
२८ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंमा उपलब्ध ठूला भवनलाई आइसोलेसन केन्द्रका रुपमा सञ्चालन गर्ने बताएका छन् ।
वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले काठमाडौंका ठूला भवनलाई आइसोलेसन केन्द्र बनाउने बताएका हुन् ।
काठमाडौं उपलब्ध ठूला भवनलाई आइसोलेसन केन्द्र बनाउने व्यवस्था मिलाउन उनले मुख्यसचिव डा. शंकरदास बैरागी र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई सुझाव दिए ।
उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसातादेखि नेपाली सेनाले वसुन्धरामा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
तत्काल ८८ बेडको अक्सिजन थेरापी सुविधासहित सञ्चालन हुन लागेको आइसोलेसन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकतानुसार दुई सय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ ।
आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेट र नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएका छन् ।
प्रतिक्रिया 4