
News Summary
Generated by OK AI. Editorially reviewed.- सैनिक कुकुर काइरोले बुलेटप्रूफ ज्याकेट, नाइट भिजन क्यामेरा र माइक्रोफोन लगाएर विस्फोटक पदार्थ पत्ता लगाउने र खतरा पहिचान गर्ने महत्वपूर्ण भूमिका निभायो।
- काइरो र ह्यान्डलर विल चेस्नीको गहिरो सम्बन्धले मिशन सफल बनायो, तर क्यान्सरले काइरोको मृत्यु भयो र चेस्नीले युद्धको ट्रामाबाटिक असरसँग लड्नुपर्यो।
सन् २०११ को मे १ । पाकिस्तानको अबोटटोबादमा, अमेरिकी नेभी सिअलको एक विशेष टोलीले इतिहासकै सबैभन्दा विशेष मिशन ‘अपरेशन नेप्च्युन स्पिअर’को तयारी गरिरहेको थियो ।
त्यो विशेष मिशन थियो-विश्वकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिकाद्वारा सबैभन्दा खोजिएका ‘मोस्ट वान्टेड’, ओसामा बिन लादेनलाई नियन्त्रणमा लिने । उनलाई पक्राउ गर्नु चानचुने कुरा थिएन ।
ओसामा वर्षौँदेखि भूमिगत थिए । न फोन प्रयोग गर्थे, न इन्टरनेट । उनी आफ्नो सम्पर्क केवल कुरियरमार्फत राख्थे । त्यसैले, अमेरिकाको सबै प्रयास अनुमान र सूक्ष्म इंटेलिजेन्समा आधारित थियो । जसले गर्दा सूचना पाएको स्थानमा उनी छन् कि छैनन्, कसैले शतप्रतिशत भन्न सक्दैनथ्यो ।
त्यसमाथि पाकिस्तानसँग अमेरिकाको सम्बन्ध पहिले नै तनावरहित थिएन । यदि अपरेशन असफल भयो वा पाकिस्तानले त्यसको जानकारी पायो मात्र भने, अन्तर्राष्ट्रिय विवाद निम्तिन्थ्यो ।
अर्को कुरा जुन ठाँउमा ओसामा छन् भनिएका थिए, त्यो कम्पाउन्डमा उनको परिवारसहित अरू नागरिक पनि बस्थे । त्यसैले हरेक ढोका खोल्दै खोज्नु गाह्रो काम थियो । यी सबै कारणले ‘अपरेशन नेप्च्युन स्पिअर’ एउटा अत्यन्त जोखिमपूर्ण र एउटा सानो गल्तीले मिशन नै बिगार्न सक्थ्यो ।
त्यसैले, तयारी व्यापक चलिरहेको थियो । यो तयारीमा सैनिक कुकुर पनि थियो । त्यो कुकुरको नाम थियो कैरो, जसलाई बेल्जियन मालिनोइस प्रजातिको सैन्य कार्यकारी कुकुरको रूपमा प्रयोग गरिएको थियो । सैनिक कुकुर काइरोको आफ्नै ठाट थियो । ज्यानमा बुलेटफ्रफ ज्याकेट । काइरो बुलेटप्रूफ ज्याकेट, नाइट भिजन क्यामेरा, र माइक्रोफोन जस्ता सामरिक गियर भिरेर मैदानमा उत्रिन्थ्यो ।
यो मिसन पाकिस्तानको अबोटाबादमा बिन लादेनको कम्पाउन्डमा गरिएको थियो, जसमा काइरोलाई विस्फोटक पदार्थहरू पत्ता लगाउन, सुरक्षित क्षेत्र खोज्न र आवश्यक परे आक्रमण गर्न प्रयोग गरियो ।
मिसनको सुरुवातमा चेस्नी र कैरो ब्ल्याक हक हेलिकोप्टरबाट कम्पाउन्ड बाहिर उत्रिए । काइरोलाई केवलर भेस्ट र नाइट भिजन गगल्स लगाइएको थियो, जसले रातमा पनि काम गर्न सजिलो बनायो । कम्पाउन्डको परिधि खोज्न काइरोलाई खुला छोडियो, जसले बमहरू वा भाग्ने सुरुङहरू पत्ता लगाउने काम गर्यो । सिल टिमले घरभित्र प्रवेश गरेपछिकाइरोले बाहिरको सुरक्षा सुनिश्चित गर्यो । बिन लादेन मारिएपछि, काइरोले कम्पाउन्ड बाहिर जम्मा भएको भीडलाई नियन्त्रण गर्न मद्दत गर्यो, जसले सिलहरूलाई दस्तावेजहरू, कम्प्युटरहरू र अन्य प्रमाणहरू सङ्कलन गर्न तथा क्षतिग्रस्त हेलिकोप्टर नष्ट गर्न समय दियो । राष्ट्रपति बाराक ओबामाले मिसनपछि कैरोलाई भेट्न चाहेको कुरा उल्लेख गरिएको छ, जसले काइरोको महत्वलाई झल्काउँछ। चेस्नीका अनुसार, काइरो मिसनको हरेक सदस्य जत्तिकै महत्वपूर्ण थियो, तर उसलाई सिल्भर स्टार मेडल दिइएन ।
एक असाधारण सैनिकको सुरुवात
काइरो कुनै साधारण कुकुर थिएन । बेल्जियन म्यालिनोइस नश्लको यो कुकुरलाई विशेष प्रजनन र प्रशिक्षण कार्यक्रमबाट छानिएको थियो । जर्मनी वा नेदरल्यान्ड्सको शुट्ज्हुन्ड जस्ता कठिन प्रशिक्षण प्रणालीबाट आएको काइरोको मूल्य करिब १० हजार डलर थियो । यो नश्ल साहस, बुद्धिमत्ता र दबाबमा काम गर्न सक्ने क्षमताका लागि प्रसिद्ध छ ।
उनले काइरोलाई प्रशिक्षण दिने अवसर पाए । काइरोलाई सैनिक कुकुर बनाउनुअघि उसको शारीरिक र मानसिक क्षमता जाँचिएको थियो । उसको सूँघ्ने शक्ति र वफादारीले उसलाई नेभी सिल्सको विशेष मिशनका लागि उपयुक्त बनायो ।
काइरोको प्रशिक्षण केवल सीप सिकाउने प्रक्रिया मात्र थिएन, यो विश्वास र बन्धन निर्माणको यात्रा थियो । चेन्सीले पुस्तकको परिचयमा मै लेखेका थिए, ‘काइरो मेरो छोरा थियो । र, म उसको बाबु । म यो शब्दलाई उपमाका रूपमा प्रयोग गर्दिनँ । ह्यान्डलर र क्यानाइन सीलबीचको सम्बन्ध गहन र घनिष्ठ हुन्छ । यो मित्रता मानिस र कुकुरबीचको सामान्य बन्धनभन्दा माथि छ ।’
प्रशिक्षण र बन्धन : आगोमा गाँसिएको साझेदारी
काइरोलाई प्रशिक्षण दिनु एक पूर्णकालीन प्रतिबद्धता थियो । चेस्नीले यसलाई ‘२४–घण्टे डुबाइ’ को रूपमा वर्णन गर्छन् । यो प्रशिक्षणले काइरोको प्राकृतिक संवेदनशीलतालाई एक तीक्ष्ण हतियारमा परिणत गर्यो । विस्फोटक पदार्थ पत्ता लगाउनेदेखि शत्रुको क्षेत्रमा नेभिगेट गर्नेसम्म, काइरोलाई अफगानिस्तानका साना गाउँहरूदेखि शहरी गढहरूमा काम गर्न सक्षम बनाइयो ।
उसलाई विस्फोटक पदार्थ पत्ता लगाउने, शत्रुको क्षेत्रमा नेभिगेट गर्ने र खतरनाक परिस्थितिमा सही निर्णय लिन सक्ने बनाइएको थियो । काइरोलाई बुलेटप्रूफ ज्याकेट, नाइट भिजन क्यामेरा र माइक्रोफोन जस्ता सामरिक गियर लगाउन सिकाइएको थियो । तर उसको सबैभन्दा ठूलो हतियार उसको ह्यान्डलर, विल चेस्नीसँगको गहिरो सम्बन्ध थियो ।
उनीहरूको सम्बन्ध पारस्परिक थियो । ‘धेरै तरिकाले, मलाई लाग्थ्यो कि काइरोले मलाई जति सिकाउन सक्थे, म उसलाई सिकाउन सक्थेँ, ’ चेस्नीले आफ्नो पुस्तकमा लेखेका छन् ।
प्रशिक्षणमा काइरोलाई गोलाबारीमा अभ्यस्त बनाउने, तनावमा आदेशहरू पालना गर्न सिकाउने र गन्ध पत्ता लगाउने वा शत्रुलाई समात्ने कला सिकाउने समावेश थियो । यो प्रक्रिया केवल सीपको बारेमा थिएन, यो विश्वासको बारेमा थियो । चाहे पहाड चढ्नु होस् वा हेलिकप्टरबाट प्यारासुटमा झर्नु, काइरो र चेस्नी एक अविभाज्य इकाई बने ।
उनीहरूको पहिलो साझा तैनाथी सन् २००९ को जुनमा अफगानिस्तानमा भयो । उच्च–जोखिम मिशनहरूमा, जस्तै तालिबानद्वारा बन्दी बनाइएका अमेरिकी सैनिक प्राइभेट बोवे बर्गडाहललाई खोज्ने, काइरोले त्यहाँ पनि आफ्नो बहादुरी साबित गर्यो ।
तर एक मिशनमा, गोलाबारीको क्रममा काइरो गम्भीर रूपमा घाइते भयो । उसको छाती र खुट्टामा चोट लाग्यो । एक युद्ध चिकित्सकले तुरुन्तै उपचार गरी काइरोलाई बग्राम एयरफिल्डमा हेलिकप्टरबाट उद्धार गरियो । चेस्नी, आफ्नो साझेदार गुमाउने डरले भावनात्मक रूपमा बिचलित भए ।
काइरोको उपचार टेक्सासको ल्याकल्यान्ड एयर फोर्स बेसमा, रक्षा विभागको सैनिक कुकुर कार्यक्रमको केन्द्रमा लामो समयसम्म चल्यो । दुई महिनाभन्दा बढी समयसम्म चेस्नी र काइरो अलग रहे । र उनीहरूको पुनर्मिलन अनिश्चित थियो । तर काइरोको लचकताले उनलाई जितायो ।
सन् २०११ को मार्चसम्म, ऊ फेरि ड्युटीका लागि तयार भयो । अवकाश नलिई, बरु, अर्को मिशनका लागि तयार ‘स्पेयर’ कुकुरको रूपमा राखियो ।
अपरेशन नेप्च्युन स्पिअर : इतिहास परिवर्तन गर्ने रात
सन् २०११ को मार्चको अन्त्यमा, चेस्नीलाई भर्जिनियामा फर्कन र काइरोलाई लिन आदेश दिइयो । काइरो, आफ्नो सामरिक गियरले सु-सज्जित, अगाडि थियो । उनको भूमिका महत्वपूर्ण थियो- विस्फोटक पदार्थ, लुकेका खतरा पत्ता लगाउने ।
कुकुरको तीव्र सूँघ्ने क्षमता र चर्तुयीले टोलीलाई अनावश्यक ढोका फुटाउन वा लामो खोजीमा समय गुमाउन परेन । काइरो सहितको टोली जब कम्पाउन्ड नजिक पुग्यो, काइरोले लादेनको सुगन्ध र आवाजका सूक्ष्म संकेतहरू पहिचान गर्यो ।
मानिसहरूको हलचल, कुन कोठा प्रयोग भइरहेको थियो र सम्भावित लुक्ने ठाउँहरू कता छन् । उसलाई खोज्न धेरै समय लागेन । जब सिअल टोलीलाई एउटा खतरनाक ढोकाबाट प्रवेश गर्न डर लागिरहेको थियो, काइरोले नेतृत्व लियो । प्रत्येक कोठा जाँच्यो र संकेत दियो- ‘क्लियर ।’
अन्ततः लादेनलाई गिरफतार गर्न टोली सफल भयो ।
सो मिशनको सफलता विश्वप्रसिद्ध छ । काइरो, यो चार खुट्टे नायक, रातारात राष्ट्रिय सेलिब्रेटी बन्यो ।
युद्ध मैदानभन्दा बाहिरको बन्धन
चेस्नी अवकाश पछि घरमा बस्न थाले । उनलाई विस्तारै ‘पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर’ले मानसिक रुपमा अस्वस्थ बनायो । यो अवस्था तब हुन्छ जब व्यक्ति आफ्नो जीवनमा भयावह वा त्रासद अनुभव पछि लामो समयसम्म मानसिक र भावनात्मक रूपमा पीडित हुन्छ । उनलाई पनि सेनामा हुँदा युद्धमा भएका परिघटनाहरुको आघातले असर पारिरहेको थियो ।
तर, औषधिले उनलाई निको पार्न सकिरहेको थिएन । उनले त्यसपछि फोर्समा भएका क्यारोलाई आफूसँग राखे । काइरोको उपस्थितिले चेस्नीलाई स्थिरता दियो, जब शब्दहरूले काम गरेनन्, काइरोको उपस्थिति उनको लागि राहतको औषधि बन्यो । चेस्नी पहिलेको जस्तो जोसिलो र फूर्तिलो हुँदै गए ।
‘जहाँसुकै हामी जान्थ्यौं, काइरोलाई पनि लान्थ्यौं’ चेस्नी सम्झन्छन् । उमेर बढ्दै जाँदा काइरोको स्वास्थ्य बिग्रियो । काइरोलाई क्यान्सरले गाँज्यो, युद्धमा जस्तो जित्न नसकेको लडाइँमा उसले हार्यो ।
कसरी काइरो मिशनका लागि छानिए ?
टेक्सासका एक युवा विल चेस्नीले सानैदेखि नेभी सिअल बन्ने सपना देख्थे । संयुक्त राज्य अमेरिकाको विशेष बल समूह, जसलाई नेभी सील भनिन्छ । समुद्री, हवाइ र जमिनी अभियानहरूका लागि सैनिक प्रशिक्षित हुन्छ । यो समूहले आतंकवादविरोधी अभियान, युद्ध, बन्धक उद्धार, र अन्य प्रत्यक्ष सैन्य अभियानहरू जस्ता विभिन्न प्रकारका मिशनहरू सम्पन्न गर्छ ।
सन् २००२ मा, १८ वर्षको उमेरमा उनले त्यही सपना पूरा गर्न सेनामा भर्ना भए । उनलाई त्यहा पुग्न सहज बाटो लाग्थ्यो । बेसिक अन्डरवार्टर डिमोलिसन/सील प्रशिक्षणमा सबैभन्दा बलियो र दृढ व्यक्तिहरूलाई छानियो । भर्ती हुने १६८ पुरुष थिए, तर केवल उनीसहित २२ जनाले उत्तीर्ण गरे ।
सिलहरूलाई प्रतिकूल परिस्थितिमा काम गर्न सक्ने र भावनाहरूलाई मिशनमा बाधा नपुग्ने बनाउन सक्ने व्यक्तिहरू चाहिन्थ्यो । यो प्रशिक्षणले उनलाई शारीरिक र मानसिक रूपमा बलियो बनायो, जसले उनलाई प्रतिकूल परिस्थितिमा काम गर्न सक्षम बनायो । उनी बने निर्भिक कुशल नेभी सिअल ।
सन् २००६ सम्म, चेस्नीलाई सैनिक कुकुरहरूप्रति कुनै चासो थिएन ।
त्यही वर्ष उनी एक प्रदर्शनमा चेस्नीले पहिलो पटक बेल्जियन म्यालिनोइस कुकुरको क्षमता देखे । यो कुकुरको सटिकता, बुद्धिमता र निर्भीकताले उनलाई चकित बनायो । यही भेटले उनमा सैनिक कुकुरहरूसँग काम गर्ने इच्छा जाग्यो ।
सन् २००८ मा, अफगानिस्तानको तैनाथीमा पुनः उनको भेट काइरोसँग भयो ।
प्रतिक्रिया 4