ‘वाउ ! कत्ति धेरै सफा ।’

अस्पतालको फोहोर । बिरामीका कुरुवाहरुको असरल्ल सुताई र दुर्गन्धले नाक थुन्नुपर्ने अवस्था पार गर्दै त्यहाँ पुगेको जो कोहीका लागि अकस्मात सफा देख्दा आश्चर्य लाग्नु स्वाभाविक हो । त्यही बाटो पार गर्दै पुगेकी मनिषाको आश्चर्य पनि स्वाभाविक थियो।

क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरीले जवाफ दिए, ‘अंकोलोजी वार्ड यत्तिको सफा राखेन भने त हाम्रो मेहनत, बिरामीका आफन्तको पैसा र बच्चाको माया मार्नु पर्छ नि ।’

मनिषाले स्वीकृतिमा टाउको हल्लाइन् ।

त्यसपछि अस्पतालको भित्तामा रहेको विभिन्न आकृतिका पेण्टिङ हेर्दै थपिन्, ‘ईट्स इम्प्रेसिभ ! ब्युटीफूल ।’

यतिञ्जेल उनले ‘एप्रोन’ लगाइसकेकी थिइन्।

९० को दशकमा कयौं चर्चित भारतीय चलचित्रमा अभिनय गरेकी मनिषालाई बिरामीको आफन्तहरुले नचिन्ने कुरै भएन । उनलाई देख्नासाथ निराश मुद्रामा बसिरहेका अभिभावकहरुको मुहार खुशी छायो ।

मनिषाले सबैलाई नमस्कार गरिन् ।

एक जना बिरामीको आमाले मनिषालाई संकेत गर्दै आफ्नो छोरालाई सोधिन्, ‘उहाँलाई चिन्छौं ?’

छोरो प्रतिक्रियाविहीन भयो ।

मनिषाले हाँस्दै भनिन्, ‘मेरो नाति पुस्ताका मान्छेले कसरी पो चिन्नु, है बाबु ?’

केटो मुस्कुरायो।

‘अंकोलोजी वार्ड’मा हाँसो गुञ्जियो ।

अनि बेडहरुमा सुतिरहेका ससना बालबालिकाले देखेर मनिषा फेरि बोलिन्, ‘ओ माई गड ! बच्चाहरुलाई पनि यस्तो ! कस्तो डरलाग्दो । कस्तो भयावह।’

अर्का क्यान्सर रोग विशेषज्ञ कैलाश साहले जवाफ दिए, ‘यो त कुल क्यान्सर रोगी बालबालिकाको २० प्रतिशत मात्र हो ?’

मनिषाले जिज्ञासा राखिन्, ‘अरु ८० प्रतिशत कहाँ छन् ?’

क्यान्सर रोग विशेषज्ञ सुधीर सापकोटाले सुनाए, ‘अरु ८० प्रतिशत अझै पनि क्यान्सर रोग जाँच्ने सुविधा भएका अस्पतालमा पुन्न सकेका छैनन्।’

‘ह्वाट ? सिरियस्ली !’ मनिषाले आश्चर्य मान्दै सोधिन्, ‘के हुन्छ ती ८० प्रतिशत बच्चाहरुलाई ?’

डाक्टर विष्णुरथले सुनाए, ‘अरु नै रोग लागेको आशंकामा चिकित्सकले ‘एण्टिबायोटिक’ चलाइरहेका हुन सक्छन् । अनि थोरै मात्रामा भारत गएर उपचार गराउने पनि हुन्छन् ।’

मनिषाले एकपछि अर्को जिज्ञासा राखिन्, शिक्षण अस्पतालको अंकोलोजी वार्डका डाक्टरहरुले जवाफ दिँदै गए । चलचित्रको पर्दामा विभिन्न अवतारमा देखिएकी उनलाई अस्पतालभित्र एउटा ‘रिपोर्टर’ जस्तै चासो लिएर प्रश्न गरिरहेको देख्नु हलभित्र रहेका सबैलाई एउटा सुखद आश्चर्य थियो ।

मनिषा बेला बेला उपचार गराइरहेका बालबालिकाहरुसँग ठट्टा गर्न पनि भ्याउँथिन्। अभिभावको दर्दनाक कथा सुन्दा भावुक पनि हुन्थिन्।

त्यही क्रममा उनले एउटा चार वर्षीय नानीलाई सोधिन्, ‘ठूलो भएपछि के बन्ने ?’

तोते बोलीमा ती सानी नानी बोलिन्, ‘क्यान्सरको डाक्टर बन्ने ।’

‘अंकोलोजी वार्ड’मा केही क्षण सन्नाटा छायो ।

गाला मुसार्दै मनिषाले आग्रह गरिन्, ‘ओहो कति ज्ञानी, धेरै पढ्नु है ।’

तोतोबोलीमा जवाफ आयो, ‘हस् ।’

केही क्षण डाक्टर विष्णुरथ, कैलाश र सुधीरले वार्डका सबै बच्चाहरुको अवस्थाबारे एकएक गर्दै जानकारी गराए । मनिषाले पनि डाक्टरहरुको कुरा चाख मानेर सुनिरहिन् । बच्चा र उनीहरुका परिवारसँग केही क्षण रमाइलो गरिन् । त्यहाँ उपचाररत बच्चाहरुका अभिभावकको पीडाका कथाहरु सुन्दा केही ढाढस दिइन्।

अंकोलोजी वार्डको माहोल हाँसो, आश्चर्य र आँशुले मिश्रित भयो ।

त्यसपछि उनीहरु डाक्टरको कार्यकक्षमा आए।

मनिषाको प्रश्न सकिएकै थिएन । सोधिन्, ‘कति आउँछन् वार्षिक यहाँ उपचार गराउन ?’

डाक्टर विष्णुरथले भने, ‘करिब २ सय ?’

फेरि प्रश्न तेर्सियो, ‘अनि देशभर कति बिरामी हुनुपर्ने ?’

डाक्टर कैलाश बोले, ‘डब्लुएचओ (विश्व श्वास्थ्य संगठन)को अनुमान अनुसार करिब १५ सय ? हाम्रोमा बाहेक १ सय ५० जति अरु अस्पतालमा पुग्छन्।’

मनिषाको अर्को प्रश्न गर्न नपाई डा सुधीर बोले, ‘अस्पताल पुगेर उपचार गराइरहेका आधाले त बीचमै उपचार छाड्छन् । त्यही आधामध्येको १० प्रतिशत बालबालिकाका अभिभावक रोग पहिचान भएर पनि आफ्नो सन्तानको माया मार्छन्। अर्थात, उनीहरु अस्पतालमा उपचार नगराई घर फर्किन्छन्।’

डा. सुधीरको जवाफले मनिषा स्तब्ध भइन्।

‘ओ माई गड ! अनि उपचार किन नगर्ने ? किन बीचमै उपचार छाड्ने ?’ उनले सोधिन्।

डा. कैलाशले जवाफ दिए, ‘उपचार खर्चको अभावले र निको हुन्न भन्ने पुरानो मानसिकता बोकेर।’

मनिषा बोलिन्, ‘हो जनचेतनाको अभाव नै हो । बच्चाहरुको यो अवस्था छ भन्ने मलाई नै थाहा थिएन।’

अनि, फेरि सोधिन्, ‘अनि सरकारले गरीबहरुको उपचारमा सहयोग गर्दैन ?’

डा. विष्णुरथले सुनाए, ‘एक लाख गर्छ, तर त्यो पर्याप्त हुन्न ।’


‘अनि कति लाग्छ त उपचार खर्च ?’ मनिषाले अर्को प्रश्न सोधिन् ।

‘बिरामी पुरा निको हुनका लागि ३ देखि ५ वर्ष अस्पतालमै उपचार गर्नुपर्छ । विभिन्न जाँचहरु गर्ने उपकरण नेपालमा नहुँदा भारत पठाउनु पर्छ। गाउँबाट आएकाहरु  अस्पताल नजिकै कोठा लिएर बुवाआमा दुबै जना बस्नुपर्छ,’ डाक्टर विष्णुरथलाई रोक्दै डाक्टर कैलाश बोले, ‘उपचार खर्च मात्र जोड्ने हो भने त ५/७ लाख लाग्ने हो, तर निजीमा दोब्बरले नि पुग्दैन। अरु खर्च त कति हो कति।’

डाक्टरहरुको कुरा ध्यानपूर्वक सुनेपछि मनिषाले भनिन्, ‘मैले आजसम्म ‘एडल्ट’ क्यान्सरको लागि मात्र काम गरेँ । बच्चाहरुको क्यान्सरका लागि अब सहयोग गर्न चाहन्छु । पोइन्ट वाइज भन्नुस्, मैले यहाँ केके सहयोग गर्न सक्छु ?’

डा. विष्णुरथले सुनाए, ‘उपकरण, जनशक्ति, भवन । अनि बच्चाहरुलाई पनि क्यान्सर हुन्छ र त्यो निर्मुल पार्न सकिन्छ भन्ने जनचेतना ।’

‘उपकरण को त समस्या बुझिसकियो, जनशक्ति पनि पर्याप्त छैन ?’ मनिषाले सोधिन् ।

डा. विष्णुरथले भने, ‘सरकारले अहिलेसम्म बाल क्यान्सर रोग विशेषज्ञको एउटा दरबन्दी छुट्याएको छैन । कान्ति अस्पतालले नै आन्तरिक स्रोतबाट दुई जना बाल क्यान्सर विशेषज्ञको व्यवस्था गरेको छ । एक जना रेजिडेन्ट डाक्टर र ९ जना नर्स छन् ।’

अनि मनिषाले फेरि सोधिन्, ‘कति जनशक्ति भयो भने पर्याप्त हुन्छ त ?’

‘डब्लुएचओले अति कम विकसित मुलुकका लागि छुट्याइएको मापदण्ड मान्ने हो भने पनि अहिलेको अवस्थामा २५ जना नर्स चाहिन्छ । मेडिकल अफिसरसहित ६ जना चिकित्सक चाहिन्छ’ विष्णुरथले मनिषालाई सुनाए, ‘धन्न हामीले यति कम जनशक्तिमा निजीको भन्दा राम्रो सेवा दिइरहेका छौं ।’

‘अनि कति छ त बच्चाहरुको जिवित दर ?’

मनिषाको प्रश्न पूरा नहुँदै डा. कैलाशले सुनाए, ‘क्यान्सरको प्रकृति र अवस्था हेरेर ४० देखि ६० प्रतिशत छ । समयमै उपचार गर्न आउने हो भने हामी जिवित दर ८० प्रतिशत पुर्‍‍याउन सक्छौं ।’

डा. विष्णुरथ फेरि बोले, ‘हाम्रो मुख्य चुनौती अस्पतालको पहुँच बाहिर रहेका करिब ८० प्रतिशत बालबालिकालाई अस्पतालसम्म ल्याउनु पनि हो । त्यसका लागि हामीले सेवा विस्तार र जनचेतना फैलाउनुको विकल्प नै छैन ।’

त्यसपछि नायिका मनिषाले थपिन्, ‘ल तपाईहरुको समस्या र समाधान गर्न के गर्न सकिन्छ भनेर सरकारका र संस्थाहरुका लागि छुट्टा छुट्टै प्रस्ताव तयार गरेर मलाई ‘मेल’ गर्नुस् । म आजैदेखि यहाँ केही सहयोग गर्नको लागि लाग्छु।’

घडीमा १० बजिसकेको थियो । डाक्टरहरुको टोलीसँगै मनिषा अस्पतालका निर्देशक आरपी बिच्छाको कार्यकक्षमा गइन् । बिच्छाले उनलाई फूलको गुच्छा र कान्ति बाल अस्पतालको नाम लेखेको मफलर ओडाएर स्वागत गरे ।

बच्चाहरुको क्यान्सरका लागि के, कसरी सयोग गर्ने सकिन्छ भन्ने विषयमा ५ मिनेट जति छलफल भयो । मनिषाले, ‘भवन निर्माणका लागि के कति जग्गा छ ?’ भनेर चासो राख्दा बिच्छाले पर्याप्त जग्गा भएको जानकारी दिए ।

त्यसपछि उनी सबैसँग बिदा भइन् ।

प्रशासन भवनबाट निस्किँदै गर्दा एक चिकित्सकले मनिषालाई भने, ‘यो प्रशाशन भवनमा भूकम्पपछि ‘रेड स्टिकर’ लगाइएको छ तैपनि हामी यसमै काम गरिरहेका छौं ।’

कान्तिको ‘अंकोलोजी वार्ड’का लागि केही सहयोग गर्ने सन्देश दिएर मनिषा त्यहाँबाट ओझेल परिन् ।

तस्वीरहरु : सागर बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?