+
+

अख्तियार नेतृत्वमा कस्तो व्यक्ति लैजानुपर्छ ?

लालबाबु पण्डित भन्छन्– लोकमान र नवीनजस्ता हुनुभएन

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ असोज ४ गते १४:२०

४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) गत २९ भदौदेखि नेतृत्वविहीन छ । सरकार अख्तियार प्रमुखमा कसलाई नियुक्त गर्ने भन्नेमा छ भने सरकार बाहिर पनि अख्तियारको नेतृत्वमा कस्तो व्यक्ति आउनुपर्छ भन्ने बहस छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गत गठित ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति’की संयोजक रेखा शर्मा भन्छिन्, ‘अधिकार दूरुपयोग गर्दै तानाशाह बन्न खोज्ने वा अनुचित दबावमा परेर काम गर्ने व्यक्तिलाई अख्तियारको नेतृत्व सुम्पनु हुदैन ।’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद शर्माको आशय पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की जस्तो व्यक्तिलाई अख्तियार प्रमुख बनाउन नहुने भन्ने छ ।

व्यक्तिगत प्रतिशोध साध्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजामती प्रशासनसँगै राजनीतिक क्षेत्रकाहरुलाई पनि धमाधम १३ पाने भर्न लगाएर आतंकित पार्न थालेपछि कार्कीलाई हटाइएको थियो ।

‘केही निर्णय पनि गर्न नदिने, निर्णय गरे विवादमा तानिदिने नेतृत्व हुनुहुँदैन’, शर्मा भन्छिन्, ‘कसैको छायाँ बन्नेलाई पनि नेतृत्वमा लग्नु हुँदैन, सरकारले अख्तियारलाई स्वास्थ्य र स्वतन्त्र बनाउने निडर व्यक्ति छान्नुपर्छ ।’

शर्मा नेतृत्वको उपसमितिले अख्तियारलाई कसरी प्रभावकारी र विश्वसनिय बनाउने भनेर अध्ययन गरिरहेको छ । अध्ययन गरेर मूल समितिलाई प्रतिवेदन बुझाउने जिम्मेवारी उपसमितिलाई दिइएको छ ।

जनता समाजवादीका नेता एकवाल मियाँ अख्तियारलाई सुधार गरेर संस्थाको महत्व स्थापित गराउन सक्ने स्वतन्त्र व्यक्तिहरुलाई आयुक्त र प्रमुखमा लैजानुपर्ने बताउँछन् । ‘दल वा अरु कसैप्रति वफादार भयो भने अख्तियार अपारदर्शी र विवादास्पद हुन्छ’, उनी भन्छन्, ‘अहिलेसम्म खड्किएको पनि त्यहि हो ।’

‘अख्तियार प्रमुख छान्दा तीन कुरा हेरियोस्’

अख्तियारको नेतृत्व छान्दा सरकारले प्रमुख तीन कुरा हेर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाको सुझाव छ ।

पहिलो– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्व गर्ने मान्छेको सार्वजनिक छविमा प्रश्न नउठेको हुनुपर्छ । ‘२० वर्षको अनुभव हुनपर्ने भनेको सार्वजनिक व्यक्ति नै हो’, उनी भन्छन्, ‘स्वच्छ सार्वजनिक प्रतिष्ठालाई सबभन्दा ठूलो पुँजी पान्न पर्यो ।’

दोस्रो– अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकायको परिकल्पना सरकारको गल्ति कमजोरी सच्याउन पनि गरिएको हो । यसले शासकीय सुद्धता कायम गर्न सघाउँछ । ‘त्यसकारण अख्तियारलाई लसपसबाट अलग राख्नुपर्छ’, थपा भन्छन्, ‘अख्तियार सरकार र सरकारका निकायहरुसँग लसपसमा बस्नु हुदैन । इच्छाशक्ति भएको नेतृत्वले मात्र अपेक्षित दूरी कायम गराउन सक्छ ।’

तेस्रो– पहिला जुसुकै बुझाईहरु भएपनि अख्तियारमा नियुक्तिसंगै संस्थाको धर्म अनुसारको भूमिका गर्न सक्ने व्यक्ति छानिनुपर्छ । संस्थाको उद्देश्य र कानुनभन्दा दायाँ–बायाँ, अघि–पछि नगर्ने नेतृत्व पाए अख्तियार प्रभाकारी हुन धेरै समय नलाग्ने थापाको भनाई छ । उनी भन्छन्, ‘त्यसको लागि ह्याउ भएको मान्छे हुन पर्यो ।’

लोकमान र नवीनजस्ता हुनुुभएन : लालबाबु पण्डित

नेकपाका नेता लालबाबु पण्डित अख्तियार प्रमुखमा पहिलेका लोकमान कार्की र निवर्तमान नवीन घिमिरे जस्ता व्यक्तिहरुलाई त लैजानै नहुने बताउँछन् । कार्की हिम्मतिलो देखिएपनि स्वार्थ समूह र शक्तिकेन्द्रलाई रिझाउन लागेर अख्तियारलाई खत्तम पारेको उनको विश्लेषण छ ।

त्यस्तै, नवीन घिमिरे उत्कृष्ठ पूर्वकर्मचारी भए पनि अख्तियार प्रमुख हुँदा साना माछा मात्र ताकेको बताउँदै पण्डित भन्छन्, ‘त्यसैले, सरकारले लोकमान र नवीनजस्ता व्यक्तिलाई अख्तियार जिम्मा दिन हुदैन ।’

अख्तियारको आयुक्त र प्रमुख आयुक्तका लागि स्वच्छ छविसंगै हिम्मतिलो व्यक्तिहरु खोज्न सुझाव दिदै उनी भन्छन्, ‘लोकमानजी हिम्मतिलो देखिएपनि आफुलाई कानुनभन्दा माथि राखेर सोच्दा सबभन्दा बढी अख्तियारको दुरुपयोग उनकै पालामा भयो, त्यसैले अब लोकमान चरित्र दोहोरिनु हुँदैन ।’

लोभी–पापी र डरपोक दुवैखाले नेतृत्वबाट अख्तियारलाई जोगाउन पूर्वमन्त्री समेत रहेका पण्डितको सुझाव छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?