५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले बुधबार राजीनामा दिए । उनी पछिल्लो तीन वर्षमा राजीनामा दिने तेस्रो विदेशी प्रशिक्षक हुन् ।
२०७८ मंसिरमा दोस्रो पटक नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका पुबुदुले विश्वकप विजेता डेभ वाटमोरको ठाउँ लिएका थिए । तर उनी मुस्किलले ९ महिना टिके । जबकी पहिलो कार्यकालमा झण्डै ५ वर्ष काम गरेका थिए ।
उनी अघि प्रशिक्षक रहेका वाटमोर वर्ष दिन पनि टिकेनन् । २०७७ मा एक वर्षका लागि प्रशिक्षक भएका उनी कार्यकाल पूरा नुहँदै नेपाली टिमबाट बिदा भए । त्यसअघि मुख्य प्रशिक्षक रहेका पटवालले पनि ८ महिनामै राजीनामा दिएका थिए ।
सन् २०१८ मा जिम्बावेमा भएको एकदिवशीय विश्वकप छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालले यो सफलता प्राप्त गर्दा नेपाली प्रशिक्षक जगत टमाटाले टिम सम्हालेका थिए । तर एकदिवशीय मान्यता जोगाउने र लिग टूमा अझ राम्रो प्रदर्शन गर्ने भनेर क्रिकेट संघले विदेशी प्रशिक्षक ल्याएको थियो ।
तर कुनै पनि प्रशिक्षक टिकेनन् ।
किन छाड्छन् प्रशिक्षकले ?
थुप्रै प्रतिकुलताका बाबजुद एकदिवशीय मान्यता पाएको नेपाली टिमबारे विश्व क्रिकेट जगतमा सकारात्मक धारणा छ । नेपाली खेलाडी मेहनती छन् । इतिहास पनि राम्रो भएको नेपाली टोलीलाई एउटा उचाइमा पुर्याउँदा आफ्नो करिअरलाई मद्दत गर्ने भएकाले प्रशिक्षकहरु नेपाल आउन चाहन्छन् । तर जब नेपाल आउँछन्, सोचे जस्तो पाउँदैनन् ।
खासगरी व्यवस्थापन पक्ष निकै कमजोर छ । घरेलु क्रिकेटको संरचना लगभग शून्य छ । अन्तर्राष्ट्रिय टूरको संख्या असाध्यै थोरै छ । एक्पोजरको अभावमा टिमले राम्रो प्रदर्शन गर्न सकेको छैन ।
पछिल्लो समय त खेलाडी छनोटमा समेत क्रिकेट बोर्डको आवश्यकता भन्दा बढी चासो देखिन थालेको छ । क्रिकेट संघले चार खेलाडीलाई कारबाही गरेपछि त क्रिकेट टिमलाई एकतावद्ध राख्न समेत नसक्ने अवस्था आएको छ ।
क्रिकेट टिमका एक अनुभवी सदस्य भन्छन्, ‘हरेक प्रशिक्षक अवसरको खोजीमा नेपाल आउँछन् । तर यहाँकोे अवस्था सोचे जस्तो पाउँदैनन्, नतिजा पनि त्यसअनुसार नआएपछि टिक्दैनन् । पछिल्ला राजीनामा पनि त्यही हो ।’
राष्ट्रिय टिमका पूर्व कप्तान एलबी क्षेत्री पनि क्रिकेट संघको फितलो व्यस्थापनका कारण विदेशी प्रशिक्षक बिदा मनाउन मात्रै नेपाल आए जस्तो देखिएको बताउँछन् । ‘पछिल्लो तीन वर्षमा ३ प्रशिक्षक आउनुभयो, जानुभयो । उहाँहरु यहाँ समय बिताउन र बिदा मनाउन आउनुभएको जस्तो देखियो,’ क्षेत्रीले भने, ‘हाम्रो फितलो व्यवस्थापन र दुरगामी सोच नहुँदाको परिणाम हो यो ।’
उनले अघि भने, नेपाली क्रिकेटमा जताततै समस्या छ । भौतिक पूर्वाधारमा समस्या छ । क्रिकेटको विकासमा भन्दा पनि आफ्नो समूह बनाउन काम धेरै भइरहेको छ ।’
नेपाली प्रशिक्षक जगत टमाटा पनि राष्ट्रिय टिममा काम गर्न सजिलो नभएको बताउँछन् । त्यसमाथि अहिलेको क्रिकेट साइकल झन चुनौतीपूर्ण रहेको भन्दै उनी भन्छन्, ‘मुख्य कुरा नतिजा नै हो । नतिजा नआएपछि स्वभाविक रुपमा प्रश्न उठ्छ ।’
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द भने व्यवस्थापकीय कमजोरी स्वीकार गर्दैनन् । उनले भने, ‘हामीले प्रशिक्षकका लागि वातावरण नबनाएको होइन ।’ बरु नतिजा राम्रो नआउँदा प्रशिक्षकहरु दबावमा परेको बताउँछन् उनी ।
उनका अनुसार प्रशिक्षक पुबुदुलाई पनि अमेरिका टूरमा राम्रो नतिजा नआएपछि सचेत गराइएको थियो । आईसीसीको वार्षिक साधारण सभामा सहभागी हुन बर्मिङ्घम पुगेका चन्दले अनलाइनखबरसँग टेलिफोनमा भने, ‘अमेरिका टुरमा अन्तिम खेल हारेपछि स्कटल्याण्डमा राम्रो नतिजा नआए पूनर्विचार गर्नुपर्छ भनेर भनेका थियौं । अहिले हामीले सेफल्याण्डिङ गराएका हौँ ।’
पहिलो पटक राम्रो काम गरेकाले पुबुदुलाई ल्याउनुपर्छ भन्ने सबैको सुझावका आधरमा प्रशिक्षक नियुक्त गरेको, तर नतिजा नआउँदा दबावमा परेको उनले बताए ।
अर्को प्रशिक्षक को ?
आईसीसीको वार्षिक साधारण सभामा हुन गएका क्यान अध्यक्ष चन्दसँगै सचिव प्रशान्त मल्ल १४ गते नेपाल फर्केन तय भएको छ । त्यसपछि मात्र नयाँ प्रशिक्षक नियुक्त प्रक्रिया अगाडि बढ्ने क्यानका जनरल म्यानेजर वृतान्त खनालले बताए ।
नेपालले आगामी सेप्टेम्बरमा लिग टूको अर्को श्रृखला खेल्नुपर्नेछ । त्यसका लागि छिट्टै प्रशिक्षक नियुक्त गर्नुपर्ने भएकाले खुला विज्ञापन गर्ने कि सिधै नियुक्ति गर्ने भन्ने अलमल क्रिकेट संघमा छ । क्यान अध्यक्ष चन्द भन्छन्, ‘विज्ञापन गरेर छनोट गर्ने वा सिधै नियुक्त गर्ने भन्ने विषयमा आइसीसीसँग छलफल गरेर निर्णय गर्छौँ ।’
नेपाली प्रशिक्षक टमाटा भने प्रशिक्षक नियुक्त गर्नुअघि नै सम्झौताबारे सोचविचार गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘प्रशिक्षकसँग सम्झौता गर्दा राम्रोसँग गर्नुपर्छ । जति समयका लागि काम गर्ने हो त्यति समयकै लागि गर्नुपर्छ ।’
पूर्व कप्तान क्षेत्री प्रशिक्षक नियुक्त गर्दा खेलाडीको मनोविज्ञान बुझनुपर्ने बताउँछन् । ‘कमीकमजोरी सुधार गर्नसक्ने र मनोबल उच्च राख्ने खालको हुनुपर्छ । हामीले दबाबमा कसरी खेल्ने भन्ने बुझाउन सक्नुपर्छ,’ उनी भन्छन् ।
प्रतिक्रिया 4