+

देश सधैं पहिलो प्राथमिकतामा पर्छ : सन्दीप लामिछाने

२०७८ भदौ  ८ गते ११:१३ २०७८ भदौ ८ गते ११:१३
देश सधैं पहिलो प्राथमिकतामा पर्छ : सन्दीप लामिछाने

८ भदौ, काठमाडौं । ग्लोबल स्टारको छवी बनाइसकेका नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले आफ्नो प्राथमिकता सधैं नेपाली टिम नै पर्ने बताएका छन् ।

सन्दीपले पछिल्लो समय लगातार विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध भएर पनि विभिन्न कारणले गर्दा खेल्ने अवसर पाएका छैनन् । राष्ट्रिय टिमको समेत खेलहरु नभएको बेला उनले विदेशी लिग पनि खेल्न पाएनन् ।

अहिले भने सन्दीपको लागि राष्ट्रिय टिम र क्यारेबियन पि्रमियर लिग (सीपीएल) दुवै एकैपटक जुध्दा उनले राष्ट्रिय टिमबाटै खेल्दैछन् ।

‘दुर्भाग्यवस सीपीएल पनि मिस गरें । तैपनि त्यो सबै कुरालाई पछाडि छोडेर राष्ट्रिय टिमको गेम छ । त्यसमा केन्दि्रत हुनुपर्छ,’ सन्दीपले भने ।

नेपालले सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा क्रिकेट विश्वकप लिग-२ खेल्दैछ र त्यसअघि सेप्टेम्बर ५ र ८ मा पपुवा न्युगिनीसँग ओडिआई म्याच खेल्दैछ । सीपीएल भने यही अगष्ट २६ देखि सुरु हुँदैछ । जहाँ सन्दीप साविक विजेता ट्रिनबाटो नाइट राइडर्समा अनुबन्ध भएका थिए ।

तर नेपालको राष्ट्रिय टिमको खेल पनि यही समयमा परेपछि सन्दीपले स्वभाविक रुपमा राष्ट्रिय टिमबाटै खेल्न लाएका हुन् । राष्ट्रिय टिमबाट खेल्दा उनले सीपीएल भने गुमाउने पक्का भएको छ । सन्दीपले यसअघि लगातार तीन सिजन सीपीएल खेलेका थिए ।

सन्दीपले गुमाएको सीपीएल पहिलो लिग भने होइन । यसअघि उनले भिसा समस्याका कारण इंग्ल्याण्डमा भएको भाइटालिटी टी-२० ब्लास्ट र दी हन्ड्रेड गुमाइसकेका छन् । आफ्नो कारण नभई अन्य कारणले लिग गुमाउँदा सन्दीप सुरुमा निराश बनेका थिए ।

तर अहिले राष्ट्रिय टिमको खेलका लागि तयारी गरिरहेको सन्दीप विगतलाई बिर्सेर अगाडि बढ्नुपर्ने बताउँन् । ‘लिग गुमाउँदा एक/दुई दिन हर्ट त भइहाल्छ तर अहिले भने त्यस्तो छैन । आइतबार राष्ट्रिय टिमको अन्तिम ट्रेनिङ सेसनमा सन्दीपले भने, ‘जीवन साइकल हो । त्यो सबै बिर्सेर अघि बढ्नुपर्छ । भेरी र्फच्युनेट कि अब नेपालको गेम पनि हुँदैछ । केही नभाको भए सायद केही कुराले हर्ट गर्थ्यो होला । फिल्डमा ब्याक हुँदा खुशी छौं । सबै जना ओमान सिरिजकै लागि तयारी गरिराछौं ।’

सन्दीपले क्रिकेट खेल्न सुरु गर्दादेखि नै विदेशी लिग नभई देशकै लागि खेल्ने सोचेर खेलेको बताए । ‘मैले सुरुमा क्रिकेट खेल्नुअघि कहिल्यै पनि सोचिन की आइपीएल खेल्छु भनेर मैले नेपाल देश भनेर सोचेर खेलें । त्यसैले नेपाल फस्ट प्राइओरिटीमा राखे जहिले पनि । चाहे त्यो हाम्रो इस्टर्न रिजन क्रिकेट होस् वा अरु । देशको लागि प्राथमिकता हुन्छ । त्यो हुनु पनि पर्छ,’ उनले भने ।

उनले अब आउने पुस्तालाई पनि पहिला देशका लागि सोचेर खेल्नुपर्ने सुझाव दिए । ‘आउने एउटा पिढीलाई पनि के भन्न चाहन्छु भने देशलाई प्राथमिकता दिनु जरुरी छ । किनकि हामी यहीआट आको हो । पहिला कन्ट्री त्यसपछि अरु ठाउँ हो ।’

धेरै लिगहरु छुट्दा प्रोफेसनल करियरमा केही मिस भयो कि ? जवाफमा सन्दीपले त्यस्तो केही नभएको बताए । ‘किनभने मैले ३ वर्ष जति पनि फ्रेन्चाइज लिग खेलें सबैमा राम्रो गरें । ओभरअल स्ट्याटस पनि राम्रो छ जहाँ पनि खेलेको छु । दुर्भाग्यवस सीपीएल पनि मिस गरें । तैपनि त्यो सबै कुरालाई पछाडि छोडेर राष्ट्रिय टिमको गेम छ । त्यसमा केन्दि्रत हुने । समय अझै बाँकी छ,’ सन्दीपले भने, ‘देशको गेमसँग जुध्दैन भने बाहिर खेल्न कुनै समयस्या हुन्छ जस्तो लाग्दैन ।’

सन्दीप नेपाली टिमसँग आउने मंगलबार ओमान जानेछन् । ओमानमा सेप्टेम्बर २० सम्म नेपालको खेल हुनेछ । त्यसपछि सेप्टेम्बर २५ देखि नेपालमै चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) सुरु हुनेछ । जसमा सन्दीप काठमाडौं किंग्स एलेभेनमा अनुबन्ध भइसकेका छन् र उनले टिमको कप्तानी समेत गर्ने पक्का भएको छ ।

गत सिजन अष्ट्रेलियामा बिग बास लिग खेलेपछि सन्दीपको लागि इपीएल नै पहिलो प्रेन्चाइज क्रिकेट हुनेछ । तर सेप्टेम्बरमै इन्डियन पि्रमियर लिग आइपीएलको बाँकी खेल युएईमा सुरु हुँदैछ ।

त्यसमा पनि सन्दीप खेल्नेबारे चर्चा भइरहेको छ । केही फ्रेन्चाइजका विदेशी खेलाडीहरु दोस्रो फेजको आइपीएल नखेल्ने भएकोले टिमले खेलाडी परिवर्तन गर्दैछन् । रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किंग्सले रिप्लेसमेन्ट प्लेअर राखिसकेको छ ।

तर सन्दीपले भने अहिलेसम्म आइपीएल खेल्नेबारे केही निर्णय नभएको बताए । ‘तत्कालका लागि अहिलेसम्म आइपीएल खेल्नेबारे केही थाहा छैन । नेपालको गेम छ त्यसपछि इपीएल छ । अहिलेसम्म इपीएलसम्मका लागि तयार छु । तर आइपीएलको लागि अहिलेसम्म केही छैन,’ सन्दीपले भने ।

सन्दीपले राम्रो अवसर जहाँ हुन्छ त्यही हेर्ने बताए । उनले भने, ‘अब हेरम कहाँ अवसर राम्रो हुन्छ । अहिलेसम्मको लागि चाहीं इपीएल नै हो ।’ इपीएल अघि सन्दीपले राष्ट्रिय टिमबाट ६ खेल खेल्ने भने लगभग पक्का छ ।

नेपालका लागि पपुवा न्युगिनी विरुद्धको दुई खेल र त्रिकोणात्मक सिरिजमा ओमान र मेरिका विरुद्ध हुने दुई-दुई गरी सबै ६ खेल नै महत्वपूर्ण रहेको सन्दीपले बताए । ‘अरुलाई ४ खेल महत्वपूर्ण छ तर हाम्रो लागि ६ खेल नै महत्वपूर्ण छ वरियताको लागि पनि । सबै खेल महत्वपूर्ण छ । मुख्य ४ खेल महत्वपूर्ण छ । सकेसम्म ४ मा ४ खेल नै जितौं । सबै जना क्यापेबल छौं । सबै जना उत्साहित छौं ।’

वर्षाको मौसमले गर्दा नेपालमा राम्रोसँग प्राक्टिस म्यच खेल्न नपाए पनि पपुवा न्युगिनी विरुद्ध दुई खेल विश्वकप लिग-२ सिरिजअघि राम्रो तयारीको रुपमा रहने सन्दीपले बताए । ‘हामीले यहाँ प्राक्टिस गेम पाएनौं । पीएनजीसँगको त्यो दुई खेल हाम्रो लागि राम्रो अवसर हुनेछ मुख्य खेल अघि,’ उनले भने ।

सन्दीपले ओमानको पिच नेपालको भन्दा अलि फरक रहेपनि कुनै एक्सक्युज नहुने र राम्रो बलिङ गर्ने बताए । ‘यहाँ प्राक्टिसमा राम्रो रिदममै छु । अब त्यसैलाई क्यारी गर्ने हो,’ सन्दीपले भने, ‘यति धेरै ठाउँमा खेलिसक्यो । देयर इज नो एक्सक्युज कि पिच यस्तो छ भनेर । राम्रो बलिङ गर्ने हो । बल राइट प्लेसमा राखे भने सबैलाई गाह्रो हुनेछ । मैले नै केही नराम्रो गरेँ भने मात्र हो । तर त्यहाँको पिचहरु नेपालभन्दा फरक पक्कै हुनेछ । ग्रासी फ्ल्याट विकेट हुनेछ तर अब हामीसंग त्यही अनुसार बलरहरु पनि छ । त्यहाँ गएर कसरी खेल्ने भन्ने मात्र छ ।’

सन्दीप लामिछाने
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय