
हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको सुरुवात गर्ने गरिन्छ।
काठमाडौंमा ठूलो लिंगोसँगै आसपासका जिल्लामा समेत मनाइने यो पर्वका दिन भक्तपुरको दोबाटोमा छोटो लिङ्गो ठड्याउने पनि चलन छ । जसलाई स्थानीय भाषामा यम्बोःद्यो भनिन्छ । जुन इन्द्रका छोरा जयन्तको प्रतीक मानिन्छ ।
इन्द्रजात्रा पर्वको मुख्य विधि भनेको नै वसन्तपुर दरबार क्षेत्रको कालभैरव अगाडि यः सिं अर्थात् लिंगो ठड्याउनु हो । यो लिंगो तान्त्रिक विधिबाट ठड्याउने गरिन्छ । यही लिंगोमा अंकित पाताहरूमा सुनको जलप र इन्द्र विराजमान ऐरावत हात्तीको प्रतिमा बनाइन्छ । यही दिन नै श्वेत भैरवको मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिन्छ ।
तर यस वर्ष कोरोना भाइरस महामारीका कारण इन्द्रजात्राको दिन काठमाडौंको बसन्तपुर क्षेत्र सुनसान रह्यो । जात्राको विधि पूरा गरे पनि यस वर्ष विगतमा झैं हर्षोल्लास भएन । सर्वसाधारणको उपस्थितिविनै इन्द्रजात्रा समापन भएको छ ।
इन्द्रजात्राको दिन मंगलबार साँझ बसन्तपुर क्षेत्रमा देखिएको दृश्य
प्रतिक्रिया 4