Comments Add Comment
मेरो कथा :

भलिबलबाट के पाएँ ? के गुमाएँ ?

क्रिकेटको जस्तै लिग भलिबलमा चाहिन्छ

राष्ट्रको प्रतिनिधत्व गरेर खेल्ने सपना हरेका खेलाडीको हुन्छ । मैले पनि त्यो अवसर पाएँ ।

तर नेपालमा खेलाडीको भविष्य सुनिश्चित छैन । खेलाडी जीवन सकिएपछि के त ? भन्ने प्रश्न ज्वलन्त हुन्छ । म पनि अहिले यही प्रश्नमा रुमल्लिएको छु ।

खेलेर नाम कमाए, सम्मान पाएँ, देश–विदेश घुमेँ । नेपालको लागि ऐतिहासिक पदक जित्ने टिमको सदस्य भएँ । चोटका कारण अहिले खेल करियर सकिन लाग्यो । तर भविष्य निश्चित छैन । रिटायर्ड भएपछि के गर्ने भन्ने अन्योलमै छु ।

०००

सानोमा स्कुल पढ्दा हामी ठूला दाइहरुले खेलेको हेर्थ्यौं । हामीले त बल छुन पाउनु नै ठूलो कुरा हुन्थ्यो ।

अनि, हामीले पनि मोजाको बल बनाएर खेल्न थाल्यौं । दिउँसो गोरु हेर्न जाँदा बगरमा खेल्ने गर्थ्यौं ।

क्याम्पस पढ्दा त हाम्रो राम्रो टिम बनेको थियो । जिल्ला स्तरीय पनि खेल्यौं । हाइजम्प र लङजम्पमा भाग लिने भएकोले मेरो जम्प राम्रो थियो ।

गाउँमा सबैले लाहुरे हुनुपर्छ भन्थे । लाहुरे हुन नि गइयो । पछि आमा विरामी भएर फर्किएँ । बुटवलमा खेल्दा पोखराका राजकुमार गुरुङले मेरो उचाई देखेर भलिबल खेल्न प्रोत्साहित गर्नुभयो । त्यसपछि हामी पिएन क्याम्पसबाट काठमाडौंको टीयूमा आएर खेल्यौं । हामी तेस्रो भयौं । मैले बेस्ट स्पाइकरको अवार्ड पाएँ । त्यो नै मेरो खेलजीवनको पहिलो अवार्ड थियो ।

त्यसपछि शहीद स्मृति मजदुर क्लबमा गयौं । क्यासिनोमा बाउन्सरको जागिर पनि खाएँ । मजदुर क्लबबाट खेल्ने, जावलाखेलमा ट्रेनिङ पनि गर्ने हाम्रो दिनचर्या बन्यो ।

खेल्ने क्रममा नै नेपाल पुलिसका खेलाडीहरुसँग भेट भयो । त्यही बेला पुलिसमा पनि खेलाडी चाहिएको रहेछ । सरोज श्रेष्ठ, इम राना, सन्जय अर्याल, प्रेम भण्डारी जस्ता खेलाडीहरु थिए । हामीलाई अफर आयो । हामीले बुटवल गएर फर्म भ‍¥यौँ । अनि २०६७ पुसमा हामीले जागिर शुरु ग‍र्‍यौं । पुलिसमा अहिलेसम्म खेलिरहेका छौं ।

पुलिसमा आएपछि नवलपरासीमा राष्ट्रिय प्रतियोगिता खेल्यौं । त्यसबेला एपीएफ बलियो मानिन्थ्यो । उसलाई पनि हराएर हामीले उपाधि जित्यौं । पुलिस पहिला राम्रो थियो । पछि राम्रा खेलाडी बाहिरिएपछि केही कमजोर बन्यो । हामी आएपछि राम्रो हुन थाल्यो । पुलिसमा आउनुअघि पाँचौ राष्ट्रिय खेलकुदको लागि पनि छनोट खेलेको थिएँ । हामीले लमजुङमा गएर गुल्मीबाट खेलेका हौं । तर, छनोटमा परिएन ।

एकपटक हामीले काठमाडौंमा गणतान्त्रिक खेलकुदमा भाग लिएका थियौं । त्यहाँ विभागीय टिम थिएनन् तर २ लाखको पुरस्कार थियो । त्यो बेला २ लाख ठूलो रकम थियो । हामीले जित्यौं । म बेस्ट स्पाइकर भएको थिएँ ।

००००

पुलिसमा भर्ना भएर खेल्न थालेपछि राष्ट्रिय टिममा पनि परेँ । ०६९ सालतिर नेपालमै दक्षिण एसियाली आमन्त्रण कप भलिबल भयो, जसमा हामीले हामीले अफगानिस्तानलाई हरायौँ । माल्दिभ्स र श्रीलंकासँग राम्रै खेलेका थियौं ।

धेरै समयपछि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । ५० सालअघि एसियन च्याम्पियनसिप भएको रहेछ । बीचमा अन्तर्राष्ट्रिय सहभागिता कम भए । अहिले त राम्रो छ व्यस्तता । हामीले एसियन गेम पनि खेल्यौं ।

त्यतिखेर भलिबलको माहोल राम्रो थियो । सबै कोर्टमा आएर हेर्थे । अहिले अनलाइनमै आइउँछ । टिकट काट्नभन्दा घर बसेरै हेर्न सजिलो भयो ।

नेपालमा खेलकुदको क्रेज छ । भलिबल राष्ट्रिय खेल भइसकेको छ । यो हाम्रो गौरवको विषय हो । यसलाई टिकट फ्रि गर्दा हुन्छ जस्तो लाग्छ । भलिबल पहाडतिर पनि खेल्न मिल्ने भएकोले धेरै क्रेज छ ।

पछि सेन्ट्रल जोन भलिबल हुन थाल्यो । मैले लगातार सबैमा खेल्ने अवसर पाएँ । इम राना र मैले मात्रै सबै पाँच वटै खेलका छौं । अरु जाने–आउने भैरह्यो । पहिलो संस्करणमा हाम्रो टिम राम्रो थियो । कीर्गिस्तानलाई हराएका थियौँ । तेस्रो स्थानका लागि भएको खेलमा भने अफगानिस्तानसँग पाँचौ सेटमा पुगेर हा¥यौँ ।

हाम्रो भलिबलको विकास त भएको छ, तर अरुको तुलनामा हामी कमजोर नै छौं । हामीले हराएकोे किर्गिस्तान अहिले सेन्ट्रल जोनमा च्याम्पियन बनिसक्यो । हाम्रो खेलमा सुधार त छ, तर रिजल्टमा छैन । माल्दिभ्समा कास्य जित्नु बाहेक अर्को उपलब्धी हासिल गर्न सकिएको छैन ।

०००

४१ वर्षको इतिहासमा हामीले एउटा मात्रै अन्तर्राट्रिय पदक जित्यौं । माल्दिभ्समा तीन वर्षअघि भएको सेन्ट्रल जोनमा हामीले कास्य जितेका थियौँ । त्यसमा पनि माल्दिभ्स विरुद्धको खेल मेरो लागि विशेष नै बन्यो ।

सुरुमा त म कोर्टबाहिर थिएँ । पहिलो सेट हामीले २५–२१ ले हारेका थियौँ । दोस्रो सेटमा पनि २४–२१ ले पछि परेको अवस्था थियो । हाम्रो गेम मिलिरहेको थिएन ।

मैले गुरुलाई म खेल्छु भनेँ । उहाँ सहमत हुनुभयो । अनि म चेन्ज भएर कोर्टमा प्रवेश गरेँ । म जानासाथ खेल टर्न भयो । जितका लागि उनीहरुलाई एक अंक मात्र चाहिएको र हामीलाई ४ अंक । भाग्य पनि भन्नुपर्छ, मैले नै ३ वटा स्पाइक गरेर तीन अंक बटुलेँ । भैरव बमले एउटा ब्लक गरेर एक अंक थप्यो ।

मैले लगातार ३ अंक ल्याएपछि २४–२४ को बराबरी भएको थियो । भैरवले एक अंक थपेपछि हामी २५–२४ ले अघि भयौँ । तर ब्लक आउट भएपछि फेरि बराबर भयो । मैले फेरि स्पाइकबाट अंक ल्याएँ । तर माल्दिभ्सले पनि अंक ल्याएर २५–२५ ले बराबरी ग‍¥यो । त्यसपछि महेन्द्रले क्वीकबाट एक अंक ल्यायो र अर्को अंक विपक्षीको गल्तिमा प्राप्त भयो । अनि हामीले २७–२५ ले खेल जित्यौं ।

दोस्रो सेट जितेपछि हाम्रो हौसला बुलन्द भयो । त्यसपछि लगातार तेस्रो सेट ३३–३१ ले र चौथो सेट २५–१९ ले जित्दै खेल आफ्नो पक्षमा पार्‍यौं ।

चार टिम सहभागी भएकोमा हामीले माल्दिभ्सलाई उसैको कोर्टमा हराएर तेस्रो स्थान हासिल गरेका थियौं । त्यसपछि हामीले पाएको सम्मान पनि सम्झनलायक थियो । हामीले त्योभन्दा अघि त्यस्तो सम्मान पाएका थिएनौं । सेन्ट्रल जोनमा पदक जितेर आएपछि सबैले सम्मान गर्नुभयो । मलाई के अनुभव भयो भने सबै मिलेर यसरी नै खेल्यौं भने नेपालको भलिबल कति माथि पुग्थ्यो होला । यस्तो सम्मानले नयाँ खेलाडीलाई पनि प्रेरणा हुन्छ ।

०००

२०१८ मा हामीले इन्डोनेसियामा एसियन गेम्स खेल्यौं । ३ दबहपछि नेपालले यो प्रतियोगितामा भाग लिने अवसर पाएको थियो । नेपालका लागि यसमा सहभागि हुनु पनि ठूलो कुरा हो । ठूलो रुखको मुनि बसेपछि शितल छहारी मिल्छ भनेजस्तै एसियन गेम्सको अनुभव सेन्ट्रल जोनमा काम लाग्छ ।

एसियन गेम्समा च्याम्पियन हुने टिम विश्वस्तरमै बलियो मानिन्छ । इरान अहिले टपमै छ । हामी एसियामा १५ औं वरीयतामा पुगेका थियौं । अहिले पनि वरीयतामा छौँ । पुरुषभन्दा महिला टिमको वरियता धेरै माथि छ ।

एसियन गेम्समा भाग लिँदा कोरिया, जापानजस्ता टप टिमको खेल हेर्न पाइयो । राम्रो अनुभव भयो । हामीले समूहमा खेलेको कोरिया दोस्रो र चाइनिज ताइपेई तेस्रो भयो । शुरुमै बलियो टिमसँग परेकाले हामीलाई कठिन भयो । हामीले म्यानमारलाई मात्र जित्यौं ।

त्यसअघि हामीले सेन्ट्रल जोनसम्म मात्र खेलेको थियौं । १२औं सागमा भारतसंग खेलेको थियौं। भारत–पाकिस्तानसंग खेल्न पनि हामीले सागसम्म कुर्नपर्थ्यो । अहिले सेन्ट्रल जोन हुन थालेपछि हाम्रो अन्तर्राष्ट्रिय सहभागिता बढेको छ ।

०००

पछिलोपटक घरेलु कोर्टमै २ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता भए । तर हामीले राम्रो गर्न सकेनौं । हामीले अवसर गुमाएकै हो । ट्रेनिङ पर्याप्त गरेका थियौँ । टिम पनि राम्रो थियो । तर कहिलेकाहीँ ‘ब्याडलक’ पनि हुन्छ ।

पछिल्लो समय हाम्रो टिम राम्रो छ । तैपनि के नमिलेको, के नमिलेको जस्तो लाग्छ । हामी पुरानै शैलीमा भलिबल खेल्छौँ । हाम्रो गुरुहरुले पनि आ–आफ्नो ढंगले सिकाइरहनु भएको छ । युरोपतिरबाट आउनुभएको कोचको ट्रेनिङ डेभलपमेन्ट टाइपको छ । ट्रेनिङ एउटै हो, खेल्ने टेक्निक फरक छ । उहाँहरु आएर ब्याकबाट वाइड हान्ने भन्नुहुन्छ । हामी चाहिँ बीचबाट वाइड हानिरहेका हुन्छौं ।

उनीहरुले खेल्ने हरेक पोजिसनमा ट्रेनिङ गराउँछन् । हामी १०–१५ वर्षदेखि आफैँ सिकेर आफै खेल्दै आइरहेका छौं । एक–दुई महिना सिकेर खेल्न गाह्रो हुन्छ । हाम्रो टिम फर्मेसन नमिलेको जस्तो थियो । शुरुमा भन्दा पछि केही राम्रो हुँदै आयो । यूरोपियन गुरु आएपछि ट्रेनिङ लगायत हरेक कुरा फरक भएको छ ।

पहिलो खेल कीर्गिस्तानसँग सजिलै हार्यौँ । तर पनि हामीलाई अवसर थियो माल्दिभ्सलाई हराएर सेमिफाइनलमा पुग्ने । हामीले पहिला माल्दिभ्सलाई जितेका पनि हौं । यसपटक पनि जित्छौँ भन्ने थियो । तर उनीहरु पनि नराम्रो टिम होइन । पहिलाभन्दा झन् सुधार गरेका रहेछन् ।

भलिबलमा उनीहरुको लगानी छ । थाइल्याण्डमा लगेर ५–६ महिना ट्रेनिङ दिन्छन् र फ्रेण्डसिप म्याच खेलाउँछन् । यहाँ आउनुअघि श्रीलंकासंग पनि खेलेर आएको थियो । त्यसले उनीहरुको आत्मविश्वास बढेको थियो । नत्र मालदिभ्स र हामी एउटै लेभलको टिम हौं ।

होम कोर्ट पनि भएकाले हामीलाई जित्नैपर्छ भन्ने दवाव थियो । तर, हाम्रो खेल शुरुमै मिलेन । त्यसपछि सानो–सानो गल्तिले अंक गुमाउँदै गयांै । सबैले गाली गर्न थालेपछि खेलाडीहरु आतिए । हामी चुक्यौं ।

सागमा त झन् हामीले बंगलादेशलाई जित्नैपर्ने थियो । किनभने मैले खेलेदेखि बंगलादेश सबैभन्दा कमजोर भएको अहिले नै हो । उनीहरुले नयाँ खेलाडी उत्पादन गरिरहेका छन् । ५ वर्षलाई सोचेर टिम बनाइरहेका छन् । तर, हामीले बंगलादेशलाई पन्छाउन सकेनौं ।

०००

हाम्रो त राष्ट्रिय खेल हो भलिबल । यसको गरिमा बढाउन अब ग्रासरुटदेखि नै काम गर्नुपर्छ । तीन विभागीय टिमलाई भन्दा पनि अब प्रदेशस्तरका र स्कुल लेभलका खेललाई बढी प्राथमिकता दियो भने राम्रो हुन्छ । स्थानीय रुपमै नयाँ खलाडी उत्पादनमा जोड दिनुपर्छ ।

म त भन्छु भलिबलमा अब क्रिकेट जस्तो लिग हुनुपर्छ । वर्षमा २/३ वटा लिग भयो भने खेलाडीलाई निर्वाह गर्न सहज हुनेछ । अहिले त भलिबल खेलेरै जीवन धान्न कि आर्मी–पुलिसमै आउनुपर्छ, नभए विदेशिन बाध्य हुनुपर्ने अवस्था छ ।

सरकारले राम्रो बजेट छुट्याएर ५ वर्षसम्मको योजना बनाएर यू–१२ देखि नै ध्यान दिनुपर्छ । ५ वर्षपछि त्यो खेलाडी यू १९ लेभलमा पुग्छ र त्यसपछि सिनियर टिममा । त्यसो भएमा ५ वर्षपछि भारत, श्रीलंकाजस्ता टिमसँग भिड्न सक्छौं जस्तो लाग्छ ।

हाम्रो रिसिभ राम्रो छैन, किनकी हामी आफैले सिक्यौं । बेसिक सिकाउने कोही थिएन । अहिले केही करेक्सन भयो, तर ठूलो भएपछि करेक्सन हुन गाह्रो हुन्छ । रिसिभ राम्रो बनाउन सानैदेखि सही तरिका अपनाउनुपर्छ ।

मैले सबैलाई भन्ने गरेको छु कि हरेक खेलाडीलाई लोभ हुनुपर्छ । प्रत्येक बल बिगार्दा मेरो एउटा बेस्ट फुत्क्यो कि भन्ने मनोभावना हुनुपर्छ । हार–जित छुट्टै कुरा हो । पहिला स्वयं आफू राम्रो हुनुपर्छ । आफूले राम्रो खेलेपछि अर्कोले पनि राम्रो खेल्छ । अनि टिम राम्रो हुन्छ ।

प्रत्यक खेलाडीले बेस्ट प्लेअरको ट्रफी मेरो हो भनेर खेल्नुपर्छ । मलाई जतासुकै खेल्दा पनि यो ट्रफी आफ्नो बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ । त्यसले राम्रो खेल्न प्रेरणा मिल्छ ।

मलाई जहाँसम्म लाग्छ, हरेक खेलाडीले ‘ओभर एक्साइटेड’ होइन कि ‘कन्फिडेन्ट’ हुनुपर्छ । म सबैभन्दा बेस्ट दिन सक्छु भन्ने आत्मविश्वास चाहिन्छ ।

०००

गत वर्षदेखि पुरानो चोटले दुःख दिइरहेको छ । साग खेलेर घर जाँदा समस्या हुन थाल्यो । खुट्टा चलाउनै नहुने, पोल्ने हुन थाल्यो । त्यसपछि काठमाडौं आएर डाक्टरलाई देखाएँ । नशा च्यापिएको रिपोर्ट आयो । कसैको झम्झमाउने हुने रैछ, मेरो चाहिँ पोल्छ ।

म त अहिले खेल्न सक्दिनँ । जम्प गर्नै सक्दिन । आज खेलेँ भने भोलि पोलेर उभिनै नसक्ने हुन्छु । त्यसैले अहिले खेलेको छैन ।

यत्रो वर्ष खेलियो । एक–दुई वर्ष अझै खेलिन्छ भन्ने लागेको थियो । तर अहिले शरीरले साथ दिएन । अब नयाँ खेलाडीहरु पनि आएका छन् । राष्ट्रिय टिममा मभन्दा राम्रो आयो भने छोड्नुपर्छ भन्ने हो ।

खेलाडीको लागि चोट नै मुख्य शत्रु हो । मेरो हकमा पनि त्यस्तै हुँदैछ । अपरेसन गर्दा पनि शतप्रतिशत सफल नहुने रैछ । कोही कोहीको मात्र सफल हुन्छ रे । त्यसैले अन्योल छ । डाक्टरले औषधी लेखिदिनुभएको छ । त्यही खाइरहेको छु । थेरापी पनि गरिरहेको छु ।

अहिले पनि खेल्न मन लाग्छ, तर सक्दिन । पुलिस क्लबमा आउँछु । स्पाइक गर्दिन । कोचहरुलाई सहयोग गर्ने, जुनियर भाइहरुलाई आफूले जानेको सिकाउने गर्छु । सागपछि खेलेको छैन । हल्का ठिक भएकोले चितवनमा खेल्न गएका थिएँ । तर एउटा गेममा खेलेपछि गाह्रो भयो ।

अब आफ्नो अनुभव सदुपयोग गर्दै राम्रो खेलाडी उत्पादन गर्न मन छ । अवसर पाएँ भने कोचिङ गर्ने नै इच्छा हो । समयले साथ दियो भने सधैँभरि भलिबलमै हुनेछु । तर, अहिले केही भन्न सक्दिनँ ।

प्रोफेसनल रुपमा भलिबलमा लागेको पनि एक दशक कटिसक्यो । अहिले भलिबलकै कारणले सबैले चिनेका छन् । विदेश गएको भए कसैल भेट्थेनन् होला । इज्जत, मान–प्रतिष्ठा घुमघामको अवसर मिल्यो । त्यो सोच्दा खुशी लाग्छ । तर, अर्कोतर्फ आर्थिक पाटोबाट हेर्दा सन्तुष्ट हुने ठाउँ छैन । घाइते भएको सबैले देखेका छन् । तर, सहयोग पाएको छैन ।

जागीर नखाई पनि भएन । पुलिस–आर्मीले हामीजस्ता धेरै खेलाडीलाई जागिर दिएको छ । आर्मी–पुलिसमा खेले पनि खेलुन्जेललाई हो । खेलपछि छैन । केही गरेर चोट लाग्यो भने सहयोग माग्नुपर्छ । त्यसैले राम्रा खेलाडी विदेश गए । देशले उनीहरुलाई रोक्न सकेको भए अझै राम्रो हुन्थ्यो । यति राम्रो खेलाडी त खेलेर विदेश गए भने म खेलेर के हुन्छ भन्ने नयाँ खेलाडीले सोच्लान् ।

हामी पैसा कमाउन खेलेको होइन । भित्री इच्छाले खेलेको हो । तर अब खेलाडीको लागि प्रदेश सरकार, केन्द्र सरकारले व्यवस्था गर्नुपर्छ । कुनै पनि खेलाडी खेलेपछि घाइते त हुन्छ नै । घाइते भएपछि खेलबाटै टाढिएका खेलाडीहरु धेरै छन् ।

सरकारले केही नभए पनि सरकारी अस्पतालमा खेलाडीका लागि ५० प्रतिशत सहुलियत दिओस् । भोलि मेरो परिवार विरामी हुँदा पनि सरकारी अस्पतालमा केही छुट होस भन्ने लाग्छ । यहाँ मेडल ल्याएकोलाई वाहवाही गर्ने, नल्याएकोलाई उपेक्षा गर्ने चलन पनि छ । यसरी छुट्याउन भएन ।

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृङ्खला ‘मेरो कथा’को ७५ औं अंकमा यो हप्ता  खेलाडी  कुलबहादुर थापाको कथा ।)

प्रस्तुति : गोविन्‍दराज नेपाल

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment