+
+
Shares

अर्नी भान्साघरमार्फत रैथाने उत्पादनलाई प्रवर्द्धन गर्दै उमेश बोहोरा

उमेशले जुम्ला, मुस्ताङ, कालिकोट, रसुवा, प्युठानलगायतका जिल्लाहरूबाट अर्गानिक स्याउ, पिठो, मह, र घिउ ल्याएर बेच्छन् । टिमले किसानहरूसँग प्रत्यक्ष समन्वय गरेर बिचौलिया बिना सामान ल्याउँछ, जसले किसानहरूलाई राम्रो मूल्य प्राप्त हुन्छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ कात्तिक ५ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उमेश बोहोराले वैदेशिक अनुभवपछि नेपाल फर्केर रैथाने उत्पादन प्रवर्द्धन गर्दै सामाजिक कार्यमा सक्रियता देखाएका छन्।
  • कोभिड–१९ लकडाउनमा उमेशको टिमले काठमाडौंमा १५०० जनासम्मलाई खाना, खाद्यान्न र अक्सिजन सिलिन्डर वितरण गरेको छ।
  • उमेशले जुम्ला, मुस्ताङ, रसुवा लगायतका जिल्लाबाट अर्गानिक उत्पादन ल्याएर किसानलाई उचित मूल्य दिलाउन सहयोग गरिरहेका छन्।

५ कात्तिक, काठमाडौं । सुदूरपश्चिमको बैतडी जिल्ला, सिगास गाउँपालिका–४ हो उमेश बोहोराको स्थायी घर । उनी रैथाने उत्पादनलाई प्रवर्द्धन गर्ने स्थानीय व्यवसायी हुन् । साथै समाज सेवामा पनि सक्रिय छन् । विकट गाउँमा जन्मिएका उनी काठमाडौं हुँदै विदेशसम्मको कठिन यात्रा, र त्यसपछि पुनः मातृभूमिमा फर्किएर समाजको हितका लागि समर्पित छन् ।

उमेशको बाल्यकाल गाउँमै बित्यो । जेपालमा २०५० को दशक माओवादीले सुरु गरेको सशस्त्र संघर्षले प्रभाववित थियो । यही कारण उनको पढाइ पूरा हुन पाएन । संकटकालको त्रास र पटक-पटक स्कूल बन्द भइरहने समस्याले गर्दा कक्षा ८ पढ्दा पढ्दै छाडेर उनी काठमाडौं आए । तर पछि गाउँ फर्केर उनले एसएलसी पास गरे ।

त्यसपछि काठमाडौंको रत्नराज्य क्याम्पसमा पत्रकारिता विषयमा भर्ना भए । त्यस समयमा आन्दोलन र अस्थिरताले उनको प्लस टुको पढाइ प्रभावित भयो, तर उनले जसोतसो प्लस टुको पढाइ पूरा गरे ।

काठमाडौंमा रहँदा अध्ययनसँगै सानो व्यवसाय पनि थाले । उनले इन्टरनेट र टेलिफोन सेवा सहितको साइबर कम्युनिकेशन पसल सञ्चालन गरे, जुन त्यस समय निकै लोकप्रिय थियो । यो व्यवसाय दुई वर्षसम्म चलाएपछि नयाँ अवसरको खोजी गर्दै वैदेशिक रोजगारीको बाटो रोजे ।

विदेशको अनुभव

सन् २००९ मा उमेशको वैदेशिए । उनी पहिलो पटक भिजिट भिसामा दुबई गए, जहाँ २ महिना बिताए । काम नपाएपछि नेपाल फर्किए । पछि दुबई हुँदै अफगानिस्तान पुगे । अफगानिस्तानमा उनले युएस आर्मी र नेटो सैनिकहरूका लागि खाना पकाउने काम गरे ।

यो काम निकै चुनौतीपूर्ण थियो, जहाँ उनको टिमले एक पटकमा ५ हजार जनालाई खाना तयार गर्नुपर्थ्यो । साढे तीन वर्षको यो अनुभवले उनलाई आर्थिक र व्यावसायिक दृष्टिकोणले सबल बनायो ।

त्यसपछि उमेशले दुबई र कतारमा पनि क्याटरिङ क्षेत्रमा काम गरे । दुबईमा उनले इमिरेट्स फ्लाइट क्याटरिङमा काम गरे, जहाँ विमानका लागि खाना तयार पारिन्थ्यो । यी अनुभवहरूले उनलाई खाद्य सुरक्षा र व्यवस्थापनमा विशेषज्ञता हासिल गर्न मद्दत गर्‍यो।

पोल्ट्री फार्मको असफल प्रयास

विदेशमा केही वर्ष बिताएपछि उमेश नेपाल फर्किए र पोखरामा पोल्ट्री फार्म सञ्चालन गर्न थाले । लकडाउन हुनुभन्दा तीन–चार महिनाअघि फार्ममा उनले २,५०० कुखुरा पालेर आफैं रेखदेख गरे । उनी बिहान ३–४ बजे उठेर कुखुराको हेरचाह गर्थे, कुखुरा पनि राम्रै भएरहेको थियो तर, एक्कासी कुखुराहरूलाई अज्ञात रोग लाग्यो ।

उमेशले व्यक्तिगत रूपमा ‘अर्नी भान्साघर’ सुरू गरे, जुन रैथाने अन्न र उत्पादनको प्रवर्द्धनमा केन्द्रित छ ।

जसको कारण पत्ता लगाउन सकिएन । रोगका कारण दिनहुँ ५–७ बोरा कुखुरा मरे । सप्लायरले मरेका कुखुरा उठाउन नमानेपछि उमेशले पोल्ट्री फार्म छोड्नुपर्‍यो । त्यो समय उनले ठूलो आर्थिक घाटा बेहोरे तर हिम्मत हारेनन् । यो असफलतापछि उनी काठमाडौं फर्किए, र ठ्याक्कै त्यही समयमा लकडाउन सुरू भयो ।

सामाजिक कार्यमा योगदान

उमेशको सामाजिक कार्यप्रतिको रुचि सानै उमेरदेखि थियो । स्कूलमा पढ्दा पनि उनले सहपाठीहरूलाई सानो–सानो सहयोग गर्थे । यो भावना वैदेशिक रोजगारीमा रहँदा पनि कायम रह्यो । त्यसपछि उनले आफ्नो कमाइको केही हिस्सा सामाजिक कार्यमा छुट्याउँथे । नेपालमा आवश्यक पर्ने व्यक्तिहरुलाई सहयोग गर्थे ।

सन् २०१९ को कोभिड–१९ लकडाउनको समयमा उमेशले ‘हाम्रो टिम नेपाल’ मार्फत सामाजिक कार्यमा सक्रिय सहभागिता जनाए । लकडाउनको पहिलो चरणमा उनको टिमले काठमाडौंको खुलामञ्च लगायत विभिन्न स्थानमा खाना वितरण गर्‍यो । सुरुमा ५००–७०० जनालाई खाना वितरण गरेर सुरू भएको यो अभियान पछि १,५०० जनासम्म पुग्यो । उनीहरूले धेरै परिवारलाई खाद्यान्न, ग्यास, र तरकारी पनि वितरण गरे ।

दोस्रो लकडाउनमा उनीहरूले अक्सिजन सिलिन्डर वितरण गरेर अस्पतालहरूलाई सहयोग पुर्याए । यो अभियानमा अभिनेता पल शाह लगायत अन्य व्यक्तिहरू पनि जोडिए । लकडाउनपछि पनि उमेशले राहत र सहयोग अभियान जारी राखे ।

बाढी–पहिरो, आगलागी, र अन्य विपद्का समयमा सहयोग गरिरहे । जाजरकोटको भूकम्पमा उनले १५ दिन बसेर राहत सामग्री वितरण गरे ।

मानव सेवा आश्रम र अन्य संस्थाहरूसँग समन्वय गरी उनले विभिन्न जिल्लामा सहयोग पुर्याए । हालैको जेएनजी आन्दोलनमा पनि उनले बनेश्वर र सिभिल अस्पतालमा पानी, म्याट्रिक्स, र खाद्यान्न वितरण गरे ।

उमेशको सहानुभूति मानिसमा मात्र सीमित छैन । लकडाउनको समयमा उनले सडक कुकुरहरूलाई खाना वितरण गरे । साथै, उनले समयसमयमा बाँदर लगायत अन्य जनावरहरुलाई पनि खाना खुवाउने गर्छन् ।

अर्नी भान्साघर र रैथाने उत्पादन

लकडाउनको समयमा उमेशले साथीहरूसँग मिलेर अनामनगरमा ६५ रुपैयाँमा शुद्ध शाकाहारी खाना उपलब्ध गराउने रेस्टुरेन्ट सुरू गरे, जुन ‘हाम्रो टिम नेपाल’को पहल थियो । दोस्रो लकडाउनपछि यो रेस्टुरेन्ट बन्द भयो । त्यसपछि उमेशले व्यक्तिगत रूपमा ‘अर्नी भान्साघर’ सुरू गरे, जुन रैथाने अन्न र उत्पादनको प्रवर्द्धनमा केन्द्रित छ ।

यहाँ कोदो, मकै, फापर, र जौबाट बनेका परिकारहरू जस्तै कोदोको रोटी, मम, र ढिँडो सस्तो मूल्यमा उपलब्ध छन् । उदाहरणका लागि, कोदोको रोटी ६० रुपैयाँमा पाइन्छ, जुन स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

भूकम्प, बाढी, पहिरोलगायत अन्य विपतको बेलामा सहयोगको लागि नेपालको दुर्गम गाउँहरूमा पुग्दा उमेशले त्याहाँका रैथाने उत्पादनहरूको बारेमा जानकारी पाए । त्यहाँको कतिपय उत्पादनले बजार नपाएको देखेपछि उनले त्यसलाई काठमाडौँ ल्याएर बेच्नेबारे सोचे ।

उमेशले जुम्ला, मुस्ताङ, कालिकोट, रसुवा, प्युठानलगायतका जिल्लाहरूबाट अर्गानिक स्याउ, पिठो, मह, र घिउ ल्याएर बेच्छन् । उनको टिमले किसानहरूसँग प्रत्यक्ष समन्वय गरेर बिचौलिया बिना सामान ल्याउँछ, जसले किसानहरूलाई राम्रो मूल्य प्राप्त हुन्छ । उमेशले बौद्धको उत्पला फार्मर्स मार्केटमा पनि यी सामानहरू बेच्छन् ।

स्थानीय उत्पादनको प्रवर्द्धन

उमेश गाउँ–गाउँमा पुगेर किसानहरूलाई प्रोत्साहन गर्छन् । उनले जुम्लाको स्याउ, प्युठानको मह, रसुवाको घिउ, र काठको घारको दुर्लभ मह काठमाडौंमा ल्याएर बेच्छन् । उनको टिमले किसानहरूलाई बीउ र मल उपलब्ध गराएर पनि सहयोग गर्छ । उनी बेलाबेला नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा पुगेर किसानहरूलाई प्रोत्साहन गर्छन् र उनीहरूको उत्पादनलाई बजारसम्म पुर्‍याउँछन् ।

उनी सामाजिक कार्य र रैथाने उत्पादनको प्रवर्द्धनलाई निरन्तरता दिन चाहन्छन् । उनको लक्ष्य गाउँमा उत्पादन हुने सामानलाई शहरमा ल्याएर बेच्ने र किसानहरूलाई उचित मूल्य दिलाउने हो । उनको यो प्रयासले स्थानीय किसानहरूलाई आत्मनिर्भर बनाउन र नेपालको रैथाने उत्पादनलाई प्रवद्र्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?