News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली मूलका डा. समीर मास्केले स्थापना गरेको फ्युजमसिन्स कम्पनी नासडाक स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।
- फ्युजमसिन्सले एआई र डेटा साइन्समा नेपाली युवालाई तालिम दिँदै विश्वस्तरको जनशक्ति विकास गरिरहेको छ।
- कम्पनीले आईपीओबाट प्राप्त रकम उत्पादन विकास, ग्राहक विस्तार र रणनीतिक मर्जरमा प्रयोग गर्ने योजना बनाएको छ।
७ कात्तिक, काठमाडौं । काठमाडौंका डा. समीर मास्केले सन् २०११ मा अनामनगरमा दुईवटा कोठामा एउटा आईटी कम्पनी सुरु गरेका थिए, पारखी डटकम। सन् २०१३ मा अमेरिकामा उनैले स्थापना गरेको कम्पनी फ्युजमसिन्समा पारखी पनि बदलियो, जुन डेढ दशकपछि संसारकै सबैभन्दा ठूलो सेयरबजार नासडाकमा सूचीकृत भएको छ। नेपाली मूलका उद्यमीको कुनै पनि कम्पनी विदेशका कुनै पनि स्टक एक्सचेञ्जमा सूचीकृत हुने पहिलो कम्पनी बन्न पुगेको छ ।
नासड्याक संसारको दोस्रो ठूलो स्टक एक्सचेञ्ज हो, जसमा मूलतः प्रविधि कम्पनीहरू सूचीकृत छन्। एपल, माइक्रोसफ्ट, अमेजन, टेस्लालगायत विश्वका विशाल कम्पनीहरूको सेयर कारोबार हुने नासड्याकमा एउटा नेपालीको मेहनतले खडा भएको फ्युजमसिन्स पनि २३ अक्टोबर विहीवारबाट सूचीकृत भएको छ।
वास्तवमा नवप्रवर्तन, धैर्यता र विश्वव्यापी महत्वाकांक्षाले एउटा गरिब देशको उद्यमीले आफ्नो आफ्नो उद्यमलाई कसरी विश्वस्तरमा पुर्याउनसक्छ भन्ने एउटा अनुकरणीय उदाहरण हो, फ्युजमसिन्स।
फ्युज मसिन्सका संस्थापक डा. समीर मास्के काठमाडौंमा जन्मेहुर्के थिए। यहीँको सेन्ट जेभियर्स स्कुल र वीरेन्द्र सैनिक स्कुलबाट स्कुल र प्लस टुसम्मको अध्ययन सके। डाक्टर बन्ने उद्देश्यक साथ प्लस टुमा बायोलोजी पढेका उनले अमेरिकाको बेट्स कलेजबाट स्नातक र कोलम्बिया विश्वविद्यालयबाट कम्प्युटर साइन्समा पीएचडी गरे।
नेपाल फर्केर उनले सन् २०११ मा उनले पारखी डटकम भन्ने आइटी कम्पनी स्थापना गरेका थिए, जसको उद्देश्य इन्जिनियरहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्सका विषयमा तालिम दिएर एआई, मेसिन लर्निङ तथा नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङजस्ता क्षेत्रमा अत्याधुनिक काम गर्न सक्षम बनाउनु थियो।
सुरुमा कलेजबाट भर्खरै निस्केका तेज युवाहरूलाई भर्ना गरेर उनले काम थाले। काठमाडौं र वरपरका होटेल तथा रेष्टुराँसम्बन्धी तथ्याङ्कहरू संकलन गरी उनले काम थाले। डेटामाथि खेल्ने काम गर्दै जाँदा ती युवा इन्जिनियरहरूले बुझ्दै गए कि आफूहरू त डेटा साइन्टिस्ट बन्दै थिए । वास्तवमा नेपाली युवाहरूलाई नै विश्वस्तरका इन्जिनियर र डेटा साइन्टिस्ट बनाउन सकिन्छ भन्ने मिसनमा डा. मास्के सफल पनि हुँदै गएका थिए ।
नेपालमा पारखी नामक कम्पनी छँदै थियो, आफ्नो कामलाई विश्वस्तरमा फैलाउने महत्वाकांक्षा उनमा पलायो । उनी अमेरिका फर्किए र सन् २०१४ मा फ्युजमेसिन्स नामक कम्पनी खडा गरे । एआई इन्जिनियर र डेटा साइन्टिस्टहरू उत्पादन गरिरहेका मास्केले यो कम्पनीको नारा नै ‘डेमोक्रेटाइज एआई’ राखे, अर्थात् एआईलाई सबैको पहुँचमा पुर्याउनु ।
विज्ञानको नवीनतम् प्रविधिले एआईलाई कसरी मानव जीवनका लागि उपयोगी बनाउन सकिन्छ भनेर यो कम्पनीले काम गरिरहेको छ ।
पीएचडी सकेपछि केही समय चर्चित आईटी कम्पनी आईबीएमा समेत काम गरेका डा. मास्केले त्यो काम छोडेर फ्युजमसिन्स स्थापना गरेका थिए। कोलम्बिया विश्वविद्यालयमा अध्यापन गराउँदा गराउँदै उनले यो नयाँ काम थालेका थिए ।
कलेजको अपार्टमेन्टमा बस्दाबस्दै पहिलो सिस्टम– नेचुरल ल्याङ्ग्वेज डायलग बनाएका उनको कम्पनीले यसबीचमा एआईमा आधारित अनेकन सिस्टम बनाइसकेको छ । डा. मास्के अहिले पनि कोलम्बिया विश्वविद्यालयमा एआई पढाउँछन् ।
सन् २०१६ मा पारखी फ्युजमसिन्समा गाभियो र त्यो कम्पनीको नेपाल अफिस बनेको छ । नेपाल र अमेरिकामा मात्रै होइन, कम्पनीका कार्यालयहरू क्यानडा, ल्याटिन अमेरिकी देशहरू पेरु, चिली, अर्जेन्टिना, मध्य अमेरिकी देश डोमिनिक रिपब्लिक तथा छिमेकी मुलुक भारतमा समेत छन् ।

संसारभर यसले आफ्नो आफ्ना उत्पादन तथा सेवा बिक्री गर्ने यो कम्पनीमा ४ सयभन्दा बढी कर्मचारीहरू छन्, तीमध्ये आधाभन्दा धेरै नेपाली मूलका छन् । एआईको पहुँच कम भएको समुदायमा त्यसको पहुँचमार्फत सेवा प्रवाहलाई सजिलो बनाउने मात्रै नभई एआई शिक्षा र एआईमा आधारित रोजगारीको अवसर वृद्धिमा पनि डा. मास्केले काम गरिरहेका छन् ।
एआईजस्तो रुपान्तरणकारी प्रविधिको पहुँच संसारभरका बञ्चितीकरणमा परेका मानिसहरूमा पुर्याउँदै उनीहरूको जीवनलाई सहज बनाउने उद्देश्य डा. मास्केले राखेका छन् ।
एक वर्ष अघिबाट डा. मास्केले कम्पनीलाई नासड्याकमा सूचीकरण गराउने प्रयास थालेका थिए। अन्ततः बिहीबार यो विश्वकैं अग्रणी सेयरबजारमा सूचीकृत भएको छ, ‘फ्युज’ टिकर लिएर ।

नासड्याक संसारकै प्रिमियर स्टक एक्सचेञ्जमा गनिन्छ । त्यसो हुँदा कुनै कम्पनी यो स्टक एक्सचेञ्जमा सूचीकृत हुनसक्नु निकै गाह्रो काम हो। कम्पनी यो स्टक एक्सचेञ्जमा सूचीकृत भएर पब्लिकमा जानुअघि अति नै उच्च वित्तीय, नौतिक र नियामकीय मापदण्डहरू पालना गर्नुपर्छ ।
बिहीबार नै डा. मास्केसँग न्यूयोर्कको टाइम्स स्क्वायरमा भेटेका नेपाल राष्ट्रबैंकका गभर्नर डा. विश्व पौडेल भन्छन्, ‘एक पायोनियरका रुपमा नेपालीहरूले डा. मास्केलाई सधैं सम्मान गर्नेछन् ।’
हाल कोलम्बिया विश्वविद्यालयका एसोसिएट प्रोफेसर समेत रहेका डा. मास्केले नास्डयाकमा सूचीकृत हुनु आफ्नो कम्पनीका लागि ठूलो कोशेढुंगा र नेपाली मूलको कम्पनीका लागि ऐतिहासिक सफलता भएको प्रतिक्रिया दिएका छन् ।
‘एउटा सानो, मिसन–प्रेरित टोलीबाट सुरु गरेर नास्डाकमा सूचीकृत कम्पनी बन्नु हाम्रो नवप्रवर्तन र कार्यसम्पादनप्रतिको अटल प्रतिबद्धतालाई झल्काउँछ,’ डा. मास्केले भनेका छन्, ‘यो सूचीकरण हाम्रो अर्को अध्यायको सुरुवात हो, जुन अनुशासित वृद्धि, रणनीतिक लगानी र हाम्रा सेयरधनीहरूका लागि दिगो मूल्य सिर्जनामा केन्द्रित हुनेछ ।’

यो यात्रा त्यति सजिलो थिएन । कम्पनी सुरु गरेको केही समयपछि नै फ्युजमसिन्सले न्यूयोर्क सिटीलाई समेत उत्पादन बेच्न थालेको थियो । तर, अन्य स्टार्टअपजस्तै यसले पनि विभिन्न चुनौहीहरू सामाना गर्नुपर्यो ।
सुरुमा त डा. मास्केलाई लगानीकै समस्या परेको थियो, त्यसपछि आफ्नो उत्पादनलाई बजारीकरण गर्नु, विश्वव्यापी रुपमा विश्वास आर्जन गर्नु र कम्पनीमा राम्रा प्रतिभाहरूलाई भित्र्याउनु कम चुनौतीपूर्ण थिएन ।
तर, सुरुमा आफ्नै र नजिकका मानिसहरूबाट लगानी जुटाउँदै अघि बढेका डा. मास्केले पछिल्लो समयमा डोल्मा इम्प्याक्ट फन्डलगायत भेन्चर लगानीकर्ताबाट पनि लगानी जुटाएको छ ।
कम्पनीले नासड्याकमा सूचीकृत हुनका लागि एक वर्षअघिदेखि निर्णायक पहल थालेको थियो । यही प्रयोजनका लागि फ्जुज मेसिनले गतवर्ष सीएसएलएम एक्विजिसन कम्पनीबीच मर्जर सम्झौता गरेको थियो। सीएसएलएम नास्डाकमा सूचीकृत भई कारोबार गरिरहेको कम्पनी थियो, जससँगको मर्जरपछि उसले सूचीकरणका लागि आवश्यक नियमकीय प्रक्रियाहरू पूरा गर्ने तथा आवश्यक लगानी जुटाउने काम गरेको थियो ।
त्यसबेला फ्युजमेसिनको मूल्यांकन २० करोड अमेरिकी डलर गरिएको थियो । सूचीकरणको आवश्यक प्रक्रिया पूरा गर्नका लागि सीएसएलएमले करिब २ करोड डलर लगानी गर्ने सम्झौता थियो। कम्पनी सूचीकृत हुने पछि फ्युजमेसिन्सले नै सएसएलएमलाई गाभेको छ भने फ्युजमसिन्स इन्कका नामबाट नै यसले कारोबार गर्ने जनाइएको छ ।
नयाँ कम्पनीमा डा. मास्केले नै सीईओका रुपमा काम गर्ने छन् भने क्रिस्टिन च्याम्बर्सले प्रमुख वित्त अधिकृत (सीएफओ)को भूमिका निर्वाह गर्नेछिन् ।
कम्पनीको बोर्डमा मास्केसहित भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ तथा सलमान आलम रहने कम्पनीले जनाएको छ ।

सन् २०२४ को दोस्रो त्रैमासको अन्त्यसम्ममा नासड्याकमा सूचीकृत हुनेगरी मर्जर सम्झौता गरिए पनि त्यसमा थप समय लागेको थियो ।
लामो प्रक्रियाबाट सूचीकृत भएपछि डा. मास्के आईपीओबाट प्राप्त रकम उत्पादन विकास, ग्राहक विस्तार, र रणनीतिक मर्जर तथा प्राप्तिमा प्रयोग गरिने जनाएका छन् ।
नेपाली इन्जिनियरहरूलाई एआई र डेटा साइन्सको तालिम दिएर विश्वस्तरको जनशक्तिमा विकास गर्ने अभियानलाई छोडेका छैनन् । फ्युजमसिन्सले स्थापनादेखि निरन्तर नेपाली तथा अन्य देशका प्रतिभाहरूका लागि ‘फ्युज मसिन्स एआई फेलोसिप कार्यक्रम’ सञ्चालन गर्दै आएको छ।
यो कार्यक्रमअन्तर्गत विश्वविद्यालयबाट ग्रयाजुएटहरूले ६ महिनासम्म एआई तथा डेटा साइन्सको सैद्धान्तिक र व्यावहारिक ज्ञान पाउने कम्पनीले जनाएको छ । डा. मास्केले कोलम्बिया विश्वविद्यालयमा पढाउने गरेको कोर्सका विषयवस्तु नेपाललगायत गरिब देश विद्यार्थीहरूलाई सिकाउने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हुन् ।

यस कार्यक्रममार्फत प्रोग्रामिङ, गणित, कम्प्युटर विज्ञान र सफ्टवेयर विकासको पृष्ठभूमि भएका विद्यार्थी, पेशेवरलाई उन्नत ज्ञान दिन र सीप दिइने उसले जनाएको छ ।
फ्युजमेसिन्स एआई फेलोशिप कार्यक्रमअन्तर्गत १२ वटा देशमा १ हजारभन्दा बढी फेलोहरूलाई तालिम दिइसकेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4