+

ओलम्पिकमा छनोट भएका श्यान्टु पुरस्कृत

२०८१ जेठ  १३ गते ८:३२ २०८१ जेठ १३ गते ८:३२
ओलम्पिकमा छनोट भएका श्यान्टु पुरस्कृत

१३ जेठ, काठमाडौं । खेलप्रेमी सुमन खड्गीले पेरिस ओलम्पिक– २०२४ का लागि छनोट भएका टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठलाई शनिबार १ लाख रुपैयाँ नगदसहित पुरस्कृत गरेका छन् ।

खुशिबुँस्थित स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीमा आयोजित कार्यक्रममा खगड्गीले श्यान्टुलाई पूर्व घोषित रकम बराबरको चेक हस्तान्तरण गरे ।

गत वैशाख ३१ देखि जेठ २ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा पेरिस ओलम्पिकका लागि भएको दक्षिण एसियाली टेबलटेनिस छनोट प्रतियोगिताको पुरुषमा पहिलो हुँदै श्यान्टु छनोट भएका थिए । इतिहास रच्ने क्रममा श्यान्टुले नेपालकै संयोग कपालीलाई फाइनलमा ४–३ ले पराजित गरेका थिए ।

खड्गीले नेपाल पुरुष/महिला दुवैमा छनोट हुन सके समान १–१ लाख नगद पुरस्कार प्रोत्साहन स्वरुप प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । ५ राष्ट्रको सहभागिता रहेको उक्त प्रतियोगिताबाट समान १–१ पुरुष/महिला खेलाडी छनोट हुने प्रावधान थियो ।

टेबलटेनिसमा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने श्यान्टु पहिलो नेपाली टेबलटेनिस खेलाडी हुन् । नेपाली टेबलटेनिसकै इतिहासमा श्यान्टुअघि कुनैपनि नेपाली खेलाडीले ओलम्पिक खेलेका छैनन् ।

यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गर्दै ओलम्पिक खेलेका थिए । श्यान्टु विशेष प्रशिक्षणका लागि आइतबार अस्ट्रेलिया प्रस्थान गर्ने बताइएको छ ।

ओलम्पिक श्यान्टु पुरस्कृत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय