
काठमाडौं । लामो समयको बन्दाबन्दीले साहित्य क्षेत्र पनि प्रभावित बनेको छ । यस्तो अवस्थामा साहित्यकारहरू एकैठाउँ भेला हुन पाएका थिएनन् । तर इटहरीस्थित ‘क्यानभास साहित्य समाज’ले कोरोनाको प्रभाव कम हुँदै गएपछि साहित्यिक कार्यक्रम सुरु गरेको छ । शनिबार समाजले कोरोना कहरले नेपाली साहित्यमा पारेको प्रभावबारे एक विचार गोष्ठी सम्पन्न गरेको छ ।
संगीत साधना प्रतिष्ठानको सभाहलमा आयोजना गरिएको साहित्यिक गोष्ठीमा बोल्दै संस्थाका सल्लाहकार प्रा. डा. भीम खतिवडाले कोरोना कहरले साहित्य लेख्नमा नवश्रष्टालाई प्रोत्साहन गरेको तर्क गरे । उनले भने, ‘बीचको समयमा भेटघाटका कार्यक्रम हुन नसेकेपनि यसले साहित्यमा सकारात्मक प्रभाव पारेको छ ।’
कार्यक्रममा चर्चित कवि मनु मञ्जिलले अहिले उदाउँदै गरेका कवि पुस्ता चिन्तनशील नरहेको तर्क गरे । उनले भने, ‘कविता भनेको साधना हो, साधना भयो भने मात्र एउटा राम्रो कविता बन्छ ।’ उनले साहित्यिक गतिविधिमा सक्रिय रहेको क्यानभासबाट उक्त कार्यक्रमको आयोजना हुनु अनुकरणीय रहेको बताए ।
युवाकवि विनय सरगमले अग्रज पुस्ताले नवस्रष्ष्टालाई समेट्न नसकेको गुनासो व्यक्त गरे । उनले भने, ‘पूर्वमा सिंगो नेपाली साहित्यका आकाशरू हुनुहुन्छ, तर नवस्रष्टालाई उहाँहरूले समेट्न नसकिरहेको अवस्था छ ।’
उक्त अवसरमा कविहरू बद्री भिखारी, देवान किराँती, सुदीप पाख्रीन, सन्तोष थेवे, रोमु अधिकारी, राज आशातीत, नवराज मैनाली, रामप्रसाद खरेल, सुविद गुरागाईं, विकेश कविन, किरण चौलागाईं, अस्मिता भट्टराई, दीपा वाग्ले, पुस्तिका भण्डारी, किरण शिवा, विनोद राई, सुमन रेग्मी, मिलन चाम्लिङ, मनोज दाहाल लगायतले रचना वाचन गरे ।
क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहालले कोरोनाले नेपाली साहित्यमा पनि प्रभाव पारेकाले जमघटका कार्यक्रमको आयोजना नभएकाले अब सुरु गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताए ।
प्रतिक्रिया 4