७ असार, काठमाडौं । सोमबार निर्वाचनमार्फत अखिल नेपाल फुटबल संघको नेतृत्वमा पंकज विक्रम नेम्वाङ सहज बहुमतसहित अध्यक्ष पदमा निर्वाचित भएका । २१ सदस्यीय कार्यसमितिमा अहिलेसम्म १९ जनाको टुंगो लागेको छ । त्यसमध्ये १२ जना नेम्वाङ प्यानलका छन् ।
एन्फा केन्द्रीय कार्यसमिति निर्वाचनमा खुलातर्फ १३ जना सदस्यका लागि भएको निर्वाचनमा चारजनाको समान मत आएपछि दुईजना कार्यसमिति सदस्यको छिनोफानो आसन्न विशेष साधारणसभाले लगाउने सहमति भएको छ । निर्वाचनको परिणामका लागि खर्चिलो साधारणसभा बोलाउनुपर्ने निर्णयले एन्फाको वैधानिक व्यवस्थाप्रति पनि प्रश्न उठ्न थालेको छ ।
एन्फा निर्वाचनको मतपरिणामबाट केहि रोचक तथा केहि गम्भीर नतिजाहरु देखिएका छन् । संघीयता कार्यान्वयनसँग विकेन्द्रीकरणको नारा एन्फामा लामो समयदेखि लाग्दै आएको हो । तर, केन्द्रीय कार्यसमितिमा दुई प्रदेशबाट प्रतिनिधित्व नै नहुनु विकेन्द्रकरणको असली अभ्यास भएको पाइएन । यसपल्ट मधेश र गण्डकी प्रदेशबाट एन्फामा प्रतिनिधित्व रहेन ।
एन्फा निर्वाचनमा वहालवाला अध्यक्ष कर्मा छिरिङ शेर्पा र पंकज विक्रम नेम्वाङ दुवैले प्यानल बनाएर चुनावमा होमिदा समावेशीता र भौगोलिक अवस्थालाई ख्याल गरेका थिएनन् ।
दुवै समूहले मधेश प्रदेशबाट पदाधिकारीमा उम्मेदवार उठाएनन् । मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्की (रौतहट), प्रविणकुमार यादव (सिरहा), तपेश्वर कुमार राउत कुर्मी (धनुषा) र मानदेव हजारा (बारा)ले एन्फा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । उनीहरु चारै जना पराजित रहे । हजारा राष्ट्रिय खेलकुद परिषको बोर्ड सदस्यसमेत हुन् ।
देशका ७७ मध्ये ४८ जिल्लामा एन्फामातहत जिल्ला संघ छन् । तीमध्ये मधेश प्रदेशका ८ वटै जिल्लामा संघ छ भने प्रदेशबाट मताधिकार संख्या पनि ८ नै छ । तर, केन्द्रीय कार्यसमितिमा भने प्रदेशको पहुँच शून्यमा झरेको छ ।

यस्तै गण्डकी प्रदेशबाट पनि एन्फामा प्रतिनिधित्व नील भएको छ । कर्मा प्यानलका उपाध्यक्षका उम्मेदवार रत्नकुमार श्रेष्ठ पराजित भए भने स्वतन्त्र उम्मेदवारी दिएका कास्कीका मिलन गुरुङ सदस्यमा पराजित भए । समान मत ल्याउने चार उम्मेदवारमध्ये लमजुङका लोकेन्द्र गुरुङ पनि छन् । एन्फाको अर्को साधारणसभाले निर्णय नगरुन्जेल कार्यसमितिमा उनको प्रतिनिधित्व रहेन ।
गण्डकी प्रदेशबाट रत्नकुमार श्रेष्ठ यसअघि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ८ जिल्ला संघबाट ६ मताधिकार प्रतिनिधि पाउने यो प्रदेश फुटबल संस्कारको हिसावमा पनि अन्य प्रदेशको तुलनामा अग्रणी मानिन्छ ।
यसपल्ट कर्णाली प्रदेशले भने बाजी मारेको छ । कर्णालीमा एन्फाका दुई जिल्ला संघ छन् । दुवै जिल्लाको प्रतिनिधित्व गरेका दुवै जनाले फरक प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सुर्खेत जिल्लाबाट रविन्द्र चन्द र जुम्लाबाट भरत बुढा थापा पहिलोपल्ट केन्द्रीय समितिमा पुगेका छन् । दुई जिल्ला फुटबल संघ रहेको सुदूरपश्चिमबाट अनिल मल्ल (कैलाली) केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
ए डिभिजन फुटबलका क्लबका शीर्ष टोलीहरु च्याम्पियन मछिन्द्र र मनाङ मस्र्याङदी क्लबका प्रतिनिधि केन्द्रीय सदस्यमा पराजित भएका छन् । मछिन्द्रका अनिल श्रेष्ठ र मनाङका मुखिया लामा फरक प्यानलबाट उम्मेदवार बनेका थिए ।
एन्फाको निर्वाचित कार्यसमिति
अध्यक्ष
पंकज विक्रम नेम्वाङ (झापा)
वरिष्ठ उपाध्यक्ष
वीरबहादुर खड्का (सिन्धुपाल्चोक)
उपाध्यक्ष
दावा लामा (सी डिभिजन)
दीपक खतिवडा (धादिङ)
विराटजंग शाही (काठमाडौं)
दीर्घबहादुर केसी (कुमार) (रुपन्देही)
महिला सदस्य
सरला श्रेष्ठ (महिला संघ)
पेमा डोल्मा लामा (महिला संघ)
खुला सदस्य
मनिष जोशी (श्रीभगवती क्लब)
अनिल मल्ल (कैलाली)
रविन्द्र चन्द (सुर्खेत)
विकासनारायण श्रेष्ठ (काभ्रे)
भोजराज शाही (बाँके)
महेन्द्र क्षेत्री (जावलाखेल युथ क्लब)
पुरुषोत्तम थापा (ललितपुर)
रमेश व्यन्जनकार (च्यासल युथ क्लब)
मणिराज विष्ट (खुमलटार युथ क्लब)
टिकाराम लामा (मकवानपुर)
भरत बुढा थापा (जुम्ला)
थप दुई सदस्य विषेश साधारण सभाबाट टुंगो लाग्ने
प्रतिक्रिया 4