+

प्रकाश स्मृति भलिबलमा हेटौंडा र माडीको विजयी सुरुआत

२०८१ वैशाख  २२ गते २२:५४ २०८१ वैशाख २२ गते २२:५४
प्रकाश स्मृति भलिबलमा हेटौंडा र माडीको विजयी सुरुआत

२२ बैशाख, काठमाडौं । हेटौडा उपमहानगरपालिका र माडी नगरपालिकाले प्रथम प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । शनिवार सुरु भएको प्रतियोगितामा हेटौडाले आयोजक महांकाल गाउँपालिकालाई २५–२०,१९–२५,१५–७ ले हराएको हो । अर्को खेलमा माडीले बेथानचोक गाउँपालिकालाई २५–२१,२२–२५,१६–१४ ले हरायो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ले शनिवार प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल  ललितपुर चापाँगाउ देखि लेले टिका भैरव हुँदै महांकाल गाउँपालिका जाने सडकको स्तर उन्नतिको लागि आगामी नीति तथा कार्यक्रममा नै सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले महाकांल गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणाका लागि प्रदेश सरकारसँग समन्वय गरेर पहल सुरु गरिने पनि बताए ।

उद्घाटन समारोहमा बोल्दै आयोजक कमिटीकी संयोजक डोल्मामाया गोलले प्रतियोगिताले नेपाली भलिबलको विकासमा टेवा पुग्नुको साथै महांकांल क्षेत्रको पर्यटकीय विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । संयोजक गोलले राज्यले चासो दिए सो क्षेत्रमा कृषि क्षेत्रमा समेत महत्त्वपूर्ण फड्को मार्न सक्ने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री दाहालका छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिता २५ वैशाखसम्म हुने छ । प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ । विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ । साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।

प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाँल माविको प्राङ्गणमा जारी छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा भइरहेको छ । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई स्थान पाउने टोली क्वाटरफाइनलमा प्रवेश गर्ने राष्ट्रिय रेफ्री श्रीराम बोगटीले जानकारी दिए ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहेको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति सह आयोजक रहेको छ ।

प्रकाश दाहाल स्मृति भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय