+

कप्तान रोहित भन्छन् : हरेक खेल विनिङ मेन्टालिटीसहित खेल्छौं

२०८० असार  २८ गते ११:२३ २०८० असार २८ गते ११:२३
कप्तान रोहित भन्छन् : हरेक खेल विनिङ मेन्टालिटीसहित खेल्छौं

२८ असार, काठमाडौं । एसियाका ८ राष्ट्रका इमर्जिङ टिम सहभागी एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा सुरु भएको छ । एसियाका पाँच टेष्ट राष्ट्रसहित ८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाले आफ्नो पहिलो खेल भने भोलि शुक्रबार पाकिस्तान ए सँग खेल्ने छ ।

पाँच टेष्ट राष्ट्रका ए टिम सहभागी हुने यो प्रतियोगितामा युएई र ओमानले पनि युवा खेलाडीलाई अवसर दिन आफ्नो ए टिम नै श्रीलंका पठाएका छन् । नेपाल मात्रै आफ्नो सिनियर टिम खेलाउने एक्लो राष्ट्र बनेको छ ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल समूह बी मा दुई बलिया टोली भारत र पाकिस्तानको ए टिमसँगै खेल्ने छ । यो समूहको अर्को टोली यूएई हो ।

प्रतियोगिताअघिको प्रि म्याच कन्फेरेन्समा नेपालका कप्तान पौडेलले इमर्जिङ टिम्स कप नेपाली खेलाडीको लागि राम्रो अवसर भएको बताए ।

उनले भने, ‘हामीसँग सिमित अवसर छ । त्यसैले नेपाली क्रिकेट विकास र खेलाडीको विकासको लागि यो प्रतियोगितामा राम्रो अवसर हुनेछ ।’

उनले इमर्जिङ कपलाई एसिया कपको तयारीको रुपमा समेत हेरेको बताए । ‘यो प्रतियोगिता हाम्रो लागि एसिया कपको बिल्ड अप हो । एसिया कपको लागि राम्रो तयारी हुनेछ ।’

नेपालले अगष्ट-सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामै हुने एसिया कपमा समूह चरणमा भारत र पाकिस्तानसँग खेल्दैछ । त्यसका लागि इमर्जिङ टिम्स कपको अनुभव काम लाग्ने नेपाली टोलीको विश्वास छ ।

एसिया कपका लागि राम्रो तयारी होस् भनेर नै नेपालले सिनियर टिमलाई नै इमर्जिङ टिम्स कप खेल्न पठाएको छ ।

जिम्बाव्वेमा क्रिकेट विश्वकप छनोट खेलेको टिममा केही अनुभवी खेलाडीलाई आराम दिँदै नेपालले ५ परिवर्तन गरेको छ । ज्ञानेन्द्र मल्ल र करण केसीलाई क्यानले आराम दिएको जनाएको छ । आरिफ शेखले पारिवारिक कारण नाम फिर्ता लिएका थिए भने दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने ग्लोबल टी-२० लिग खेल्न जाने तयारीमा छन् । उनीहरुको स्थानमा युवा खेलाडीहरुले अवसर पाएका छन् ।

पवन सर्राफ, सन्दिप जोरा र देव खनाल, श्याम ढकाल र सूर्य तामाङ इमर्जिङ कप खेल्ने टिममा समावेश छन् ।

कप्तान रोहितले इमर्जिङ कपमा हरेक खेल जित्नकै लागि खेल्ने बताए । ‘हामी हरेक खेल जितको मानसिकतासहित खेल्नेछौँ र हरेक खेल जित्नकै लागि खेल्नेछौँ ।’

नेपालले आफ्नो पहिलो खेल शुक्रबार पाकिस्तान ए सँग खेल्नेछ । यस्तै दवस्रो खेल भारत ए सँग जुलाई १७ र तेस्रो खेल युएई ए सँग जुलाई १९ मा खेल्नेछ ।

प्रतियोगिताको पहिलो दिन घरेलु टोली श्रीलंका ए र बंगलादेश ए तथा अफगानिस्तान ए र ओमान ए बीच खेल सुरु भएको छ ।

इमर्जिङ टिम्स कप नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय