+

चेल्सीको नयाँ प्रशिक्षक को ?

२०८१ जेठ  ९ गते १५:५७ २०८१ जेठ ९ गते १५:५७
चेल्सीको नयाँ प्रशिक्षक को ?

९ जेठ, काठमाडौं । इंग्लिस क्लब चेल्सी फेरि नयाँ प्रशिक्षकको खोजीमा जुटेको छ । माउरिसो पोचेटिनोले एक सिजनमै क्लब छाडेपछि चेल्सी नयाँ प्रशिक्षकको खोजीमा जुटेको हो ।

सिजनको पहिलो हाफमा नै पोचेटिनो दबावमा परेका थिए, तर अन्तिममा ५ खेलमा लगातार जित निकालेर छैटौं स्थानमा लिग टुंग्याएको छ ।

५२ वर्षीय अर्जेन्टिनी प्रशिक्षकले १ जुलाइमा दुई वर्षे सम्झौता गरेका थिए, जसमा १२ महिना थप गर्ने विकल्प पनि थियो ।

पोचेटिनो पाँच वर्षमा चेल्सीका छैटौं स्थायी प्रशिक्षक थिए । थोमस टुचेल र ग्राहम पोर्टरको बर्खास्तीपछि २०२२–२०२३ को सिजनमा फ्राङ्क लाम्पार्ड अन्तरिम प्रशिक्षक बनेका थिए ।

अब चेल्सीले युवा प्रशिक्षकलाई ल्याउने सम्भावना छ । बीबीसीका अनुसार इपस्वीच म्यानेजर किरन म्याकेना, स्पोर्टिङ एफसीका रुबेन एमोरिम र बर्नलीका भिन्सेन्ट कम्पनीमध्ये एकलाई चेल्सीले रोज्न सक्छ ।

३८ वर्षीय म्याकेनाले इपस्वीचलाई २१ वर्षपछि प्रिमियर लिगमा बढुवा गराएका छन् ।

पोर्चुगिज एमोरिमले १९ वर्षपछि क्लबलाई सन् २०२१ को लिग उपाधि दिलाएका थिए । उनी यो सिजन लिभरपुल आउने सम्भावना पनि थियो ।

भिन्सेन्ट कम्पनीको प्रशिक्षणमा गत सिजन बर्नली प्रिमियर लिगमा बढुवा भएको थियो । यद्यपि उनले क्लबलाई लिगमा टिकाइराख्न सकेनन् र यो सिजन फेरि रेलिगेसनमा परेको छ । यद्यपि उनको छविमा ठूलो धक्का लागेको छैन ।

जर्मन क्लब बायर्न म्युनिखले समेत उनीप्रति रुची देखाएको छ ।

यसबाहेक जर्मनीका पूर्व प्रशिक्षक ह्यान्सी फ्लिक, जुलियन नागेल्सम्यान, चेल्सीकै पूर्व प्रशिक्षकद्वय टुचेल र जोजे माउरिन्होलाई पनि सम्भावित उम्मेदवार हुन् ।

ब्राइटन छाडेका रोबर्टो डे जेर्बी चेल्सी जाने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । ४४ वर्षीय इटालियनको प्रशिक्षणमा रहेको ब्राइटनले शीर्ष ६ मा परेर युरोपा कप खेल्ने सम्भावना देखिएको थियो । तर नवौं स्थानमा रहेर लिग टुंग्याएपछि जेरबीले अप्रत्यासित रुपमा क्लब छाडेको घोषणा गरेका थिए ।

इंग्लिस चेल्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय