
२४ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महिलामाथि एसिड प्रहार गर्नेलाई सार्वजनिक ठाउँमा झुण्ड्याउने कानुन बनाउनुपर्ने बताएका छन् ।
सोमबार जनकपुरधाममा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले महिलामाथि एसिड प्रहार गर्ने, बलात्कार गर्नेलाई सार्वजनिक ठाउँमा झुण्डयाउने कानुन ल्याउनुपर्ने धारणा राखेका हुन् ।
संविधान संशोधन गरेर भएपनि यस्ता घटनामा संलग्नलाई सार्वजनिक ठाउँमा झुण्ड्याउने कानुन ल्याउनुपर्ने उनको भनाइ छ ।
‘हामीले अपराधीलाई कडाभन्दा कडा सजाय दिन चाहन्छौं, तर सकिरहेका छैनौं’ मुख्यमन्त्री राउतले भने, ‘संघीय सरकारको नीतिले प्रहरी समायोजन नभएको र प्रशासन मातहत आउन नसकेका कारण अपराधीलाई कारबाही गर्न सकेका छैनौं ।’
यद्यपि उनले एक न एक दिन संविधानमा भएको व्यवस्था बमोजिम प्रदेश सरकारले अधिकार पाउने विश्वास व्यक्त गरे । ‘यसपछि जुनसुकै अपराध गर्नेलाई प्रदेश सरकारले छाड्नेवाला छैन’ उनले भने ।
एसिडपीडित आरती साहलाई सम्मान
कार्यक्रममा आफ्नै श्रीमानबाट एसिड आक्रमणमा परेकी आरती साहलाई सम्मान गरिएको छ । मुख्यमन्त्री राउतले साहलाई दोसल्ला ओढाएर सम्मान गरे ।
गत कात्तिक २९ गते दीपावलीको दिन आरतीका श्रीमान सञ्जीवले एसिड प्रहार गर्दा आरती गम्भीर घाइते भएकी थिइन् । उनको एउटा आँखाले देख्न छाडेको छ । शरीरको विभिन्न भाग जलेपछि अहिले पनि उनको उपचार भइरहेको छ ।
कार्यक्रममा आफूलाई बोल्न नदिएकाेमा आरतीले गुनासो गरिन् । ‘हामी महिलामाथि कति अन्याय, अत्याचार हुन्छ भन्ने कुरा बोल्न खोजेको थिएँ । तर बोल्न पाइन’ उनले भनिन् ।
प्रतिक्रिया 4