+

पल्सर स्पोर्ट्स अवार्डलाई एडिडासको पनि प्रायोजन

२०७९ फागुन  ४ गते १७:११ २०७९ फागुन ४ गते १७:११
पल्सर स्पोर्ट्स अवार्डलाई एडिडासको पनि प्रायोजन

४ फागुन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले १९ औं संस्करणको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७८ को लागि विश्व प्रसिद्ध स्पोर्ट्स ब्रान्ड एडिडाससँग सहकार्य गरेको छ ।

नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालि र मञ्चबीच बिहीबार यससम्बन्धी सम्झौता भएको छ । मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र रुट्स फेसनको तर्फबाट प्रबन्ध निर्देशक सञ्जिव तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एडिडासले हरेक वर्ष अवार्डमा १० लाख रुपैयाँ बराबरको सामग्री प्रदान गर्नेछ । एडिडासले यसअघि पनि स्पोर्ट्स अवार्डमा सहकार्य गरेको थियो ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड यही फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठनमा हँदै छ । अवार्डमा यसपटक वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्स जर्नालिस्ट अवार्ड गरी ९ विधा समावेश छ ।

जसमा पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

अवार्डको चर्चित विधा पिपल्स च्वाइस अवार्डको मनोनित खेलाडीहरू सार्वजनिक भइसकेका छन् । यस विधामा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा, भलिबलकी उषा भण्डारी मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीलाई समर्थकहरूले विद्युतीय भुक्तानीको सेवाप्रदायक कम्पनी ई–सेवामार्फत मतदान गर्न सक्नेछन् । त्यसको मतभार ५० प्रतिशत हुनेछ । त्यस्तै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेजमा गएर आफूलाई मनपर्ने खेलाडीको फोटोमा लाइक गरेर पनि मतदान गर्न सकिनेछ । यसको मतभार २५ प्रतिशत हुनेछ ।

त्यसबाहेक खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकहरूले पनि मतदान गर्नेछन् । खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकले गर्ने मतदानको मतभार समान १२.५ प्रतिशत हुनेछ । मनोनयनमा परेका खेलाडीलाई फागुन २१ गते राति १२ बजेसम्म मतदान गर्न सकिनेछ ।

उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडीको मनोनयन केही दिनमा सार्वजनिक हुने मञ्चले जनाएको छ ।

एडिडास स्पोर्ट्स अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय