+

२३ औं आहारारा पोखरा गोल्डकपको तयारी पूरा, विजेताले १२ लाख पाउने

२०८० माघ  ७ गते १२:१० २०८० माघ ७ गते १२:१०
२३ औं आहारारा पोखरा गोल्डकपको तयारी पूरा, विजेताले १२ लाख पाउने

७ माघ, पोखरा । मोफसलकै चर्चित ‘आहारारा पोखरा’ गोल्डकपको २३ औं संस्करणको तयारी पूरा भएको छ ।

माघ ९ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूर भएको आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा १२ टिमले सहभागी जनाउँदैछन् । प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागी हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।

यसअघि आहारारा पोखरा गोल्डकपमा भारतीय लिगको सातौं स्थानमा रहेको दिल्ली एफसी सहभागी हुने बताइएको थियो । तर, दिल्लीले अन्तिम समयमा आउन नसक्ने बताएपछि विभागीय टिम एपीएफ भित्रिएको हो ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा पुरस्कार तथा प्रोत्साहनमै २८ लाख ३२ हजार ५५५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै आयोजकले प्रत्येक खेलखेलवापत अतिरिक्त प्रोत्साहन रकम पनि दिँदै आएको छ । जसअनुरुप प्रि–क्वाटर विजेता र पराजित दुवै टिमले समान २० हजार रुपैयाँका दरले पाउनेछन् ।

क्वार्टरफाइनलमा विजेता र पराजित दुवै टिमले समान ३० हजार रुपैयाँ र सेमिफाइनलमा विजेता र पराजित दुवै टिमले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिए ।

विद्यार्थीलाई प्रवेश निशुल्क, प्रत्येक दिन २ जना दर्शक पुरस्कृत हुने

२३ औं संस्करणको आहारारा पोखरा गोल्डकप हेर्न आउने विद्यार्थीहरुलाई क्वार्टरफाइनलसम्म निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक सहाराका अध्यक्ष केवशराज बरालले जानकारी दिए ।

विद्यार्थीहरुले निशुल्क प्रवेश पाउन विद्यालयले आयोजकसँग समन्वय गर्नुपर्नेछ भने अनिवार्य विद्यार्थी पोशाकमा उपस्थित हुनुपर्नेछ ।

त्यस्तै, आयोजकले प्रत्येक दिन २ जना दर्शकलाई पुरस्कृत पनि गर्ने भएको छ । प्रत्येक दिन गोलाप्रथाबाट चुनिएका २ जना दर्शकलाई ५/५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

उद्घाटन खेलमा आयोजक र थ्रीस्टार भिड्ने

२३ औं संस्करणको उद्घाटन खेल आयोजक सहारा क्लब र थ्रीस्टारबीच हुने भएको छ । माघ ९ गते पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे खेल सुरु हुनेछ ।

आहाराराको २३ औं संस्करणसम्म आइपुग्दा थ्रीस्टार क्लबले ५ पटक उपाधि जितेको छ भने आयोजक सहाराले एकपटकमात्रै जितेको छ । यसअघि आयोजक सहाराले १२ औं आहारारा गोल्डकपमा मनाङमस्र्याङ्दीलाई फाइनलमा १–० ले हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

त्यसअघि आयोजक सहारा र थ्रीस्टार दुवै टिम २०६९ को ११ औं आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेका थिए । त्यसबेला थ्रीस्टारले सहारालाई १–०ले हराएको थियो । नकआउट आधारमा हुने प्रतियोगिताको समूह चरणमा दुवै टिम पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।

आयोजक सहाराले अघिल्ल्लो संस्करणदेखि प्रतियोगिताको नाम परिवर्तन गरेको हो । लामो समय आहारारा गोल्डकपका नामबाट भएको प्रतियोगिता २२ औं संस्करणदेखि ‘आहारारा पोखरा गोल्डकप’ बनेको हो ।

आहारारा पोखरा गोल्डकपको पहिलो संस्करण ०५८ सालमा क्याराभान कपको नामबाट भएको थियो । अघिल्लो संस्करण संकटा क्लबले जितेको थियो भने आमन्त्रित विदेशी टिम भुट्निज युथ स्पोर्टस् क्लब, मिनोसोटा अमेरिका उपविजेता बनेको थियो ।

आहारारा गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय