+
फिफा विश्वकप २०२६ :

रोनाल्डो भर्सेस् मोड्रिच : विश्वकप इतिहासकै पहिलो र अन्तिम ‘महाभिडन्त’

२०८३ असार  १८ गते १५:०९ २०८३ असार १८ गते १५:०९

रियल मड्रिडमा सँगै बिताएका सफल वर्षहरूका बाबजुद विश्वकपको २-दशक लामो इतिहासमा रोनाल्डो र मोड्रिच पहिलो र अन्तिम पटक मैदानमा एक-अर्काविरुद्ध भिड्दै छन् ।

१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा आज राति फुटबल इतिहासका दुई लिजेन्डहरू- क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिच आमनेसामने हुँदैछन् ।

युरोपेली फुटबलका यी दुई पावरहाउसबीचको खेल केवल प्रि-क्वार्टरफाइनलको यात्रा मात्र नभएर अन्तर्राष्ट्रिय फुटबलमा दुई भेट्रान स्टारहरूको विरासत जोगाउने लडाइँ समेत हो ।

समूह चरणमा कंगो र कोलम्बियासँग बराबरी तथा उज्बेकिस्तानमाथि जित निकाल्दै आएको पोर्चुगल अझै पनि आफ्नो लयको खोजीमा छ । रोबर्टो मार्टिनेजको टोलीसँग विश्वस्तरीय प्रतिभा भए पनि टोलीले अपेक्षाअनुसार सङ्गठित प्रदर्शन गर्न सकेको छैन ।

अर्कोतर्फ, इंग्ल्यान्डसँग पराजित भए पनि पानामा र घानालाई हराउँदै नकआउटमा स्थान बनाएको क्रोएसिया आफ्नो बलियो इच्छाशक्ति र मिडफिल्डको अनुभवका आधारमा पोर्चुगललाई स्तब्ध पार्ने दाउमा छ ।

सन् २००६ को विश्वकपदेखि आ-आफ्नो देशको जर्सीमा विश्वकप खेल्न सुरु गरेका दुई सुपरस्टार रोनाल्डो र मोड्रिच विगत दुई दशकदेखि विश्व फुटबलको शीर्ष स्थानमा छन् ।

रोचक तथ्य के छ भने, लामो अन्तर्राष्ट्रिय करियर र रियल मड्रिडमा सँगै बिताएका सफल वर्षहरूका बाबजुद विश्वकपको २-दशक लामो इतिहासमा रोनाल्डो र मोड्रिच पहिलो र अन्तिम पटक मैदानमा एक-अर्काविरुद्ध भिड्दै छन् ।

यसअघि सन् २०१८ र २०२२ को विश्वकपमा क्रोएसियालाई क्रमश: फाइनल र सेमिफाइनलसम्म पुर्‍याएर ‘विश्वकपका सर्वकालीन उत्कृष्ट मिडफिल्डर’ मध्ये एक बनेका मोड्रिच र पाँच फरक विश्वकपमा गोल गर्ने एक्लो कीर्तिमानी खेलाडी रोनाल्डोका लागि यो खेल अन्तर्राष्ट्रिय मञ्चको अन्तिम र सबैभन्दा ठुलो परीक्षा हुनेछ ।

यी सबै कुराहरूका बीच एउटा तीतो सत्य के छ भने पहिलो उपाधिको खोजीमा रहेका यी दुई लेजेन्डमध्ये एकको यात्रा यहीँ सकिने‍छ ।

रियल मड्रिडबाट सँगै खेल्दा रोनाल्डो र मोड्रिच

हेड टु हेड

इतिहास पोर्चुगलको पक्षमा बलियो देखिन्छ। यी दुई टोलीबीच भएका १० भिडन्तहरूमा पोर्चुगलले वर्चस्व जमाउँदै आएको छ । पोर्चुगलले ७ खेल जित्दा क्रोएसियाले २ खेल जितेको छ भने १ खेल बराबरीमा सकिएको छ ।

विश्वकपको इतिहासमा पोर्चुगल र क्रोएसिया पहिलो पटक आमनेसामने हुन लागेका हुन् । यसअघि उनीहरूले विश्वकप मञ्चमा कहिल्यै प्रतिस्पर्धा गरेका थिएनन् ।

टिम न्युज

पोर्चुगलको टोलीमा कुनै ठुलो चोटको समस्या देखिएको छैन । क्रिस्टियानो रोनाल्डोले नै अग्रपङ्क्तिको नेतृत्व गर्नेछन् भने ब्रुनो फर्नान्डेज र राफायल लिओले उनलाई साथ दिनेछन् ।

‘हाम्रो टोलीसँग असाधारण क्षमता छ, तर नकआउट चरणमा गल्तीको कुनै ठाउँ हुँदैन । क्रोएसियासँग निकै अनुभवी खेलाडी छन्, हामीले डिफेन्स र अट्याकमा सन्तुलन मिलाउनु पर्छ’ पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले भनेका छन् ।

क्रोएसियाको टोलीमा पनि चोटको समस्या छैन । कप्तान लुका मोड्रिच र माटेओ कोभासिचको जोडी मिडफिल्डमा नायक बन्नेछन् । तर ९० मिनेटसम्म उच्च गति कायम राख्नु उनीहरूका लागि मुख्य चुनौती हुनेछ ।

‘हामीले गाह्रो बाटो तय गरेर यहाँसम्म आइपुगेका हौं । पोर्चुगल बलियो छ तर दबाबमा कसरी खेल्ने भन्ने हामीलाई राम्रोसँग थाहा छ’ क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले भनेका छन् ।

सम्भावित सुरुआती ११

पोर्चुगल : डियोगो कोस्टा (गोलकिपर), जोआओ कान्सेलो, रुबेन डियास, रेनाटो भेइगा, नुनो मेन्डिस, भिटिन्हा, रुबेन नेभेस, ब्रुनो फर्नान्डेज, जोआओ फेलिक्स, राफेल लेआओ, क्रिस्टियानो रोनाल्डो

क्रोएसिया : डोमिनिक लिभाकोभिच (गोलकिपर), जोसिप स्टानिचिच, जोसिप सुटालो, मारिन पोन्ग्राचिच, जोस्को ग्वार्डिओल, लुका मोड्रिच, माटेओ कोभाचिच, निकोला भ्लासिच, पेटार सुचिच, इभान पेरिसिच, आन्टे बुदिमिर

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय