७ कात्तिक, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह –बालेन), हामी नेपालका संयोजक सुदन गुरुङ लगायतविरुद्ध परेको जाहेरी तामेलीमा परेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंमा गत २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको घटनालाई लिएर परेका जाहेरीहरू तामेलीमा राख्ने निर्णय भएको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।
‘तत्काल प्राप्त प्रमाणहरूका आधारमा अनुसन्धान गर्दा तत्काल जाहेरी अघि बढाउनुपर्ने नदेखिएपछि पछिल्ला यी सबै जाहेरीहरू तामेलीमा राखिएको छ,’ उच्च स्रोतले भन्यो ।
ओली र लेखकविरुद्ध हामी नेपालका संयोजक सुदनसहितको उपस्थितिमा जाहेरी दिइएको थियो । उक्त जाहेरी सुरुमा प्रहरीले जाँचबुझ आयोगमा पठाएको थियो भने पछि पुन: प्रहरी कार्यालयमै फिर्ता भएको थियो ।
स्रोतका अनुसार, सरकारी वकिल कार्यालयसमेतको सल्लाहमा ती जाहेरीहरू तामेलीमा राख्ने निर्णय भएको हो ।
बालेन र गुरुङविरुद्ध भने नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले जाहेरी दिएको थियो ।
उक्त जाहेरीहरू प्रहरीले बुझेको भए पनि दर्ता भने भएको थिएन ।
प्रतिक्रिया 4