१८ असार, काठमाडौं । जापानमा आयोजना हुने २०औं एसियन गेम्समा नेपालले २३ खेलमा सहभागिता जनाउने भएको छ । प्रतियोगितामा करिब १४० नेपाली खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले जानकारी दिए ।
विश्व खेलकुद पत्रकार दिवस २०२६ को अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार आयोजना गरेको ‘रोड टु आइची–नागोया २०२६’ कार्यक्रममा बोल्दै मेहताले केही प्राविधिक काम बाँकी रहे पनि नेपालले करिब २३ खेलमा सहभागिता जनाउने लगभग टुंगो लागेको बताए ।
उनले एसियन गेम्समा दोहोरो अंक (डबल डिजिट) मा पदक जित्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै अब खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणमा पठाउने तयारी भइरहेको बताए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पनि ‘मिसन २६’ को अवधारणाअनुसार एसियन गेम्सको तयारी अघि बढाउनु सकारात्मक भएको बताए ।
सदस्य–सचिव मेहताका अनुसार सरकारले एसियन गेम्स तयारीका लागि २ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै प्रतियोगितामा सहभागिताका लागि थप ११ करोड २० लाख रुपैयाँ छुट्याइएको उनले जानकारी दिए ।
नेपालले एसियन गेम्समा कराते, महिला कबड्डी, कुस्ती, उसु, पुरुष क्रिकेट, एथलेटिक्स, जुडो, महिला भलिबल, तेक्वान्दो, ब्याडमिन्टन, ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स, साइक्लिङ, ई–स्पोर्ट्स, गल्फ, राफ्टिङ एन्ड क्यानोइङ, पौडी, स्क्वास, सफ्ट टेनिस, स्केट तथा स्केटबोर्डिङ, टेबल टेनिस, आर्चरी, बक्सिङ र टेनिस गरी २३ खेलमा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया 4