फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत बिहीबार लस एन्जलसमा हुने रोमाञ्चक खेलमा पूर्व विजेता स्पेन र अस्ट्रिया आमनेसामने हुँदैछन् । यस खेलमा स्पेन बलियो टोलीको रूपमा मैदान उत्रने भए तापनि अस्ट्रियालाई कम आँक्ने गल्ती उसले गर्ने छैन ।
सन् २०१० को विश्वकप विजेता स्पेनले पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरीको स्तब्धकारी नतिजा बेहोरे पनि उत्कृष्ट पुनरागमन गर्यो । साउदी अरेबिया विरुद्धको ४–० को शानदार जितमा सुपरस्टार लामिन यामालले १ गोल र १ असिस्ट गर्दै टोलीको लय फर्काए ।
त्यसपछि स्पेनले उरुग्वेलाई १–० को कठिन संघर्षमा पराजित गर्दै ७ अङ्कका साथ समूह ‘एच’ को विजेता बनेर नकआउटमा स्थान बनाएको हो ।
अर्कोतर्फ, अस्ट्रियाको नकआउट सम्मको यात्रा उतारचढावले भरिएको छ। समूह ‘जे’ को पहिलो खेलमा जोर्डनलाई ३–१ ले हराएको अस्ट्रिया दोस्रो खेलमा लियोनेल मेसीको अर्जेन्टिनासँग २–० ले पराजित भयो ।
समूह चरणको अन्तिम खेलमा अल्जेरिया विरुद्ध इन्जुरी समयको अन्तिम मिनेटमा सासा कालाइजिचले गोल गर्दै ३–३ को बराबरीका साथ अस्ट्रियालाई नाटकीय रूपमा नकआउटमा पुर्याएका हुन् ।
यस खेलको विजेताले ६ जुलाईमा डलास स्टेडियममा हुने राउन्ड अफ १६ को खेलमा पोर्चुगल वा क्रोएसियाको सामना गर्नेछ ।
ऐतिहासिक रूपमा, एक बलियो टोली भए तापनि स्पेनले विगत १६ वर्षदेखि विश्वकपको नकआउट चरणमा कुनै पनि खेल जित्न सकेको छैन । पछिल्ला दुवै संस्करणमा स्पेन अन्तिम १६ बाटै बाहिरिएको थियो ।
उसले नकआउट चरणमा दर्ता गरेको अन्तिम जित भनेकै सन् २०१० को फाइनलमा नेदरल्यान्ड्स विरुद्धको १–० को ऐतिहासिक जित हो । वर्तमान युरोपेली च्याम्पियन स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टे आफ्नो युवा स्टार लामिन यामाल पूर्ण रूपमा फिट भएर सुरुवाती ११ मा फर्कने आशमा छन् ।
यसका साथै पछिल्ला ३३ खेलमा अपराजित रहेको ऐतिहासिक लयले पनि स्पेनको मनोबल उच्च बनाएको छ । तर, मुख्य प्रशिक्षक राल्फ राङ्गनिकको अस्ट्रियाली टोलीको डिफेन्स चिन्ताको विषय हो, किनकि उनीहरूले समूह चरणमै ६ गोल खाइसकेका छन् ।
हेड-टु-हेड
स्पेन र अस्ट्रिया हालसम्म १६ पटक आमनेसामने भएका छन् । जहाँ स्पेनले ९ जित निकाल्दा अस्ट्रियाले ४ खेल जितेको छ भने ३ खेल बराबरीमा सकिएका छन् ।
विश्वकपको इतिहासमा यी दुई टोलीबिच यसअघि सन् १९७८ को अर्जेन्टिना विश्वकपमा मात्र भेट भएको थियो । ब्यूनस आयर्समा भएको उक्त समूह चरणको खेलमा अस्ट्रियाले स्पेनलाई २–१ ले पराजित गरेको थियो ।
पहिलो हाफमा अस्ट्रियाका वाल्टर शाख्नर र स्पेनका ड्यानीले १-१ गोल गरेपछि खेलको ७५औं मिनेटमा हान्स क्रान्कलले निर्णायक गोल गर्दै अस्ट्रियालाई जित दिलाएका थिए ।
टिम न्युज
स्पेनका निको विलियम्स र येरेमी पिनो यस खेलका लागि उपलब्ध हुने छैनन् । दुवै चोटका कारण यस खेलबाट बाहिरिएका छन् । भिक्टर मुनोज पनि खेल्ने नखेल्ने द्विविधा छ ।
यता अस्ट्रियाको भने चोट र खेलाडी उपलब्ध नहुनेबारे हालसम्म भने केही जानकारी आएको छैन ।
अस्ट्रियाका कप्तान डेभिड अलाबाले भनेका छन्, ‘हामीलाई थाहा छ हामी कस्तो टोलीविरुद्ध खेल्दैछौं । स्पेनसँग उच्च गुणस्तरका खेलाडीहरू छन् जसले एक्लै खेलको नतिजा बदल्न सक्छन् । तर हामी डराउने छैनौं । हामीलाई हाम्रो क्षमता थाहा छ र मैदानमा शतप्रतिशत दियौं भने हामी उनीहरूलाई हराउन सक्छौं ।’
स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले अस्ट्रिया आक्रामक टोली भएको र हल्कामा नलिने बताएका छन् । ‘अस्ट्रिया अत्यन्तै आक्रामक, दृढ र बलियो हाइ-प्रेसिङ खेल्ने टोली हो । यो खेल मैदानका हरेक क्षेत्रमा वान-अन-वान भिडन्त जस्तै हुनेछ । हाम्रा खेलाडीहरूको प्रतिभाका साथ हामी बिस्तारै आफ्नो सर्वश्रेष्ठ फुटबल प्रदर्शन गर्नेछौं’ उनले भने ।
सम्भावित सुरुवाती ११
स्पेन : उनाई सिमोन (गोलकिपर); पेड्रो पोरो, पाउ कुबार्सी, अयाम्रिक लापोर्टे, मार्क कुकुरेला; रोड्री, पेड्री; लामिन यमाल, डानी ओल्मो, एलेक्स बाएना; मिकेल ओयार्जाबाल
अस्ट्रिया : अलेक्जेन्डर श्लागर (गोलकिपर); स्टेफान पोश, फिलिप लिनहार्ट, डेभिड अलाबा, कोनराड लाइमर; निकोलस साइवाल्ड, जाभर श्लागर; रोमानो श्मिड, मार्को अर्नाउटोभिच, माइकल साबिट्जर; सासा कालाइजिच
***
खेल : स्पेन भर्सेस् अस्ट्रिया, राउन्ड अफ ३२
मिति र समय : १९ असार, बिहान १२:४५
स्थान : लस एन्जलस स्टेडियम
प्रत्यक्ष प्रसारण : हिमालय स्पोर्ट्स
प्रतिक्रिया 4