
१ पुस, काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीले उद्योगी-व्यवसायीलाई केवल चन्दादाताको रुपमा मात्र नहेर्न आग्रह गरेका छन् । आर्थिक पत्रकार समाज नेपाल -सेजन)ले बुधबार आयोजना गरेको सेजन अर्थनीति बहस कार्यक्रममा भाग लिँदै उद्योगी चौधरीले नेपालमा उद्योगी-व्यवसायीको क्षमतालाई उचित मूल्यांकन नगरी केवल चन्दादाताको रुपमा हेर्ने मानसिकता रहेको उल्लेख गरे ।
आज निजी क्षेत्रका उद्योग-व्यवसाय सरकारी संस्थानको तुलनामा निकै राम्रोसँग संचालन भइरहेको उदाहरण दिँदै उनले निजी क्षेत्रबाट स्रोत व्यवस्थापनको सीप राज्यले समेत सिक्ने सक्ने उल्लेख गरे ।
मुलुकको विकासका लागि निजी क्षेत्र र सरकारबीच अन्यौन्याश्रित सम्बन्ध आवश्यक रहेको उनले बताए ।
‘हो हामी जेल, नेल, प्रवास भोग्न नसकौंला, राजनीतिक दलजस्तै सडकमा उत्रन नसकौंला’, उनले भने, ‘तर व्यवस्थापनमा हामी कुनै पनि अवस्थामा कमजोर छैनौं ।’ जेल नेल भोगेका राजनीतिक शक्ति र व्यवस्थापनमा उत्कृष्ट निजी क्षेत्रबीचको समन्वय र सम्बन्धबाटै आर्थिक विकास सम्भव रहेको उल्लेख गरे ।
अहिले भइरहेका आर्थिक क्रियाकलाप जग २०४६/४७ का परिवर्तनमा आधारित रहेका आएको निरन्तरता मात्र भएको भन्दै सोचेजति काम गर्न भने नसकिएको स्वीकार गरे ।
निजी क्षेत्रलाई प्रवर्द्धन नगरेसम्म आर्थिक क्रियाकलापले गति नलिने भएकाले त्यस्तो वातावरण बनाउन आफू पनि सक्रिय रहेको उनले बताए । सोहीअनुसार संविधानसभादेखि संसदमा समेत आफू उपस्थित भइरहेको चौधरीले बताए ।
‘उद्योगी- व्यवसायीलाई सौताका रुपमा हेर्ने मानसिकताका विरुद्ध आवाज उठाउन म संघर्ष गरिरहेको छु,’ उनले भने, ‘यो काम म भोली पनि निरन्तरता दिन्छु ।’ हरेक घरमा एक उद्यमी जन्माउने अभियान शुरु नभएसम्म युवालाई उद्यमसिलतामा आकर्षित गर्न नसकिने उनले बताए ।
आफू संसदको जुन भूमिकामा रहेपनि आफ्नो लक्ष्य लगानीको वातावरण बनाउनु र विदेशिएको ठूलो संख्यालाई स्वदेशमै रोजगारी सिर्जनामा लगाउनु रहेको उनको भनाइ छ ।
उनले आर्थिक विकासका लागि केही न केही त्याग देखाउन समेत राजनीतिक दलहरुसँग आग्रह गरे । युवाहरु समेत अब राजनीतिको हस्तक्षेपकारी भूमिकामा देखिनु पर्ने भन्दै आँट गर्न समेत आहृवान गरे ।
‘दिनभर राजनीतिक दलका नेतालाई गाली गरेर बस्नुको साटो अब युवालै नै परिवर्तनको नेतृत्व लिन आँट गर्ने की ?’ उनले भने ।
आर्थिक विकासको सन्दर्भमा लामो समय राजनीतिक अस्थिरतालाई दोष दिने गरेको सन्दर्भ निकाल्दै उनले पछिल्लो तीन वर्ष त्यस्तो अवस्था नभएको समेत स्मरण गरे । तरपनि आर्थिक विषयवस्तुले प्राथमिकता नपाउनुमा परम्परागत सोच नै दोषि रहेको उल्लेख गरे ।
‘पहिलो २५ वर्षमा २६ वटा सरकार आए भनियो, तर, तीन वर्षदेखि त स्थिर सरकार छ , दुई तिहाईको सुविधा छ, तर किन सकेन ?’ उनी प्रश्न गर्दै भन्छन्, ‘कृषि खेत बाँझो राखेर भारत र चीनबाट खाद्यान्न आयात जारी रहेसम्म विकास सम्भव होला ?’
नेपाली युवाशक्ति संसारको कुनै पनि समूहभन्दा कमजोर नभएको भन्दै अब हरेक क्षेत्रमा युवाको हस्तक्षेप जरुरी रहेको उल्लेख गरे । अब इनोभेसनबाट हुने विजनेशको कुनै सीमाना नहुने भन्दै उनले त्यसतर्फ लाग्न समेत युवालाई आहृवान गरेका छन् ।
प्रतिक्रिया 4