+

युएईसँग घरेलु मैदानमै खेल्न दशरथ रंगशालामा दौडधुप

२०८१ वैशाख  २५ गते २०:३५ २०८१ वैशाख २५ गते २०:३५
युएईसँग घरेलु मैदानमै खेल्न दशरथ रंगशालामा दौडधुप

२५ वैशाख, काठमाडौं । दशरथ रंगशालाको खराब अवस्थाका कारण बहराइनसँग घरेलु मैदानमा खेल्न नपाएको नेपाल फेरि युएईसँगको खेल पनि गुमाउनुपर्ने स्थितिमा पुगेको छ ।

फिफा विश्वकप २०२६ तथा एसिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले २४ जेठमा युएईसँग घरेलु मैदानमा खेल खेल्ने तालिका छ ।

तर गत शुक्रबार एसियाली फुटबल महासंघ (एएफसी) का प्राविधिकले मैदानको हालको अवस्थालाई लिएर प्रश्न उठाएपछि सरोकारवाला निकाय मैदानको अवस्था सुधार्न युद्धस्तरमा काम गर्ने निष्कर्षमा पुगेका छन् ।

मंगलबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजबिक्रम नेम्वाङले दशरथ रंगशालाको निरीक्षण गरेका छन् ।

एएफसीका प्रतिनिधिले मैदानको पिच, फ्लडलाइट र सुरक्षामा प्रश्न उठाएपछि मन्त्री श्रेष्ठले यी विषयमा राखेपसँग पाँच दिनभित्र जवाफ मागेका छन् ।

२०७२ को भूकम्पपछि भत्किएको दशरथ रंगशाला ५ वर्षअघि १३ औं दक्षिण एसियाली खेलकुदअघि चयार भएको थियो । चीन सरकारको सहयोगमा बनेको रंगशालामा फ्लड लाइटका केही बल्बहरु जलेका छन्, जुन नेपालमा पाइदैन ।

चीन सरकारका प्राविधिकले राखेपका प्राविधिकलाई बाल्न र निभाउन मात्रै सिकाएर गएको हुँदा यसको मर्मतको विषय सबैभन्दा गहन विषय बनेको छ ।

राखेपका इलेक्ट्रिसियन हरिभक्त महर्जन भन्छन्, ‘हामीसँग यो कसरी मर्मत गर्ने यसको केही जानकारी छैन । १३ औं सागको बेला हामीलाई यो बाल्न र निभाउन मात्रै उहाँहरुले सिकाउनुभयो ।’

मैदानको पिच भने एक हप्ताभित्र सबै स्थानमा दुबो हुने गरी तयार पार्न सकिने राखेपको भनाइ छ । त्यस्तै मैदानको अवस्था हेरेर सुरक्षाको सुनिश्चितता पनि गर्न सकिने राखेप सदस्य सचिव घिसिङले बताए ।

गत महिना विश्वकप र एसिया कप छनोटमा बहराइनसँगको घरेलु मैदानमा खेल्नुपर्ने खेल मैदानको अवस्था खराब भएका कारण बहराइनमा नै खेल्नुपरेको थियो ।

त्यसपछि राखेपले दशरथ रंगशालाको सबै जिम्मा आफैं लिएर मर्मत सम्भार सुरु गरेको थियो । तर अहिले युएईसँगको खेल पनि नेपालको घरेलु मैदानमा नहुने खतरा बढेको छ ।

१० दिनभित्र तयार पार्न दौडधुप

युवा तथा खेलकुदमन्त्री श्रेष्ठले १० दिनभित्र रंगशाला तयार नभए जिम्मेवार निकायलाई कारबाही गर्ने बताए ।

‘पटक पटक यस्तो भइराख्ने त हुनुभएन नि । विधिको शासन हो । दण्डहीनताको त अन्त्य हुनुपर्‍यो नि त । नियमित खर्चमा बजेट गइरहेको छ । जनताको करले यत्रो निकाय बनाउने अनि खेल पनि नहुने भएपछि किन पालेर राख्ने त’, मन्त्री श्रेष्ठले भने ।

युएईसँगको खेल नेपालमा नै हुन्छ : एन्फा अध्यक्ष

एन्फा अध्यक्ष नेम्वाङले भने युएईसँगको घरेलु मैदानमा हुनुपर्ने खेल दशरथ रंगशालामा नै हुने बताएका छन् । हाल एएफसीले उठाएको सरोकारको समाधान गर्दै नेपालमै खेल हुने वातावरण बनाउने उनको भनाइ छ ।

‘नेपालमा नै खेल हुने सम्भावना अझै जीवित छ । हामी तीन पक्ष लागि परेका छौं । जुन ६ मा हुने यूएई र नेपालबीचको खेल दशरथ रंगशालामा नै हुन्छ । काम दु्रत गतिमा भएको छ । हामीले १० दिनभित्र एएफसीले दिएको काम हामीले पूरा गर्छौं’, उनले भने ।

नेपालले घरेलु मैदानमा प्रतियोगिता गर्न नसक्ने भए २५ वैशाख –मे महिनाको ७ तारेख) भित्र न्युट्रल भेन्यू रोज्नुपर्ने थियो । तर नेपालले न्युट्रल भेन्यू नभई १० दिनभित्र आफैं मैदान तयार गर्ने जानकारी एएफसीलाई दिएको अध्यक्ष नेम्वाङले बताए ।

एएफसीले माग गरेका केही कागजात राखेपसँग रहेको र आफूहरुले नपाएको उनले बताए । ‘हामीले परिषदसँग एएफसीले मागेको सर्टिफिकेटहरु मागेका थियौं हालसम्म पाएका छैनौं’, उनले भने ।

हेर्नुहोस् थप तस्वीर

दशरथ रंगशाला फुटबल
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय