+
+

शैलुङले अर्को ठेक्काको ३० हजार मेट्रिकटन मल पनि समयमै नल्याउने

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ कात्तिक १७ गते २१:३१

१७ कात्तिक, काठमाडौं । ठेकदार शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज गहुँ र तोरीको लागि चाहिने मल पनि समयमै ल्याउन नसक्ने जनाउ दिएको छ । असार र साउनको धानमा हाल्ने मल ल्याउन नसकेर कारबाही भोगेको कम्पनीले थप ३० हजार मेट्रिक टन मल तोकिएको समयमा ल्याउन नसक्ने देखिएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

शैलुङका मालिक अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीसमेत हुन् ।

गत असार १८ गते भएको ठेक्का सम्झौता अनुसार शैलुङले ३० हजार मेट्रिक टन मल ल्याउन पाएको ठेक्काको भाका सकिन लागेको र मल आउने कुनै आधार नदेखिएको कृषि सामाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी विष्णु पोख्रेलले जानकारी दिए ।

‘सम्झौता अनुसार ३० हजार मेट्रिक टन मल आगामी कात्तिक २४ गतेसम्म शैलुङले कृषि सामाग्री कम्पनीलाई बुझाई सक्नुपर्छ, तर मल आउने कुनै संकेत देखिएन,’ कम्पनीका सूचना अधिकारी विष्णु पोख्रेलले भने ।

मल ल्याउने प्रक्रिया कहाँ पुग्यो भनेर धेरैपटक कम्पनीले ताकेता गरेपनि शैलुङले चित्तबुझ्दो जवाफ समेत नदिएको कम्पनीले जनाएको छ ।

केही समय अघि सिपमेन्ट (मल जहाजमा लोड गर्ने काम)को समयसीमा थप गरिदिए पनि अहिले भने मल हस्तान्तरणको समय नै गुज्रिन थालेको कम्पनीका अधिकारी बताउँछन् ।

एकै वर्ष शैलुङलाई मल ल्याउने तीन ठेक्का

गत आर्थिक वर्षको बजेटमार्फत कृषि सामाग्री कम्पनीले खरिद गर्ने मलको तीन वटा ठेक्का शैलुङ इन्टरप्राइजेजले पाएको थियो । कम्पनीले गरेको अन्तरािष्ट्रय बोल पत्रमा युरिया र डिएपी गरेर तीन चरणमा ८० हजार मेट्रिक टन मल ल्याउने ठेक्का शैलुङले पाएको थियो ।

कम्पनीका अधिकारीका अनुसार सार्वजनिक खरिद ऐनअनुसार सबै भन्दा कम रकममा ठेक्का प्रस्ताव गरेर शैलुङले ठेक्का हत्याएको थियो । जसअनुसार २५ हजार मेट्रिक टन युरिया साउनमा र ३० हजार मेट्रिक टन युरिया कात्तिकभित्र ल्याई सक्नु पर्नेछ ।

यस्तै अर्को २५ हजार मेट्रिकटन युरिया ल्याउन शैलुङलाई पुस पहिलो हप्तासम्म ल्याउन समय छ । पहिलो २५ हजार मेट्रिक टन युरिया आयात गर्न शैलुङ इन्टरप्राइजेजले ३ सय २० डलर प्रतिमेट्रिक टन दरमा बोलकबुल प्रस्ताव गरेको थियो ।

वैशाखमा भएको ठेक्का सम्झौतामा कम्पनीको लागि २५ हजार मेट्रिक टन युरिया ल्याउन सो कम्पनीले ८० लाख डलर प्रस्ताव गरेको थियो ।

यस्तै असारमा सम्झौता भएको दोस्रो बोलपत्रमा कम्पनीले ३ सय ११.५० सेन्ट डलरमा ३० हजार मेट्रिक टन यूरिया ल्याउने प्रस्ताव गरेको थियो । यसका लागि शैलुङले ९३ लाख ४५ हजार डलरमा युरिया भित्र्याउने कबुल गरेको थियो ।

फेरि कारवाहीको तयारी

सम्झौताअनुसार मल ल्याउन नसकेपछि शैलुङलाई पुनः कारवाहीको लागि तयारी थालिएको कृषि सामाग्री कम्पनीले जनाएको छ ।

‘सम्झौता अवधि सकिन केही दिन बाँकी छ, हामीले तयारी थालेका छौँ, दोस्रो लटमा कारबाही पनि हुन्छ ‘ कम्पनीका प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीले भने ।

पहिलो ठेक्काअनुसार मल नल्याएपछि सम्झौता रद्ध गरेर धरौटी जफत भएको थियो भने कम्पनी कालोसूची सिफारिस भएको थियो । ‘कानुनअनुसार उसले ठेक्का पायो, मल ल्याउने अवस्था देखिन्न, किसान रोएका छन्,’ भण्डारीले भने,’हामीले पनि समयमा किसानलाई मल दिन नसक्ने अवस्था बन्ने भयो ।’

मल नआए पनि ठेकदारले कम्पनीबाट भने एक रुपैयाँ पनि रकम नलगेको भण्डारीले बताए । कम्पनीको नियमअनुसार मल उत्पादक कम्पनीबाट मल नेपाल हिँडाएपछि कुल सम्झौताको १० प्रतिशत र बाँकी रकम नेपालमा मल हस्तान्तरण पछि मात्रै भूक्तानी गर्ने व्यवस्था छ ।

टेण्डर प्रक्रियामा कुनै कानुनी प्राबधान नमिचिएको र विद्यमान कानुनअनुसार नै पहिलो पटक नेपाली कम्पनीले मल आयातको ठेक्का पाएको पनि उनले बताए । यसअघि विदेशी कम्पनीले मात्रै मल आयातको ठेक्का पाएको र उनीहरुले कोलकातामा मल ल्याइपुर्‍याइएपछि १० प्रतिशत रकम पाउने गरेका थिए ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?