+
फिफा विश्वकप २०२६ :

फिफा विश्वकपमा पहिलोपटक भिड्दै स्विट्जरल्यान्ड र अल्जेरिया

२०८३ असार  १८ गते १७:२६ २०८३ असार १८ गते १७:२६

१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत भोलि बिहान क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस रङ्गशालामा दुई फरक महादेशीय शैलीको रोचक भिडन्त हुँदैछ ।

समूह ‘बी’ मा आयोजक क्यानडा र बोस्नियालाई हराउँदै ७ अङ्कसहित शीर्ष स्थान बनाएको युरोपेली पावरहाउस स्विट्जरल्यान्ड उत्कृष्ट लयमा छ ।

अर्कोतर्फ, समूह ‘जे’ को अन्तिम खेलमा अस्ट्रियासँग ३-३ को रोमाञ्चक बराबरी खेल्दै उत्कृष्ट तेस्रो टोलीका रूपमा आएको अफ्रिकन राष्ट्र अल्जेरिया जुनसुकै बलियो टोलीलाई स्तब्ध पार्ने क्षमता राख्दछ ।

यो खेलको अर्को रोमाञ्चक र भावनात्मक पक्ष के छ भने, अल्जेरियाका वर्तमान मुख्य प्रशिक्षक भ्लादिमिर पेटकोभिचले यसअघि ७ वर्ष (सन् २०१४ देखि २०२१) सम्म स्विट्जरल्यान्डको राष्ट्रिय टोली सम्हालेका थिए ।

उनकै नेतृत्वमा स्विट्जरल्यान्डले युरो २०२० मा फ्रान्सलाई नकआउट गर्दै क्वार्टरफाइनलसम्मको ऐतिहासिक यात्रा तय गरेको थियो । आज तिनै पेटकोभिच आफ्नै पुराना खेलाडीहरू ग्रानिट जाका, म्यानुएल अकान्जी र ब्रील एम्बोलोविरुद्ध मैदानमा रणनीति बुनिरहेका हुनेछन् ।

हेड टु हेड

अन्तर्राष्ट्रिय फुटबल इतिहासमा यी दुई टोलीबीच यसअघि मैत्रीपूर्ण खेलहरू मात्र भएका छन् । जसमा दुवै टोलीले १–१ खेल जितेका छन् ।

फिफा विश्वकपको मञ्चमा स्विट्जरल्यान्ड र अल्जेरिया पहिलो पटक आमनेसामने हुन लागेका हुन् । स्विट्जरल्यान्ड लगातार चौथो पटक विश्वकपको अन्तिम १६ मा पुग्ने इतिहास रच्ने दाउमा छ भने अल्जेरिया सन् २०१४ पछि पहिलो पटक विश्वकपको नकआउट खेल जित्न मैदान उत्रनेछ ।

टिम न्युज

मुख्य प्रशिक्षक मुरात याकिनको स्वीस टोलीमा कुनै नयाँ चोटको समस्या छैन । समूह चरणमा तहल्का मच्चाएका १८ वर्षीय युवा सनसनी जोहान मन्जाम्बीले सुरुवाती ११ मा मौका पाउने बलियो सम्भावना छ, जसले कप्तान ग्रानिट जाका र ब्रील एम्बोलोसँग मिलेर आक्रामक मोर्चा सम्हाल्नेछन् ।

‘हाम्रो टोली सही दिशामा छ। पेटकोभिचले स्विस फुटबललाई राम्रोसँग बुझ्नुभएको छ, तर मैदानभित्र भावनात्मक सम्बन्ध चल्दैन। हाम्रो लक्ष्य केवल क्वार्टरफाइनल हो’ प्रशिक्षक याकिनले भनेका छन् ।

चोटको समस्या नदेखिएको अल्जेरियाका लागि कप्तान रियाद महरेज र अमिन गुइरीको लय निकै महत्त्वपूर्ण हुनेछ । डिफेन्समा अलि कमजोरी देखिए पनि काउन्टर-अट्याकमा टोली निकै घातक छ।

‘स्विट्जरल्यान्ड मेरो लागि घर जस्तै हो, त्यहाँ मेरा धेरै पुराना साथीहरू छन्। तर आज म अल्जेरियाको जर्सीमा छु र हामी इतिहास रच्नका लागि मैदान उत्रनेछौँ’ प्रशिक्षक भ्लादिमिर पेटकोभिचले भनेका छन् ।

सम्भावित सुरुवाती ११

स्विट्जरल्यान्ड : ग्रेगर कोबेल (गोलकिपर), लुका जाकेज, म्यानुएल अकान्जी, रिकार्डो रोड्रिगेज, निको एल्भेडी, रेमो फ्रुलर, ग्रानिट जाका (कप्तान),जिब्रिल सो, जोहान मन्जाम्बी, रुबेन भार्गास, ब्रिल एम्बोलो

अल्जेरिया : लुका जिदान (गोलकिपर), रामी बेन्सेबाइनी, एइसा म्यान्डी, राफिक बेलघाली, रायन एइत-नोरी, इब्राहिम माजा, हिचाम बौदाउइ, हुसेम अउआर, रियाद माहरेज (कप्तान), अमिन गुइरी, फारेस चाइबी

***

खेल : स्विट्जरल्यान्ड भर्सेस् अल्जेरिया
मिति र समय : १९ असार, बिहान ८:४५
स्थान : बीसी प्लेस, भ्यानकुभर
प्रत्यक्ष प्रसारण : हिमालय स्पोर्ट्स

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय