३० कात्तिक, काठमाडौं । कप्तान सर्जियो रामोसले युरोपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान राखेको खेलमा दुई पेनाल्टी चुकाउँदा स्पेन नेशन्स लिग अन्तर्गत समूह ए ४ मा स्वीजरल्यान्डसँग बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा जेरार्ड मोरेनोले ८९औं मिनेटमा गोल गरेपछि स्पेनले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको स्वीट्जरल्याण्डसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
स्पेनका लागि १७७ औं खेल खेल्दै युरोपियन राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने जियानुलजी बफोनको कीर्तिमान तोडेका रामोसले दुई पेनाल्टी मिस गरे ।
५७ औं मिनेटमा रामोसको पहिलो प्रहार स्वीस गोलकिपर यान सोमरले बचाएका थिए । तर ८० औं मिनेटको दोस्रो पेनाल्टी प्रहारमा गोलरक्षकलाई चिप गर्न खोज्दा सोमरले बचाउन सफल रहे ।
त्यसअघि रिमो फ्रयूलरले गोल गर्दै घरेलु टोली स्वीट्जरल्याण्डलाई २६औं मिनेटमा अग्रता दिलाएका थिए ।
७९ औं मिनेटमा अल्भारो मोराटालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि स्वीट्जरल्याण्डका निको एलेभेदीले रातो (दोस्रो पहेंलो) कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
८९ औं मिनेटमा सर्जियो रेगुईलोनको क्रसमा मोरेनोले गोल गर्दै स्पेनको हार टारे । बराबरीपछि पनि ५ खेलबाट ८ अंक जोडेको स्पेनको समूह विजेता बन्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । स्पेन समूहमा दोस्रो स्थानमा छ ।
युक्रेनलाई ३-१ ले पराजित गर्दै दोस्रो जित हात पारेको जर्मनी शीर्ष स्थानमा उक्लेको छ । जर्मनीको लागि टिमो वेर्नरले दुई तथा लरे सानेले एक गोल गरे । समूहमा अपराजित रहेको जर्मनीले २जित र ३ बराबरीबाट ९ अंक जोडेको छ ।
अब मंगलबार स्पेन र जर्मनीबीच समूह विजेता बन्नको लागि अन्तिम खेल हुँदैछ । बराबरीले पनि जर्मनी समूह्य विजेता बन्दै सेमिफाइनल पुग्नेछ भने स्पेनलाई जित अनिवार्य छ ।
प्रतिक्रिया 4