
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा राष्ट्रिय जनगणना २०७८ अनुसार ज्येष्ठ नागरिकको संख्या २९ लाख ७७ हजार ३१८ छ, जुन कुल जनसंख्याको १०.२१ प्रतिशत हो।
- नेपालको संविधानको धारा–४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हक दिएको छ।
- विश्वका विभिन्न देशहरूमा ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि नर्वे, स्वीडेन, जापान, चीन र इजरायलमा व्यापक सेवा र सुविधा उपलब्ध छन्।
मानिसका सामान्यतया तीन अवस्था हुन्छन् — बाल, युवा र वृद्ध । यी अवस्थाहरूमध्ये सबभन्दा पहिलो हो बाल्यावस्था किनकि मानिस जन्मेपछि बालक नै हुन्छ । यो अवस्था भनेको यस्तो अवस्था हो जसमा मानिसलाई ज्ञान, चेतना, थाहा वा जानकारी र डर केही पनि हुँदैन; एकदम अबोध, नादान र अनजान अवस्था हुन्छ । शारीरिक तथा मानसिक रूपमा परनिर्भर हुन्छ । त्यसैले यस्तो अवस्थाको व्यक्तिलाई अरूको समर्थन र सहयोगको आवश्यकता हुन्छ ।
युवावस्था भनेको शारीरिक र मानसिक सबै दृष्टिले सबल तथा सुदृढ अवस्था हो । त्यति मात्र हैन, यो अवस्था भनेको बल, फूर्ति र जोशले भरिएको अवस्था पनि हो । मान्छेले जे–जति गर्छ वा गर्न सक्छ, यही उमेर वा अवस्थामा गर्न सक्छ ।
वृद्धावस्था भनेको मान्छेको जीवनको उत्तराद्र्धको वा अन्तिम अवस्था हो, यो अवस्था भनेको एक प्रकारले बाल्यावस्था जस्तै हो । यस अवस्थामा पनि मान्छेले केही गर्न सक्दैन किनकि यस अवस्थामा मान्छे शारीरिक र भौतिक दृष्टिले असमर्थ र अशक्त भइसकेको हुन्छ।
यस लेखमा वृद्धावस्थाका मान्छे वा ज्येष्ठ नागरिकहरूका बारेमा सामान्य चर्चा गर्ने प्रयास गरिएको छ । बालबालिकामा ज्ञान, चेतना, जानकारी, डर तथा अनुभव नहुने र शारीरिक तथा मानसिक रूपले सक्षम र सबल पनि नरहने भएकोले तिनीहरूले समाज, देश र जनतालाई सहयोग गर्न र योगदान दिन सक्दैनन् ।
बरू राज्यले नै तिनीहरूका लागि विशेष व्यवस्था गर्नुपर्दछ किनकि बालबालिकाहरू भनेको कुनै पनि देशको भविष्यका कर्णधार हुन् । तर वृद्धावस्था भनेको केही फरक अवस्था हो।
यो यस्तो अवस्था हो जुन अवस्थाको मान्छेमा चेतना, ज्ञान, जानकारी तथा सूचनाहरू हुन्छन् । त्यति मात्रै हैन, वृद्ध मान्छेले कुनै सीप सिकेको र अनुभव समेत सँगालेको हुन्छ । अर्को भिन्नता के हुन्छ भने सामान्यतया बालबालिकामा कुनै त्यस्तो रोग हुँदैन, उनीहरू सामान्यतया स्वस्थ र निरोगी हुन्छन् । तर अधिकांश वृद्ध–वृद्धा भने ब्लड प्रेसर, सुगर, दम, प्रोस्टेट, थाइराइड, ग्यास्टिक, पाठेघर, स्त्रीरोग, मुटुरोग, अल्जाइमर, युरिक एसिड, कोलेस्ट्रोल, क्यान्सर आदि विभिन्न रोगले आक्रान्त भएका हुन्छन् ।
अर्को फरक के पनि हुन्छ भने वृद्धवृद्धाहरू शारीरिक र भौतिक रूपले मात्र कमजोर र अक्षम हुन्छन् तर उनीहरू मानसिक, बौद्धिक, मनोवैज्ञानिक र नैतिक दृष्टिले बलियै हुन्छन् र कसैलाई पनि सुझाव, सरसल्लाह एवं परामर्श दिन र आफ्ना ज्ञान, सीप, सूचना तथा अनुभवहरू अरूलाई बाँड्न सक्छन् ।
र, अन्य मान्छेहरू, समाज, सरकार तथा सिंगो राज्यले तिनलाई सदुपयोग गर्न र तिनीहरूबाट लाभान्वित हुनसक्छन् । बालक र वृद्धावस्थाको मान्छेले शारीरिक र भौतिक रूपले केही गर्न नसक्ने अवस्था भएको हुनाले यी दुवै अवस्थाका मान्छेहरूलाई अरू व्यक्ति वा संस्थाको सहयोगको आवश्यकता हुन्छ ।
नेपालमा ज्येष्ठ नागरिकहरूको संख्या राष्ट्रिय जनगणना, २०७८ अनुसार २९ लाख ७७ हजार ३१८ रहेको छ । यो संख्या देशको कुल जनसंख्याको १०.२१ प्रतिशत हो । नेपालको कानूनले ६० वर्षको उमेरलाई ज्येष्ठ नागरिक मानेको छ । ज्येष्ठ नागरिकहरूको महत्व, संवेदनशीलता, उपादेयता र गम्भीरतालाई मध्यनजर गर्दै नेपालमा ज्येष्ठ नागरिकहरूका बारेमा केही व्यवस्थाहरू गरिएको पाइन्छ ।
सर्वप्रथम, ज्येष्ठ नागरिकहरूको सवाललाई लिएर एउटा मन्त्रालय नै गठन भएको छ, यद्यपि त्यसमा महिला तथा बालबालिकाहरूको विषय पनि जोडिएका छन् र मन्त्रालयको नाम राखिएको छ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ।
नेपालको संविधानको धारा–४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ भने राष्ट्रिय योजना आयोगले ज्येष्ठ नागरिकहरूको जीवन व्यवस्थित, सुरक्षित र सम्मानित बनाउने र उनीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रको समृद्धिमा लगाउने नीति लिएको छ ।
त्यसैगरी, राज्यले ज्येष्ठ नागरिकलाई यातायातमा ५० प्रतिशत र स्वास्थ्य उपचारमा पनि छुटको व्यवस्था गरेको छ । तर यी व्यवस्थाहरू व्यवहारमा राम्ररी लागू भएको पाइन्न ।
यसै सिलसिलामा, सर्वप्रथम २०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकारले वृद्ध नागरिकहरूका लागि वृद्ध भत्ताको व्यवस्था गरेको थियो । त्यतिबेला उमेर तोकिएको थियो ७५ वर्ष र भत्ता रकम थियो १०० रुपैयाँ । त्यसपछिका सरकारहरूले पनि उक्त नीतिलाई निरन्तरता दिंदै लगे र यो रकम क्रमशः बढाउँदै लगेर हाल चार हजार रुपैयाँ पुर्याइएको छ र उमेरको हकमा ७० वर्ष कायम गरिएको छ ।
भत्ता रकम थोरै भए तापनि वृद्ध भत्ताको उक्त व्यवस्था नेपालमा नितान्त नौलो र ऐतिहासिक थियो । त्यसले एकातिर जनतामाथि, विशेषगरी वृद्ध–वृद्धामाथि राम्रो प्रभाव पारेको थियो भने अर्कोतिर प्रतिक्रियावादीहरूले कम्युनिष्टहरूका विरुद्ध लगाउने निराधार र वाहियात् आरोप अर्थात् ‘कम्युनिष्ट व्यवस्थामा त बुढाबुढीहरू सबैलाई गोली हानेर मारिदिन्छ’ लाई पूर्णतः खण्डन गरेको थियो।
अब विश्वका अन्य देशहरूमा ज्येष्ठ नागरिकहरूका लागि के–कस्तो व्यवस्था गरिएको छ ? केही अध्ययन गरौं। ज्येष्ठ नागरिकहरूको हेरचाहका सवालमा सबैभन्दा राम्रो व्यवस्था भएको देश नर्वे हो । त्यहाँ वृद्ध नागरिकहरूलाई सेवा र सुविधाहरूको बृहत् व्यवस्था गरिएको छ र उनीहरूलाई सकेसम्म घरमै बस्न पाउने व्यवस्था हुन्छ।
यी व्यवस्थाहरूमा गृह–केन्द्रित हेरचाह, नर्सिङ होम, आवास र अन्य कैयन् सहयोगी योजनाहरू पर्दछन् । त्यसपछि वृद्ध नागरिकहरूको लागि राम्रो व्यवस्था भएको देश स्वीडेन हो । त्यहाँ यसबारे एउटा सुव्यवस्थित कल्याण योजना छ ।
उसले ज्येष्ठ नागरिकहरूको अत्याधुनिक स्वास्थ्य हेरचाह, पेन्सन, सामाजिक सुरक्षा र सुविधाजनक रहनसहन तथा सामाजिक गतिविधि तथा सामुदायिक संलग्नता मार्पmत ज्येष्ठ नागरिकहरूलाई समाजमा एकजुट बनाउने कार्यमा धेरै लगानी गरेको छ ।
स्विट्जरल्याण्ड, जर्मनी र नेदरल्याण्डमा पनि ज्येष्ठ नागरिकहरूका लागि धेरै राम्रो सुविधा र व्यवस्था गरिएका छन् । त्यसो त सिंगो युरोप महादेशमै वृद्धवृद्धाहरूले राम्रो हेरविचार, सेवा र सुविधाहरू प्राप्त गर्दछन् । उनीहरूले उपेक्षित र अवहेलित महसुस गर्नुपर्दैन, बुढेसकालमा दुःख पाइएला कि वा परिवार तथा समाजले बोझ ठान्लान् कि भन्ने चिन्ता गर्नै पर्दैन ।
अमेरिकी महादेशमा क्यानडामा वृद्धवृद्धाका लागि राम्रो व्यवस्था गरिएको पाइन्छ । त्यहाँ तिनीहरूका लागि सेवा र सुविधाहरूको बृहत् क्षेत्रमा पहुँच रहन्छ । यी सुविधाहरूमा दीर्घकालीन हेरचाह गृहहरू, सँगै बस्ने समुदाय तथा आन्तरिक गृह हेरचाह सेवाहरूको व्यवस्था आदि पर्दछन् ।
इजरायलमा ज्येष्ठ नागरिकहरूका लागि विभिन्न सेवा र प्रावधानहरूको बृहत् व्यवस्था गरिएको छ । यिनमा आर्थिक सहयोग, स्वास्थ्य हेरचाह, सामाजिक सहयोग प्रणाली आदि पर्दछन् । आर्थिक सहयोगहरूमा वृद्ध पेन्सन, दीर्घकालीन बीमा सेवा, ज्येष्ठ नागरिक छुट आदिको सुविधा हुन्छ । त्यसैगरी, तिनीहरूलाई निःशुल्क आवासको पनि व्यवस्था हुन्छ ।
त्यहाँ तिनीहरूका लागि ज्येष्ठ नागरिक ऐन, दीर्घकालीन सेवा बीमा आदिको व्यवस्था गरिएका हुन्छन् । नेपालबाट इजरायलमा रोजगारीमा गएका कतिपय मान्छेहरू यस्तै सरकारी निःशुल्क आवासहरूमा राखिने ज्येष्ठ नागरिकहरूको सेवा र हेरचाह गर्ने कार्यमा लगाइन्छन् ।
विश्वमा जापान यस्तो देश हो जहाँ वृद्ध–वृद्धाहरूको ठूलो संख्या छ, त्यहाँ वृद्ध–वृद्धाहरू कुल जनसंख्याको २९ प्रतिशत छन् । यो प्रतिशत विश्वमै सबभन्दा उच्च हो । त्यहाँ मान्छेको औसत उमेर नै ८५ वर्ष छ । त्यहाँ तिनीहरूका लागि बृहत् सहयोगको व्यवस्था गरिएको हुन्छ जसमा आवास, सामाजिक कल्याण, स्वास्थ्य हेरचाह र रोजगारीका पहलहरू पर्दछन् ।
त्यहाँ विभिन्न ऐन–कानून र प्रावधानहरू व्यवस्था गरिएका हुन्छन् र तिनले, विशेषगरी, तिनीहरूको स्वतन्त्रता, सुरक्षा, समुदायमा संलग्न हुने कार्य र आफ्ना समुदायहरूमा उच्चस्तरीय जीवनयापनमा जोड दिएका हुन्छन्।
चीनमा पनि ज्येष्ठ नागरिकहरूका लागि विभिन्न व्यवस्था गरिएका छन् । त्यहाँ तिनीहरूको हेरचाहका लागि बहुआयामिक पद्धति अँगालिएको छ । यसअनुसार, सामाजिक सुरक्षा, स्वास्थ्य हेरचाह र समुदाय–आधारित विभिन्न कार्यक्रमहरू पर्दछन् । सरकारले तिनीहरूका लागि ज्येष्ठ नागरिकहरूको अधिकार तथा हितको सुरक्षाका लागि ऐन नै बनाएको छ ।
चीनमा तिनीहरूका लागि परिवारिक एवं सामुदायिक सहयोगमा जोड दिइन्छ र डिजिटल सेवाको सहयोग पनि उपलब्ध गराइन्छ । त्यहाँ कन्फ्युसियसको सिद्धान्तबमोजिम वृद्धवृद्धाहरूप्रति आदर, आज्ञाकारिता र हेरचाहलाई ध्यानमा राखिन्छ ।
विश्वमा वृद्ध–वृद्धाहरूलाई बेवास्ता गर्ने देशहरू पनि छन् । तीमध्ये बुरुन्डी पहिलो स्थानमा आउँछ भने सियरालिओन र दक्षिण सुडान क्रमशः दोस्रो र तेस्रो नम्बरमा पर्दछन् । यीबाहेक, अफगानिस्तान, म्याडागास्कर, सुडान, सिरिया, मलावी र यमन आदि देशहरूमा पनि ज्येष्ठ नागरिकहरूलाई कुनै व्यवस्था गरिंदैन ।
बुरुन्डीमा पनि आदर–सम्मानको कोणबाट त वृद्ध–वृद्धाहरूलाई आदर–सम्मान नै गरिन्छ र तिनलाई संस्कृति, ज्ञान आदिको स्रोत मानिन्छ । तर तिनलाई त्यतिले मात्रै त पुग्दैन, आर्थिक सहयोग, स्वास्थ्य हेरचाह आदिको पनि तिनलाई आवश्यकता पर्दछ । हो, यिनै समस्याहरू तिनले झेल्दछन् ।
त्यहाँ राज्यले ज्येष्ठ नागरिकहरूका लागि कुनै व्यवस्था गरेको छैन, सीमित स्रोत–साधन, गरिबी आदिका कारणले । परिवारले पनि तिनलाई हेर्दैनन्, त्यही गरिबीका कारणले र आजभोलि आधुनिकीकरणको हावा बुरुण्डीमा पनि चलेको कारण युवा वर्ग र छोरा–छोरीहरूले बुबा–आमा, हजुरबुबा–हजुरआमाहरूलाई हेर्ने चलन छोड्दै गएका छन् ।
अन्त्यमा, वृद्धावस्थाका व्यक्तिहरू ज्ञान, सीप, प्रतिभा, अनुभव आदिका भण्डार त हुन् तर तिनीहरू आफैं केही गर्न भने भौतिक, शारीरिक आदि कारणले असमर्थ हुन्छन् र विभिन्न कारणले गर्दा परिवारहरूले पनि तिनलाई सहयोग गर्न नसक्ने अवस्था हुन सक्छ ।
त्यसैले, नेपाल होस् वा जुनसुकै देश किन नहोस्; राज्य वा सरकारले नै वृद्ध–वृद्धाहरूको हेरविचार गर्नुपर्छ, तिनीहरूका लागि विभिन्न नीति, योजना र कार्यक्रमहरू बनाएर तिनीहरूको हेरचाह गर्नुपर्दछ, तिनीहरूलाई बाँचुञ्जेल कुनै कुराको अभाव हुन दिनुहुन्न ।
प्रतिक्रिया 4