
अक्सर सिनेमा र साहित्यमा झरीलाई बिम्बको रुपमा प्रयोग गरिन्छ । झरी आफैँमा आयामिक छ । त्यसैले त यसलाई सर्जकहरूले कहिले दुःखको बिम्ब बनाउँछन्, त कहिले रोमान्सको । जब सिनेमामा वियोगका दृश्यहरू राख्नुपर्ने हुन्छ, पृष्ठभूमिमा झरी परिरहेको देखाइन्छ । बेपत्तासँग परिरहेको झरीले दुःखको त्यस्ता दृश्यलाई अरू उत्कर्षमा पुर्याउँछ ।
त्यसो त हिरो-हिरोइनको रोमान्समा पनि झरीको दृश्य काइदाको लाग्छन् । झरीमा बेपर्वाह रुझेर नाचिरहेका बेला होस् वा निथ्रुक्क भएर कामुक हाउभाउ देखाइरहेको बेला नै किन नहोस्, त्यो रोमान्टिक पल अरू बेजोड लाग्छ ।
हिन्दी सिनेमाको कुरा गरौँ । थुप्रै हिन्दी सिनेमा छन्, जसले झरीलाई बिम्बको रुपमा प्रयोग गरेका छन् । खासगरी प्रेम, रोमन्सको गीतमा झरीको दृश्य समावेश गरिएका छन् ।
त्यसो त कवि–कलाकारदेखि जो-कोहीलाई झरीले फरक अनुभूति गराउँछ । झरीले बेग्लै आनन्द र रोमाञ्चकता पनि पैदा गर्छ । बलिउडकर्मीहरू झरीको यस्तै अनुभवका साझेदारहरू भएको बताउँछन् आफूलाई ।
चिसो हावासँग वहने पानीका कणहरू
यो अनुभव अभिनेत्री विद्या बालनको हो । उनलाई झरीको मौसममा वहने चिसो सिरेटो, त्यसमा मिसिएका पानीका कणहरू औधी मनपर्छ। उनले त्यस्तो क्षणको कल्पना गर्दै भनेकी छिन्, ‘यस्तो मोहक मौसम । तात्तातो चिया अनि पकौडा । पानी परेको बेला यी सबै भए कति आनन्द ?’
रोमन्टिक पानीको थोपा
अभिनेत्री क्याट्रिना कैफलाई पानीको थोपासँग खेल्न रहर लाग्छ । आकासबाट भुइँमा तप्किने पानीको थोपा हेरेर उनी रोमाञ्चित हुन्छिन् । उनलाई झमझम पानी परेको क्षण आनन्द लाग्छ । खासगरी मुम्बईको झरीले उनलाई लोभ्याएको छ ।
झरीमा माटोको सुवास
अभिनेत्री मल्लिका शेरावतलाई मनसुन निकै प्रिय लाग्छ । उनी भन्छिन्, ‘झमझम पानी परिरहेको बेला समुन्द्री तटमा हिँड्न साह्रै रमाइलो लाग्छ ।’ पानी परेको बखत आउने माटोको सुवास पनि उनले महसुस गरेकी छिन् ।
झरीमा बेपर्वाह भिज्नु
अभिनेता तुषार कपुरले भनेका छन्, ‘विगतमा मलाई झरी त्यति मन पर्दैन’थ्यो । तर, अहिले भने मनपर्न थालेको छ ।’ यसरी झरी मन पर्नुमा उनले हुर्काइरहेको छोरा एउटा कारण हुन्, जोसँग पार्कमा वेपर्वाह भिज्दा रमाइलो लाग्छ । तुषार एकल पिता हुन् । अर्थात् उनले सेरोगेसीबाट प्राप्त सन्तान हुर्काइरहेका छन् । उनै छोराको आगमनपछि आफूलाई झरी मन पर्न थालेको तुषारले बताएका छन् ।
झरीमा साथीभाइसँग रमाउन
अभिनेता आयुष्मान खुरानालाई मनसुनको सिजन औधी मनपर्छ । यस मौसममा उनी परिवार र साथीभाइसँग रमाइलो गर्न रुचाउँछन् ।
स्रोत–एजेन्सी
प्रतिक्रिया 4