+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

ज्येष्ठ नागरिकको चिन्ता : विपद्का बेला सुरक्षित बास र उपचार मुख्य चुनौती

ज्येष्ठ नागरिकले विपदजन्य समयमा छुट्टै सुरक्षित सामुदायिक भवन, छुट्टै उद्दार टोली, विशेषज्ञ स्वास्थ्य सेवा, राहत तथा उद्दारमा पहिलो प्राथमिकता दिनुपर्ने माग अघि सारेका छन् ।

जनक विष्ट जनक विष्ट
२०८२ मंसिर १८ गते १३:३६
बायाँबाट क्रमशः भैरव सुवेदी, वीरबल कार्की, मथुरा ठगुन्ना र रामकुमार बस्नेत ।

१७ मंसिर, धनगढी । धनगढी उपमहानगरपालिका–१८ को फूलबारीका रामकुमार बस्नेत अहिले ६३ वर्षका भए । नेपालमा ५९ वर्ष माथिको उमेर समूहलाई वृद्धवृद्धा अथात् ज्येष्ठ नागरिकमा राखिएको छ ।

ज्येष्ठ नागरिक भइसकेका बस्नेत उक्त उमेर समूहको तेस्रो वर्षमा हिँडिरहेका छन् । उमेर समूहका हिसाबले ज्येष्ठ नागरिकमा परे पनि बस्नेतलाई स्वास्थ्य अवस्थाले भने साथ दिइरहेकै छ । उनको स्वास्थ्य अवस्था प्रतिकूल बनिसकेको अवस्था छैन ।

तर, बस्नेतलाई उमेर ढल्किँदै जान थालेपछि आपत विपद्का बेला समस्या बेहोर्नुपर्छ कि भन्ने कुराको अनुभूति भने हुन थालिसकेको छ । जुन स्वभाविक पनि हो । खासगरी उमेर ढल्किँदै जाँदा मानिसको शरीरको बल पनि विस्तारै कमजोर हुँदै जान्छ ।

स्वास्थ्य अवस्था प्रतिकूल बन्दा हिँड्डुल गर्न समस्या, धपेडी गर्न नसकिने, विभिन्न रोगव्याधी लाग्ने खालका समस्या देखिने जोखिम हुन्छ । सोही कारण पनि बस्नेत विपद्का बेला भरपर्दो सहाराको आवश्यकता पर्ने महसुस गर्न थालिसकेका छन् ।

विशेषगरी तराई क्षेत्रमा हुने बाढी, डुबान, विभिन्न किसिमका रोगजन्य महामारी एवं विपद्का बेला ज्येष्ठ नागरिकको सुरक्षा प्राथमिकतामा राख्नुपर्ने आवाज उनले उठाउन थालेका छन् ।

फूलबारीमा ज्येष्ठ नागरिक समूहमा समेत आबद्ध रहेका उनले आफ्नो लागि मात्र होइन, सबै ज्येष्ठ नागरिकको सामूहिक हितलाई ध्यानमा राखेर विपद्‍मा ज्येष्ठ नागरिक सुरक्षाको विषयमा खबरदारी गर्दै आइरहेका छन् ।

वृद्धवृद्धालाई लक्षित गरेर बनाइने भवन विपद्का बेला मात्र नभएर अन्य समयमा समेत सदुपयोग गर्न सकिने भएकाले सम्बद्ध पक्षले शीघ्र ध्यान दिनुपर्ने ठगुन्नाको माग छ ।

आफ्नो बारेमा धेरै चिन्तित नदेखिए पनि बस्नेत प्राकृतिक विपद् एवं रोगजन्य प्रकोपका बेला आम ज्येष्ठ नागरिकको सुरक्षा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका निकायले प्राथमिकतामा राख्नुपर्ने बताउँछन् ।

‘हामीलाई अहिले नै धेरै ठूलो समस्या हुने अवस्था छैन । तर मोहना लगायतका नदी तटीय क्षेत्र नजिकमा बसोबास गर्ने वृद्धवृद्धालाई विपद्का बेला चाडो उद्दार गर्न तालिम प्राप्त जनशक्ति आवश्यक पर्छ,’ बस्नेतले भने, ‘विपद्‍मा उनीहरूलाई छिटोछरितो उद्दार गरेर एक ठाउँबाट अर्को ठाउँसम्म लैजानुपर्छ । बाढिका बेला छिटो उद्धार नभए बगाउने जोखिम हुन्छ ।’

अरू जस्तै वृद्धवृद्धा हिँड्डुल गर्न नसक्ने भएकै कारण उनीहरूका लागि मात्र छुट्टै उद्दार टोली आवश्यक पर्ने भएकाले सम्बन्धीत निकाय यसतर्फ गम्भीर बन्नुपर्ने माग बस्नेतको छ ।

वृद्धवृद्धालाई स्वास्थ्य उपचारको पनि समस्या हुने गरेको छ । समान्य अवस्थामा समेत समस्या भोग्ने ज्येष्ठ नागरिक विपद्का बेला पनि खासै प्राथमिकतामा नपर्ने गरेको गुनासो गरिएको छ ।

‘विपद्‍मा ज्येष्ठ नागरिकको उचित हेरचाह र उपचार सेवाका लागि विशेषज्ञ स्वास्थ्यकर्मीको आवश्यकता पर्छ । तर, कुनै पनि निकायले पहल गरेको देखिएको छैन,’ बस्नेतले भने ।

अहिलेको अवस्थामा वर्षातमा हुने बाढी तथा डुबानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्दार गर्ने अभ्यास रहेको छ तर स्थानीय स्तरमै जनशक्ति नभएका कारण उद्दारमा ढिलाइ हुने गरेको उनी बताउँछन् ।

०००

बस्नेतको जस्तै चिन्ता छ धनगढी उपमहानगरपालिका–१९ का ७८ वर्षीय भैरवप्रसाद सुवेदीको पनि । आफूहरूको कुरा कसैले नसुन्ने गरेका कारण विपद्का बेला थप समस्या हुने चिन्तामा उनी छन् ।

खासगरी वृद्धवृद्धालाई स्वास्थ्य समस्या बढी हुने भएकाले विपद्का बेला हेरचाहको आवश्यकता पर्ने गरेको बताउँदै सुवेदीले त्यसतर्फ स्थानीय तह लगायतका निकायले सोच्नुपर्ने सुझाव दिएका छन् ।

‘अब गाउँघरमा हामी जस्ता बुढो मान्छेको कुरा कसैले सुन्दैनन् । बरु उल्टै गिज्याएर उडाउँछन् । उमेर ढल्किँदै गएपछि धेरै खालका समस्या हुदा रहेछन्,’ सुवेदीले सुनाए, ‘हाम्रो उमेरका मान्छेहरूलाई बढिजसो स्वास्थ्य समस्या हुँदो रहेछ । स्वास्थ्यकर्मीले बेला–बेला हेरचाह गर्ने व्यवस्था मिलाए सहज हुने थियो । विपद्का बेला विशेष खालको हेरचाह चाहिन्छ । तर कसले गर्ला र खै ?’

फूलबारीकै ६३ वर्षीया मथुरा ठगुन्नाको पनि उस्तै गुनासो छ । ज्येष्ठ नागरिकले विपद्का बेला भोग्नुपर्ने विभिन्न खालका समस्या समाधानका लागि कुनै पनि निकाय गम्भीर नबनेको उनी गुनासो गर्छिन् । विपद्का बेला ज्येष्ठ नागरिकलाई छुट्टै बसोबासको प्रबन्ध गर्नुपर्ने भए पनि कसैले सुनुवाइ नगरेको उनी सुनाउँछिन् ।

‘बाढी, डुबान र अन्य महामारी फैलिएका बेला शरीरमा बल भएकाहरू आफैं पनि सुरक्षित स्थानमा जान सक्छन् । तर हामी जस्ता बुढाबुढीलाई समस्या हुन्छ । त्यस्तो बेला सुरक्षित स्थान आवश्यक पर्छ,’ ठगुन्नाले भनिन्, ‘सबै जना सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन सकिएको छैन । धेरै पटक यो माग उठाएपनि अहिलेसम्म सम्बोधन भएन ।’

उनकाअनुसार विपद्का समयमा सुरक्षित रूपमा बस्नेगरी धनगढी–१९ मा ज्येष्ठ नागरिक भवन निर्माणका लागि ज्येष्ठ नागरिक समूहबाट माग गर्ने गरिएको छ तर अहिलेसम्म कसैले पनि ध्यान नदिएकोमा उनी दु:ख व्यक्ति गर्छिन् ।

बाढी तथा डुबानका बेला समेत उद्धार कार्यमा ढिलाइ हुनाले बुढापाकाले थप समस्या भोग्दै आएको ठगुन्नाको भनाइ छ ।

‘आपतका बेला उद्धार पनि छिटो हुँदैन् । बुढापाखा आफैं हिंडेर वा अर्को व्यवस्था गरेर टाढा जान सक्दैनन् । नजिक र सुरक्षित ठाउँमा संरचना भए सामूहिक रूपमा बस्ने थिए,’ उनले भनिन्, ‘अहिले विपद्का बेला सुरक्षाकर्मीहरुले विद्यालय र वडा कार्यालयमा राख्ने गरेका छन् । जसले बालबालिकाको पढाइ पनि प्रभावित हुन्छ नि ।’

वृद्धवृद्धालाई लक्षित गरेर बनाइने भवन विपद्का बेला मात्र नभएर अन्य समयमा समेत सदुपयोग गर्न सकिने भएकाले सम्बद्ध पक्षले शीघ्र ध्यान दिनुपर्ने ठगुन्नाको माग छ ।

फूलबारीको ज्येष्ठ नागरिक समूहका अध्यक्ष ७६ वर्षीय वीरबल कार्की पनि ज्येष्ठ नागरिकको आवाज कसैले नसुन्दा समस्या भइरहेको बताउँछन् । खासगरी ज्येष्ठ नागरिकभन्दा पनि समाजका केही टाठोबाटो व्यक्तिका कारण बाढी, डुबान जस्ता प्राकृतिक प्रकोपका बेला वास्तविक पीडितले राज्यबाट सुविधा नपाउने अवस्था बनेको भन्दै कार्कीले दु:ख व्यक्त गरे ।

‘अहिले हामी बसिरहेको ठाउँमा विपद्का बेला ठूलो खालको समस्या आउने किसिमको स्थिति छैन । तर आसपास र अरु बस्तीका साथीहरूलाई समस्या हुने गर्छ । बाढी, डुबान पीडितको नाममा आउने सुविधा पनि केही टाठोबाठोले कब्जा गर्छन्,’ कार्कीले गुनासो गर्दै भने, ‘वास्तविक पीडित, त्यसमा पनि ज्येष्ठ नागरिकसम्म खासै सहयोगी कार्यक्रम पुग्दैनन् । आपतका बेला दुई/चार जना भेला भएर सुख, दु:ख बाड्ने ठाउँ पनि छैन ।’

फूलबारीका ज्येष्ठ नागरिकले अहिलेसम्म वडा कार्यालय बाहेक अन्य ठाउँबाट खासै सहयोग पाउन नसकेको दाबी समेत गरेका छन् । कार्कीका भनाईमा विपद्को समयमा बृद्धबृद्धाहरुले सुरक्षित ठाउँ र स्वास्थ्य उपचारलाई स्थानीय सरकार लगायतले पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ ।

०००

ज्येष्ठ नागरिकले विपदजन्य समयमा छुट्टै सुरक्षित सामुदायिक भवन, छुट्टै उद्दार टोली, विशेषज्ञ स्वास्थ्य सेवा, राहत तथा उद्दारमा पहिलो प्राथमिकता दिनुपर्ने माग अघि सारेका छन् । धनगढी उपमहानगरपालिकाले भने ज्येष्ठ नागरिकले माग गरे जस्तै नभए पनि विपद्जन्य अवस्थामा उनीहरूलाई प्राथमिकतामा राखिने गरेको जनाएको छ ।

उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख दिपक भण्डारीले विपद्जन्य घटना भएका बेलामा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर राहत वितरण तथा उद्धारका कार्यहरू गर्दै आइरहेको बताए । ‘उहाँ (ज्येष्ठ नागरिक)का लागि छुट्टै संयन्त्र बनाइएको अवस्था नभए पनि विपद्जन्य घटना भएका बेला उद्धार, स्वास्थ्य उपचार तथा विपद् राहत वितरणलाई प्राथमिकता दिएर अग्रपंक्तिमा राखेर काम गरिएको अवस्था छ,’ भण्डारीले भने, ‘सामाजिक सुरक्षा भत्ता वितरण, वडा स्वास्थ्य क्लिनिकमा पनि प्राथमिकता दिएरै सेवा प्रवाह गर्ने गरिएको छ ।’

भण्डारीले ज्येष्ठ नागरिक मात्र नभएर विपद्जन्य घटना भएका बेला उनीहरूसँगै शारीरिक अपांगता भएका व्यक्ति, गर्भवती महिला तथा बालबालिकालाई समेत प्राथमिकतामा राखेर उपमहानगरपालिकाले काम गर्दै आएको बताए ।

जोखिम समूहमा पर्ने मानिसहरूलाई विपद्का बेला उद्धार गरेर राख्नका लागि उपमहानगरपालिकाका सबै वडामा ५३ ठाउँमा खुला स्थानको व्यवस्थापन समेत गरिएको उनको भनाइ थियो । विपद् व्यवस्थापन ऐन अन्तर्गत रहेर उद्धार तथा राहतका कार्य गर्दै आएको भण्डारीले उल्लेख गरेका छन् ।

यस्तै, धनगढीमा रहेर विभिन्न क्षेत्रमा काम गर्दै आएको फाया नेपाल धनगढीले समेत ज्येष्ठ नागरिकलाई विपद्का बेला अन्यलाई भन्दा बढी जोखिम हुने भएकाले तीनलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

बालबालिका, ज्येष्ठ नागरिक, सार्वजनिक सरोकार लगायतका मुद्दामा केन्द्रित भएर काम गर्ने फाया नेपालका नामले परिचित जनचेतना तथा युवा जागरण मञ्चले विगतदेखि ज्येष्ठ नागरिक समूह गठन गरेर उनीहरुका अधिकारका पक्षमा वकालत एवं पैरवी समेत गर्दै आएको छ ।

बाढी, डुबान र अन्य महामारी फैलिएका बेला शरीरमा बल भएकाहरू आफैं पनि सुरक्षित स्थानमा जान सक्छन् । तर ज्येष्ठ नागरिकलाई समस्या हुन्छ । त्यस्तो बेला ज्येष्ठ नागरिकलाई सुरक्षित स्थान आवश्यक पर्छ ।

फाया नेपालका कार्यक्रम निर्देशक लालबहादुर महराकाअनुसार संस्थाले हेल्प एज इन्टरनेसनलको सहयोगमा सन् २०१५ देखि २०२१ सम्म ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने प्राजेक्ट नै सञ्चालन गरिएको थियो तर अहिले भने स्वयंसेवी रूपमा उनीहरूलाई आवश्यक परेको प्राविधिक सहयोग गरिरहेको उनी बताउँछन् ।

‘हामीले हेल्प एज इन्टरनेसनलको सहयोगमा सन् २०१५ देखि २१ सम्म कैलालीको धनगढी र बर्दियामा गाविस स्तरीय ज्येष्ठ नागरिक समूह गठन गरेर उनीहरूको हक, अधिकार, ज्येष्ठ नागरिकले भोग्नुपरेका समस्या लगायतका बारेमा काम गरेका थियौं,’ महराले भने, ‘अहिले प्रोजेक्ट नभएपनि फाया नेपालले धनगढीको फूलबारी क्षेत्रमा रहेका ज्येष्ठ नागरिकलाई कुनै समस्या पर्दा स्वयंमसेवी रूपमा प्राविधिक सहयोग गरिरहेका छौं ।’

उनकाअनुसार फाया नेपालले फूलबारीमा ज्येष्ठ नागरिक भवन निर्माणमा सहयोग समेत गरेको छ । यसका साथै उक्त संस्थाले अहिले ज्येष्ठ नागरिकले विभिन्न कार्यक्रमका लागि सरकारी निकायमा हाल्ने प्रस्तावना लेखन, बजेटबारे जानकारी दिने, विधान बनाइदिने जस्ता प्राविधिक काममा भने सहयोग गरिरहेको छ । यी सबै कार्य स्वयंसेवी भावनाले नै भइरहेका छन् । संस्थाका प्रतिनिधिले बेलाबखत ज्येष्ठ नागरिकसँग भेटघाट समेत गर्दै आएका छन् ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?