+
+

स्वर्णिम सपना छुन दौडिरहेकी सन्तोषी

सन् २०१९ मंसिरमा नेपालमै भएको १३औं दक्षिण एशियाली खेलकुदमा १० हजार मिटरमा स्वर्ण जितेपछि उनको करिअरले अझ गति लियो । अहिले उनले ओलम्पिक सपना पूरा गर्दैछिन्, जुन उनका लागि ‘मोक्ष गन्तव्य’ हो ।

नमिता दाहाल नमिता दाहाल
२०८१ जेठ २९ गते ८:१२

२९ जेठ, काठमाडौं । धाविका सन्तोषी श्रेष्ठ प्रशिक्षक रघु वन्तलाई सोधिरहन्थिन्– गुरु, म चाहिं कहिले ओलम्पियन हुने होला ?

सन् १९८० मा मस्कोमा भएको ओलम्पिक खेलेका वन्त सहज जवाफ दिन्थे, भइहाल्छ्यौ नि !

जवाफले सन्तोषी थप हैरानीमा पर्थिन् । हरेक खेलाडीको सपना हुन्छ, ओलम्पिक खेल्ने । त्यसमा पनि नेपाली खेलाडीका लागि त ओलम्पिकको कल्पना नै स्वर्णिम हुन्छ ।

सन्तोषीका लागि पनि ओलम्पिक स्वर्णिम सपना थियो । एक पटकको ओलम्पियन, सधैंको लागि ओलम्पियन भन्ने लाइनले पनि उनलाई निकै छोएको थियो ।

‘मेरा लागि ओलम्पिक सम्भावना भन्दा निकै बाहिरको कुरा हो कि जस्तो लाग्थ्यो’ सन्तोषी भन्छिन्, ‘सपना देख्न त कसैले नि रोक्दैन नि ! ओलम्पिक खेल्ने सपना सबैले देख्नुपर्छ ।’

पछिल्लो चार वर्षदेखि सन्तोषीको त्यही सपनाका लागि तयार पारिरहेका प्रशिक्षक रघु वन्त उनलाई सम्झाइरहन्थे, ‘ओलम्पिक खेल्न राम्रो मिहिनेत गरेर मात्रै हुँदैन, संघबाट सिफारिस हुनुपर्छ, ओलम्पिक कमिटीबाट छानिनुपर्छ, सबै मिल्नुपर्छ ।’

 

यो पटक सबै मिल्यो । राष्ट्रियस्तरमा लगातार राम्रो प्रदर्शन गरिरहेकी सन्तोषीले अन्तर्राष्ट्रिय स्तरमै स्वर्ण जितिन् । त्यही प्रदर्शनका बलमा नेपाल एथ्लेटिक संघले ओलम्पिकको युनिभर्सालिटी कोटाका लागि उनको नाम सिफारिस ग¥यो ।

युनिभर्सालिटी कोटा ओलम्पिकमा राखिएको यस्तो विधा हो, जसमा छनोट चरण पार गरेर ओलम्पिकमा पुग्न नसक्ने देशका खेललाई अवसर दिने गरिन्छ । यसका लागि एथ्लेटिक्स संघले नाम दिएर मात्र पुग्दैनथ्यो, नेपाल ओलम्पिक कमिटी, एथ्लेटिक्सको अन्तर्राष्ट्रिय संघ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट पनि अनुमोदन हुनुपर्ने थियो । सन्तोषीको नाम सबैतिरबाट अनुमोदन भयो ।

नेपालबाट पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह, ब्याडमिन्टनका प्रिन्स दाहालसँगै एथ्लेटिक्सकी सन्तोषी युनिभर्सालिटी कोटामा ओलम्पिकमा छनोट भइन् । टेबल टेनिसका स्यान्टु श्रेष्ठले दक्षिण एशियाली छनोट चरण पार गरेर ओलम्पिकमा स्थान बनाइकेका थिए ।

युनिभर्सालिटी कोटाबाट आफू पनि ओलम्पिकमा छनोट भएको सुन्दा सुरुमा त सन्तोषीलाई विश्वास नै लागेन । ‘पहिला त नाम मात्रै गए हुन्थ्यो जस्तो लाग्थ्यो । नाम गएको थाहा पाएपछि कन्फर्म भए हुन्थ्यो जस्तो लाग्थ्यो’ सन्तोषीले आफ्नो अनुभव सुनाइन्, ‘कन्फर्म भयो भनेपछि बारम्बार चेक गरिरहन मन लाग्ने हुनेरहेछ ।’

ओलम्पिक ‘मोक्ष गन्तव्य’

३० वर्षकी सन्तोषी नेपाली एथ्लेटिक्सकी गोल्डेन गर्ल भनेर चिनिन्छिन् । धादिङमा जन्मिएकी उनले दौड प्रतियोगितामा भाग लिन थालेको १७/१८ वर्ष भयो । उनले पहिलो पटक कक्षा ६ मा पढ्दा विद्यालयस्तरको दौडमा भाग लिन पाइन् । विद्यालय शिक्षा पूरा गरेपछि पनि खेललाई निरन्तरता दिएकी उनले ५ हजार र १० हजार मिटरका दौडमा भाग लिन थालिन् । सन् २०१९ मंसिरमा नेपालमै भएको १३औं दक्षिण एशियाली खेलकुदमा १० हजार मिटरमा स्वर्ण जितेपछि उनको करिअरले अझ गति लियो ।

सन् २०२२ मा हाफ म्याराथनमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइन् । त्यो बेला उनले विश्व एथ्लेटिक्समा प्रतिष्ठित एजेन्सी ग्लोबल स्पोर्टस् कम्युनिकेसन्सको सहयोगमा इलिट एथ्लिटको ग्रुपमा रहेर खेलेकी थिइन् । म्याराथनमा भने २०२३ मा डेब्यु मात्र गरिनन्, पहिलो सहभागितामा नै बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जितिन् ।

त्यसकै बलमा उनले ओलम्पिक सपना पूरा गर्दैछिन्, जुन उनका लागि ‘मोक्ष गन्तव्य’ हो ।

 

पेरिस ओलम्पिक आगामी अगष्टमा हुनेछ । र, सन्तोषी नेपालको एथ्लेटिक्सको इतिहासमा ओलम्पिक म्याराथन (४२.१९५ किलोमिटर) दौडने दोस्रो महिला धाविका बन्नेछिन् ।

सन् १९६४ मा पहिलो पटक भुपेन्द्र्र सिलवाल र गंगा थापाको जोडीले ओलम्पिक खेलेका थिए भने कान्छीमाया कोजु २००४ मा ओलम्पिकमा दौडिएकी थिइन् । ओलम्पिकमा सन्तोषीको आफ्नै लक्ष्य छ ।

पोल्टामा पदक पर्ला नपर्ला आफ्नो ठाउँमा छ, तर उनी नेपाल फर्कंदा आउँदो पुस्तालाई प्रेरणाको स्रोत र हौसलाको पोको बोकेर फर्किने प्रयासमा हुनेछिन् । ‘अहिले नै यो मेडल भनेर त भन्न सक्दिनँ, तर मभन्दा पछाडि ओलम्पिक खेल्ने सम्पूर्ण नेपालीका लागि मेडल जित्न सक्छु, अझै राम्रो गर्न सक्छु भन्ने एउटा उदाहरणीय व्यक्ति चाहिं बोकेर आउन पाए हुन्थ्यो भन्ने छ ।’

प्रशिक्षक रघु वन्तले पनि सन्तोषीलाई पेरिस ओलम्पिक २०२४ का लागि २ घण्टा ३३ देखि ३५ मिनेटको समयको लक्ष्य दिएर प्रशिक्षण गराइरहेका छन् । ‘ओलम्पिकमा पदक लिएर पोडियममा उभिन्छौं त भन्न सकिंदैन’ प्रशिक्षक वन्तले भने, ‘नेपालका लागि २ घण्टा ४० मिनेटको रेकर्ड तोड्न सकेका छैनौं, हामीले यो पटक २ घण्टा ३३ देखि ३५ मिनेटको लक्ष्य राखेका छौं ।’

उनका अनुुसार सन्तोषी राष्ट्रियस्तरका अरू खेलाडीभन्दा निकै अगाडि छिन् । ‘हामीले एसियन गेम्समा पनि पदकको आश गरेका थियौं । भाग्यले साथ दिएर इन्जुरी बल्झियो’ वन्तले भने, ‘यो लक्ष्य पार गरेको खण्डमा पछाडिको पुस्तालाई ठूलो हौसला हुनेछ । उनी यस क्षेत्रको लिडर बन्न सक्छिन् ।’

वन्तको प्रशिक्षणमा रहेकी सन्तोषीले ट्रयाकका लागि हरेक शुक्रबार दशरथ रंगशालाको सेन्थेटिक ट्रयाकमा अभ्यास गर्छिन् भने लङ रन रस पेस (लामो दौड) को लागि बूढानीलकण्ठदेखि भक्तपुर पुगेर खाली सडकमा दौडने गर्छिन् ।

सन्तोषीसँग दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद दुवैको अनुभव छ । उनी दक्षिण एसियाली खेलकुदमा १० हजार मिटरमा स्वर्ण जित्ने पहिलो नेपाली महिला धावक हुन् । उनले चीनमा सम्पन्न भएको १९औं एसियन गेममा पनि सहभागिता जनाइन् । तर चोटका कारण सोचे जस्तो प्रदर्शन गर्न सकिनन् ।

हालसम्मका अनुभव उनका ओलम्पिकका सारथि हुन् । ‘मेरा लागि सबै अनुभव उत्तिकै प्रिय छन्’ सन्तोषीले अनलाइनखबरसँग भनिन्, ‘मैले जति अवसर पाउनुपर्ने हो, त्यति पाएको छैन । मैले एउटा दक्षिण एसियाली र एउटा एसियाली मात्रै खेलेको हो । जति अनुभव छ, त्यसलाई उपयोग गर्नेछु ।’

ओलम्पियन गुरुको ओलम्पियन चेला

७४ वर्षीय रघु वन्त नेपाली एथ्लेटिक्सका भेट्रान खेलाडी हुन् । सन् १९८० मा मस्को ओलम्पिकमा नेपालबाट दौडिएका उनले थुप्रैलाई ओलम्पिकका लागि तयार पार्न भूमिका खेले ।

प्रशिक्षक रघु वन्तसँग सन्तोषी ।

अहिले सन्तोषीलाई ओलम्पिकका लागि तयार गरिरहेका छन् । ‘मैले मेरो जीवन खेलकुदमा बिताएँ । तर मेरो लागि यो भन्दा खुसीको क्षण अर्को छ जस्तो लाग्दैन । आफैं ओलम्पिक गएको क्षणभन्दा पनि खुसी छु’, यसोभन्दा उनका आँखा रसाए ।

ओलम्पिकको तयारीमा रहेकी सन्तोषी पनि ओलम्पियन गुरुको ओलम्पियन चेला हुन पाएकोमा खुसी छिन् । उनी भन्छिन्, ‘यसै पनि ओलम्पियन हुनु निकै ठूलो कुरा हो, झन् अब ओलम्पियन गुरुको ओलम्पियन चेला हुनुकै कथा हुनेछ ।’

तस्वीरहरू र भिडियो : चन्द्रबहादुर आले ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?