+

क्लाइम्बिङ स्पोर्ट्समा भविष्य खोज्दै रोनक

२०८१ जेठ  ८ गते ८:३१ २०८१ जेठ ८ गते ८:३१
क्लाइम्बिङ स्पोर्ट्समा भविष्य खोज्दै रोनक

१४ वैशाख, काठमाडौं । रोनक उप्रेती क्लाइम्बिङ स्पोर्ट्समा सम्भावना बोकेका युवा हुन् । कुनैबेला फिजिकल फिटनेसका लागि क्लाइम्बिङ गर्ने उनी पछि त्यही क्षेत्रमा रमाउन थाले । अनि बनाए यसैलाई आफ्नो प्यासन ।

नेपालमा सन् २०१० (२०६८ सालमा) नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन (एनसीएसए) दर्ता भएपछि यो हिमाल चढ्ने मात्र नभएर खेलको रुपमा पनि अघि आयो । तर पछिल्लो समय क्लाइम्बिङ स्पोर्ट्समा नियमित गतिविधिहरु नहुँदा यो खेल क्षेत्रबाट टाढिएको देखिन्छ ।

त्यसका बावजुत पनि रोनक जस्ता युवाहरु भने आफ्नो प्यासन पूरा गर्न भएपनि क्लाइम्बिङ गर्छन् । उनीहरुले स्थानीयस्तरमा भएका क्लाइमिङ स्पोर्टसका प्रतियोगिताहरुमा भाग पनि लिएका छन् । तर पछिल्लो समय क्लाइम्बिङ स्पोर्ट्सको राष्ट्रिय प्रतियोगिता नहुँदा यो खेल ओझेलमा परेको जस्तो देखिन्छ ।

तर काठमाडौं नयाँबजारका २० वर्षिय रोनक भने यही क्षेत्रमा भविष्य खोजिरहेका छन् र यही खेलबाट कुन दिन नेपालको प्रतिनिधित गर्ने सपना बुनिरहेका छन् ।

यसरी आकर्षित भए क्लाइम्बिङमा

सानोमा रोनक शारीरिक रुपमा कमजोर थिए । उनी घरमै भिडियो गेमहरु खेलेर बस्थे । कक्षा १० मा पढ्दा एकदिन ठमेलको बाटो हिँडिरहेको बेला उनले पकनाजोलमा काठमाडौं स्पोर्टस क्लाइम्बिङ सेन्टर मान्छेहरु डोरीमा झुण्डिएको डोरी समातेर उक्लिरहेको देखे ।

सुरुमा उनलाई यो के हो किन यस्तो गरेको होला भनेर अचम्म लाग्यो । ‘मान्छेहरु झुण्डिएर देखेर मलाई अनौठो लाग्यो । त्यसपछि के रैछ म पनि एकपटक प्रयास गरौँ न त भन्ने लाग्यो’, सुरुको क्षणबारे रोनकले अनलाइनखबरसँग भने, ‘सबैभन्दा रमाइलो के भयो भने बडी मुभमेन्टमा चेन्ज आयो । मलाई मुभमेन्टहरु मन पर्‍यो । शरीर कसरी चलाउने भन्ने थाहा भयो । म एकदमै कमजोर मान्छे थिएँ । तर यसले मलाई फाइदा गर्‍यो ।’

सुरुमा उनले बिगिनर्सबाट क्लाइम गर्न थाले  । त्यसपछि घरमा दाइलाई क्लाइम्बिङबारे सुनाए । ‘दाइले सहयोग गर्नुभयो । एक वर्षको मेम्बरसिप लिइदिनुभयो । दशैँको बेला छुट पनि थियो । अनि मेरो जन्मदिनकमा क्लाइम्बिङकै जुत्ता गिफ्ट पनि दिनुभयो । त्यसपछि मलाई एकदमै सजिलो भयो अनि निरन्तर आउन थालेँ’, उनले भने ।

घरबाट नजिकै भएकाले पनि उनी बेलुका २ घण्टा गएर क्लाइम्बिङ गर्थे । त्यसको मुभमेन्टमा उनी खुबै रमाउँथे । उनको कमजोर शरीर पनि विस्तारै सुधार आउन थालेपछि घरबाट पनि उनलाई राम्रो साथ र सहयोग आइरह्यो ।

उनले सुरुमा उमेर समूहको यू-१५ च्याम्पियनसिपमा भाग लिए । त्यसमा पहिलो स्थान नै हात पारेपछि उनलाई यस खेलमा अझ रमाइलो लाग्न थाल्यो र रुचि बढ्यो ।

त्यसपछि उनले सिनियरहरु समेत भएका क्लाइम्बमान्डु खेले त्यसमा भने अन्तिम भए । उनले खेल्न सुरुमा गर्दा प्रनिल श्रेष्ठ, तेन्जिङ शेर्पाहरु पनि खेल्थे । पछि उनी अहिले तेन्जिङहरुसँगै प्रतिस्पर्धा गर्छन् । केही समयअघि केएसीसीले नै आयोजना गरेको ओपन लिड क्लाइम्बिङ प्रतियोगितामा उनी तेस्रो हुँदा तेन्जिङ पहिलो भएका थिए । ‘मैले सुरु गर्दा नै राम्रो गरेका हरुसँगै अहिले आफूले प्रतिस्पर्धा गर्दा राम्रो लाग्छ’, उनले भने ।

बीचमा उनले केएससीसीकै प्रनिलसँग पनि क्लाइम्बिङ बारे धेरै सिक्ने मौका पाए । केएससीसीले नै आयोजना गरेको बोल्डरिङ भोलुम वान टु र थ्री मै उनले सहभागी भए । भोलुम टु मा उनले जितेका थिए ।

रोनकको मुख्य विधा बोल्डरिङ हो । उनलाई यो विधा मन पर्छ । यस्तै पछिल्लो समयमा उनी स्पिडमा पनि राम्रो गरिरहेका छन् । ‘स्पिडमा अहिले म नेपालकै फास्टेस्ट नै हो । तर आधिकारिक प्रतियोगिता नहुँदा त्यो आधिकारिक रुपमा भने गणना छैन’, उनको दाबी छ ।  आधिकारिक प्रतियोगिता भएमा रोनक जस्ता खेलाडीहरुले वरियताका लागि अंक पाउँथे ।

रोनकले क्लाइम्बिङ गर्न थालेपछि आफ्नो शरीरमा पनि धेरै परिवर्तन पाएका छन् । अहिले उनी बलियो भएका छन् । ‘महलाई अहिले स्ट्रोङ महसुस हुन्छ । स्किनीबाट ट्रान्सफर्म भएर अहिले बलियो भाछु । पहिला पुस अप गर्न सक्थिन अहिले ४० गर्न सक्छ । पुल अ हरु राम्रोसँग गर्न सक्छु’, रोनकले भने, ‘मलाई केएसीसीले पनि धेरै सहयोग गरेको छ ।’

कुनै समय उनलाई अचम्म लाग्ने खेलमा अहिले आफैं खेलाडी बनेका छन् । त्यही केएसीसीको वालमा अहिले रोनकको फोटो राखिएको छ । त्यो देखेर रोनक आफैं दंग हुन्छन् । ‘मलाई स्पोनसरजस्तै गर्नुभाछ । विदेशीहरु आउँछन् मेरो फोटो देखेसी वाउ ! तिमी होइन भन्छन् एकदमै प्राउड लाग्छ’, उनले भने ।

रोनकले गत वर्ष पोखरामा भएको बोल्डर ब्लास्ट खुल्ला बोल्डरिङ प्रतियोगिताको उपाधि जितेका थिए । यस्तै केही समयअघि काठमाडौंमै भएको ओपन लिड क्लाइम्बिङमा उनी तेस्रो र स्व बाबुछिरि शेर्पा खुल्ला क्लाइम्बिङमा दोस्रो भएका थिए ।

बोल्डिरिङमा राम्रो गर्ने रोनकले पछिल्लो समय लिड विभामा पनि सुधार गरिरहेका छन् । यसमा पनि जित्ने उनको लक्ष्य छ ।

राष्ट्रिय प्रतियोगिता हुनुपर्छ

नेपाल क्लाइम्बिङ स्पोर्ट्सको संघ भएपनि पछिल्लो वर्षहरुमा प्रतियोगिताहरु हुन सकेको छैन । रोनकले अहिलेसम्म राष्ट्रिय प्रतियोगिता खेल्न पाएका छैनन् ।

राष्ट्रिय प्रतियोगिताहरु भए खेलाडीहरुको लागि फाइदा हुने र अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने बाटो खुल्ने रोनक बताउँछन् । ‘राष्ट्रिय प्रतियोगिता नभएको धेरै वर्ष भइसक्यो । लकडाउन पछि नेसनल च्याम्पियनसिप नै भाछैन । राष्ट्रिय प्रतियोगिता भयो भने नयाँ खेलाडीहरु आउँछन् । उनीहरु व्यस्त हुन्छ’, रोनक भन्छन्, ‘नेपालको नेशनल च्याम्पियनसिप आईएफएससी अनुसार भयो भने त्यो जितेर आफू वर्थी भन्ने प्रमाणित गर्न सकिन्छ ।’

रोनकले भविष्यमा नेपालको लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै पदक ल्याउने लक्ष्य राखेका छन् । ‘मेरो लक्ष्य भनेको नेपालको लागि खेलेर पदक ल्याउने हो । तर त्यसका लागि संघले सरकारले स्पोनसरहरुले यो खेललाई सहयोग गर्नुपर्छ । मुख्य कुरा प्रतियोगिता हुनुपर्‍यो अनी बाहिर खेल्न जाने वातावरण हुनुपर्‍यो’, उनले भने ।

यो वर्ष संघले प्रतियोगिताहरु गराउने प्रयास गरिरहेको भन्दै रोनक आशावादी छन् । उनले भने,‘प्रतियोगिताहरु नहुँदा खेलाडीहरु यो क्षेत्र छाड्ने, विदेश जाने, हिमाल चढ्न जाने र कोही विदेश समेत गएका छन् ।’

रौनक अहिले युरोपमै खेल्न जान नसकेपनि एसियामा हुने प्रतियोगितामा जान पहल गर्नुपर्ने बताए । केही समयअघि उनी आफ्नै खर्चमा टाटा च्याम्पियनसिपमा सहभागी हुन भारत गएका थिए । यस्तै उनीसहित ५ जनाको टोलीले सिंगापुरमा गएर ट्रेनिङ गरेको थियो ।

‘विदेशीहरु नेपालमै क्लाइम्बिङ राम्रो छ यहाँ किन आको भन्छन् । तर हाम्रोमा विडम्बना भएको अवसरलाई पनि सदुपयोग गर्न सकेको छैन’,  रोनकले भने । अहिले भारतले पनि क्लाइम्बिङ स्पोर्ट्समा धेरै राम्रो गरिसकेको उनले बताए ।

आफ्नै क्लाइम्बिङ सेन्टर खोल्ने सपना

रोनक भर्खर २० वर्षका भए । तर उनले सपना भने ठूलो देखेका छन् । राष्ट्रका लागि खेलेर पदक जित्ने उनको पहिलो लक्ष्य त छँदैछ । त्यसबाहेक उनलाई आउटडोर क्लाइम्बिङ पनि गर्न मन पर्छ ।

‘आउटडोरको पनि नेपालमा राम्रो स्कोप छ । यसमा प्रतिस्पर्धा नभएपनि र क्लाइम्बिङ रुट बनायो भने विदेशी क्लाइम्बरहरुलाई समेत एनकरेज गर्न सकिन्छ’, उनले भने, ‘नेपालमा जति धेरै एक्सप्लोर भयो उति नै नेपाली क्लाइमबरहरुलाई फाइदा हुन्छ ।’

रोनकलाई भविष्यमा आफ्नै क्लाइम्बिङ सेन्टर खोल्ने सपना पनि छ । हाल इसलिङ्गटन कलेजमा बीबीए दोस्रो वर्षमा अध्ययन गरिरहेका उनले पढाइ सकिएपछि विदेश जाने र त्यसपछि नेपालमै क्लाइम्बिङमा केही गर्ने सोच राखेका छन् ।

‘मैले भविष्य नै क्लाइम्बिङमै सोचिराछु । यसलाई लङ टर्मको रुपमा हेरेको छु । पछि बाहिर गएर क्लाइम्बिङ ट्रेनिङ गर्ने अनि नेपाल आएर क्लाइम्बिङ सेन्टर खोल्न मन छ’, उनले भने, ‘राम्रो वाल प्रोपर फ्यासिलिटी भएको बनाउने । हामीले जस्तो समस्या अरुले भोग्न नपरोस् ।’

के हो स्पोर्ट्स क्लाइम्बिङ

क्लाइम्बिङ भन्ने बित्तिकै नेपालमा भीरपहरा (रक) चढ्ने भन्ने बुझिन्छ । तर क्लाइम्बिङ खेल पनि हो । पछिल्लो समय स्पोर्ट्स क्लाइम्बिङ एसियन गेम्स र ओलम्पिकमा समावेश भएको खेल हो ।

२०१८ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्स र २०२० को टोकियो ओलम्पिकमा क्लाइम्बिङ स्पोर्ट्स समावेश थियो । इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा त नेपालबाट दुई खेलाडी पेम्बा शेर्पा र प्रनिलमान श्रेष्ठले प्रतिस्पर्धा समेत गरेका थिए ।

तर चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा क्लाइम्बिङ स्पोर्ट्स समावेश भएपनि नेपालले भाग लिएन । अहिले फ्रान्समा हुने पेरिस ओलम्पिकमा पनि यो खेल समावेश छ ।

क्लाइम्बिङमा लिड, स्पीड र बोल्डरिङ गरी तीन विधा हुन्छ । लिडमा १५ मिटरको वाल चढ्नुपर्छ । यसमा ६ मिनेटको टाइम लिमिट हुन्छ । त्यस भित्र वाल चढिसक्नुपर्छ । जो माथिसम्म पुग्छ उही विजेता हुन्छ ।

यस्तै स्पिडमा १५ मिटरको वाल सबैभन्दा छिटो चढ्नुपर्छ । जसले छिटो चढ्छ उही विजेता हुन्छ । बोल्डिरिङ ४ मिटरको उचाई हुन्छ । तर यसमा विभिन्न समस्याहरु पार गरन्पर्छ । थोरै प्रयासमा जसले धेरै समस्याहरु समाधान गर्छ उही विजेता बन्छ ।

क्लाइम्बिङ स्पोर्ट्स रोनक उप्रेती
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय