+
+

‘राजनीति भयो तर राजकाज भएन’

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १२:५८

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ लोकार्पण गरिएको छ । उक्त अवसरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र मिश्रले समा थापासँग राजनीति तथा राजकाजमाथि बहस गरे ।

सुरुमा बोल्दै अर्थशास्त्री वाग्लेले मिश्रको पुस्तक नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढ्नैपर्ने रहेको बताए । यद्यपि नेपालको राजनीतिले सोचेअनुरुप स्थायित्व प्राप्त गर्ने पात्र र प्रवृत्ति पाउन नसकेको वाग्लेको निचोड थियो ।

‘नेपालका लागि उदार कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ-राजनीतिक दस्तावेज पनि हो, यो पुस्तक’ उनले भने ।

संवादका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले घुमाउरो शैलीमा आफूले छोटो अवधिका लागि नेपालको राजकाज सम्हाले पनि त्यो कहिल्यै एकै व्यक्ति वा शक्तिको वशमा नहुने बताए ।

डा. भट्टराईले भने, ‘नेपालको विकास गर्न एकदुई विद्वान्ले यसो गरौं र उसो गरौं भनेर दिएको सुझावभन्दा पनि यहाँको वास्तविक धरातल बुझेर, यहीँका मानिसलाई सहभागी गराएर सबै वर्ग, क्षेत्र अनि जातजातिका व्यक्तिको सहभागिता आवश्यक छ ।’

कार्यक्रममा लेखक मिश्रले नेपालमा राजनीति गर्ने धेरै रहे पनि राजकाजका सन्दर्भमा सबै चुकेको धारणा राखे । नेपालका नेताहरूमा दूरदृष्टि र विकासचेत नभएसम्म यहाँको विकास नहुने उनले बताए । ‘हामीले राजनीति धेरै गर्‍यौं । तर राजकाजमा सधैँ चुक्यौं,’ उनले भने, ‘अहिलेको नेतृत्व इमानदार, क्षमतावान् र दूरदृष्टिपूर्ण विचार राख्ने नभएसम्म देशको विकास हुन सक्दैन ।’

संवादका क्रममा नेपालको भूराजनीतिक जटिलता र विदेशी प्रभावमाथि पनि चर्चा भयो । सबै वक्ताले राजनीतिक खेलाडीहरूले नै राजकाज सञ्चालनमा लापरबाही गरेको संकेत गरे ।

सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ थान निबन्धहरू ‘राजनीतिसँगै राजकाज’मा समावेश छन्।

फाइनप्रिन्टले प्रकाशन गरेको लागेको पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) लेखक मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गर्ने बताएका छन् । मिश्रले यसअघि प्रकाशित तीन पुस्तकको लेखकस्व चितवनमा विपन्न चेपाङ समुदायमा कार्यरत मितेरी फाउन्डेसनको सहयोगार्थ प्रदान गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?