+
+
Shares

अब तारकेश्वरमा गाडी चढेर स्कुल जानेछन् ज्येष्ठ नागरिक

कोखदेखि शोकसम्मका अभियान

नगर भित्रका ज्येष्ठ नागरिक बालबालिका जस्तै विद्यालय जानेछन् । तर उनीहरूले किताब र ब्याग भने बोक्नु पर्दैन । विद्यालयमा होस्टेलको समेत व्यवस्था गर्ने तयारी छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ साउन ८ गते २१:२५
बायाँबाट क्रमशः ज्येष्ठ नागरिकका लागि बन्दै गरेको स्कुल र नगरपालिका भवन ।

८ साउन, काठमाडौं । ‘न सकिन्छ गरिखान, न सकिन्छ मरिजान बुढेसकालैमा ।’ गीतले भनेझैं बुढेसकालमा रेखदेख गर्ने कोही हुँदैन । जेष्ठ नागरिकको भावना बुझ्ने फुर्सद परिवारलाई छैन । घरमा एक्लै बस्नुपर्दा दिन कसरी बिताउने ?

ज्येष्ठ नागरिकको भावना सम्बोधन गर्न स्थानीय सरकारले के गर्न सक्छ ? काठमाडौंको तारकेश्वर नगरपालिकाले एउटा सोच बनायो- ज्येष्ठ नागरिक विद्यालय स्थापना गर्ने ।

नगरपालिकाले ज्येष्ठ नागरिक विद्यालय बनाउने प्रस्ताव संघ सरकारसमक्ष राख्यो । संघ सरकार विशेष अनुदान दिन तयार भयो । र, ज्येष्ठ नागरिक विद्यालय बनाउने नगरपालिकाको योजना सफल भयो ।

नगरपालिकाको वडा नम्बर ६ स्थित पैंयुटार, बङ्गलामुखी मन्दिर नजिक जेष्ठ नागरिक स्कुलको पहिलो भवन बनिसकेको छ । अहिले दोस्रो भवन बनाउने काम भइरहेको छ । नगर प्रमुख कृष्णहरि महर्जनका अनुसार १३ मंसिर २०८१ मा पहिलो भवनको शिलान्यास भएको थियो । भवन २ तलाको छ । दोस्रो भवन ५ जेठ २०८२ मा शिलान्यास भएको छ ।

‘संघ सरकारको विशेष अनुदानमा ज्येष्ठ नागरिक विद्यालयको भवन बनाएका हौँ,’ नगर प्रमुख महर्जनले भने । उनका अनुसार संघ सरकारको कुल ३ करोड बजेटबाट भवन बनाउन लागिएको हो ।

ज्येष्ठ नागरिक विद्यालय नै किन ? ‘हाम्रै लागि बनाएको हो । छोरा-बुहारी काममा जान्छन् । घरमा न खाजा बनाएर खान सकिन्छ । न कोही साथी हुन्छन् । ज्येष्ठ नागरिकले एक्लो महसुस गर्नु नपरोस् भनेर विद्यालय खोल्न लागेका हौँ,’ महर्जनले भने ।

विद्यालय निर्माणको काम सकिएपछि नगर भित्रका ज्येष्ठ नागरिक बालबालिका जस्तै विद्यालय जानेछन् । तर उनीहरूले किताब र ब्याग भने बोक्नु पर्दैन ।

‘ज्येष्ठ नागरिकलाई लिन घरघरमै बस जान्छ । विद्यालय आएपछि उहाँहरूलाई मन लागेको काम गर्न सक्नुहुन्छ । नाचगान गर्ने, बत्ति कात्ने, भजन गाउने,’ प्रमुख महर्जनले भने, ‘साँझ आ-आफ्नै घरमा गाडीले नै पुर्‍याउँछ ।’

नगरपालिकाले विद्यालयमा होस्टेलको समेत व्यवस्था गर्ने तयारी गरेको छ । ‘कसैको हेर्ने कोही पनि छैन भने होस्टेलमा राख्छौं । तर यो वृद्धाश्रम भने होइन,’ नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले भनिन् । विद्यालयको व्यवस्थापन कसरी गर्ने भनेर नगरपालिकाले कार्यविधि बनाउने भएको छ ।

‘कार्यविधि बनाएर सञ्चालनमा ल्याउछौँ,’ उपप्रुमख अर्यालले भनिन् । नगरपालिका आफैंले जेष्ठ नगरवासीहरूलाई प्रतिव्यक्ति मासिक २ हजार पनि दिने गरेको छ ।

शिक्षामा राम्रो नतिजा

सामुदायिक शिक्षामा जोड दिएको तारकेश्वर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पनि राम्रो नतिजा ल्याइरहेको छ । सामुदायिक विद्यालयबाट ४ जीपीएसम्म विद्यार्थीले ल्याएका छन् ।

२३ वटा विद्यालय रहेको नगरपालिकामा १५ वटा माध्यामिक विद्यालय छन् । नगरपालिकाको अनुसार तारकेश्वर काठमाडौं जिल्लाको राम्रो नतिजा ल्याउनेमा पर्छ ।

नगरप्रमुख महर्जनका अनुसार २०८१ को एसईईको नतिजामा सामुदायिक विद्यालयमा ८५.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ४ वटा विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् ।‘पृथ्वीनारायण माविले शतप्रतिशत नतिजा ल्याएर जिल्लाकै प्रथम भएको छ,’ उनले भने ।

त्यसैगरी तारकेश्वर नगरपालिकाकै फुटुङ मावि सातौं, जीतपुर मावि नवौं र काभ्रेस्थली मावि १८औं भएको उनले बताए । ‘१५ वटा विद्यालयमा एसईई लक्षित कार्यक्रम सञ्चालन गरेका थियौं । शनिबार पनि कक्षा सञ्चालन गरेको थियो,’ प्रमुख महर्जनले नतिजा राम्रो आउनुको कारण सुनाए ।

नतिजा सुधार र शिक्षाको गुणस्तर बढाउन नगरपालिकाले प्रधानाध्यापकहरूसँग सम्झौता गर्ने गरेको छ । ‘हामी स्रोत दिन्छौँ, तपाईंहरूले नतिजा दिनुपर्छ भनेका छौँ । शिक्षक दरबन्दी र भौतिक संरचाना चाहिए हामी दिन्छौं । नतिजा तपाईंहरू दिनुहोस् भनेका छौँ,’ महर्जनले भने । शिक्षा सुधाको लागि नगरपालिकाले बजेट बढाउँदै लगेको बताएको छ । ‘१ करोडबाट शिक्षामा ९ करोड लगानी गर्न लागेका छौं,’ उनले भने ।

शैक्षिक गुणस्तर बढाउन ६० वटा डिजिटल बोर्ड तीनवटा विद्यालयलाई बस पनि नगरपालिकाले उपलब्ध गराएको छ । ‘बसको सबै खर्च नगरपालिकाले बेहोर्छ । नगर भित्रका बालबालिका बाहिर नजाउन भनेर बस राखेका हौँ,’ उनले भने ।

नगरपालिकाका अनुसार सबै सामुदायिक विद्यालयहरूमा विद्यार्थी भरिभराउ छ । ‘थेग्नै नसक्ने गरी विद्यार्थी छन् । भर्नाको समयमा विद्यार्थी फिर्ता गर्नुपर्छ,’ उपप्रमुख अर्यालले भनिन् । तारकेश्वरले प्रारम्भिक बालविकासमा पनि बोर्डिङको शैलीमा पढाउने गरेको छ । ‘नर्सरी, एलकेजी, यूकेजी छ । तर सबै विद्यालयमा भने छैन,’ उनले भनिन् ।

प्रमुख महर्जनका अनुसार विद्यालयहरूले अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क नलिने लिने गरेको छैन । ‘कुनै पनि शीर्षकमा शुल्क नलिन भनेका छौँ । विद्यालयमा हुने अतिरिक्त गतिविधिदेखि आन्तरिक परीक्षाको समेत नगरपालिकाले नै व्यवस्थापन गर्छ,’ उनले भने ।

विद्यालयमा शिक्षक आए/नआएको, पढाए/नपढाएको निगरानी गर्न विद्यालयमा छुट्टै गार्ड नगरपालिकाले राखेको छ । ‘१५ वटा विद्यालयमा गार्ड राखेका छौँ । शिक्षक आए/नआएको, पढाइ भए नभएको तत्काल सूचना शिक्षा शाखामा आउँछ,’ महर्जनले भने ।

नगरपालिकाको रिपोर्ट सार्वजनिक कार्यक्रम ।

कोखदेखि शोकसम्म

शिक्षासँगै सामाजिक अभियान पनि नगरपालिकाले चलाएको छ । नगरपालिकाले २०८१ बाट कोखदेखि शोकसम्म कार्यक्रम सञ्चालन गरेको छ । स्थायी बसोबास भएका नगरवासीको परिवारभित्र जन्म भएमा प्रतिव्यक्ति ५ हजार र नगरवासीको परिवारभित्र मृत्यु भएमा प्रतिव्यक्ति १० हजार नगरपालिकाले दिने गरेको छ ।

‘जन्मदा खुसी हुन्छन् । यो अवसरमा बुबा-आमालाई संरक्षक राखेर ५ हजार दिने गरेका छौँ,’ महर्जनले भने, ‘यसले गरिबका छोराछोरीका शिक्षा स्वास्थ्यमा सहयोग पुगेको छ । सुखमा मात्र होइन दुःखमा पनि नगरपालिकाले सहयोग गर्ने गरेको छ । ‘कसैको मृत्यु भएमा परिवारलाई १० हजार सहयोग गर्ने गरेका छौँ,’ उनले भने ।

यो रकम गरिबलाई भन्दा धनी परिवारलाई बढी राहत मिलेको अनुभव सुनाउँछन् प्रमुख महर्जन । ‘धनीका छोराछोरी विदेश हुने रहेछन् । घरमा मान्छे बित्छ । मृत्यु हुनेको नाममा बैंकमा पैसा छ । जग्गा पनि छ । तर छोराछोरी विदेश हुने रहेछन् । घाटमा लगेर संस्कार गर्न पैसा नहुने रहेछ । शव बाहन ल्याउनुपर्‍यो । काज किरिया गर्नुपर्‍यो । यो १० हजारले गरिबको भन्दा धनीको परिवारलाई राहत मिलेको छ,’ उनले भने, ‘सबै वर्गलाई शोकदेखि कोखसम्मको रकम दिने गरेका छौँ ।’

चिया चर्चा कार्यक्रम

नगरपालिकाले नगरवासीको कुरा सुन्न चिया चर्चा कार्यक्रम सुरु गरेको छ । ‘सकारात्मक सोचको विकास गरौं, आफ्नै नगरमा बसी चिया छलफल गरौं’ भन्ने नरासहित चिया चर्चा कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख महर्जनले बताए ।

कपडा बैंक उद्घाटन गरिँदै ।

‘प्रत्येक शनिबार एउटाएउटा वडामा चिया चर्चा कार्यक्रम गर्ने गरेका छौँ । चिया चर्चामा नगरका पूर्वजनप्रतिनिधि, पूर्वराष्ट्रसेवक, बुद्धिजीवी, शिक्षक, युवा, महिला, दलका प्रतिनिधिसँग र नगरवासीसँग सल्लाह सुझाव लिने गरेका छौँ,’ प्रमुख महर्जनले भने, ‘प्रत्येक शनिबार बिहान साढे ६ बजेदेखि साढे ९ बजेसम्म  चिया चर्चा हुन्छ ।’

तारकेश्वर नगरपालिकाले ‘क्लोथ एन्ड फुड बैंक’को सहकार्यमा कपडा बैंक पनि सञ्चालन गरेको छ ।

२०८१ मंसिरबाट कपडा बैंक स्थापना गरिएको हो । जहाँ नगरवासीहरूले आफ्नो प्रयोगमा नआएका लत्ताकपडा, झोला, ब्याग, जुत्ता, चप्पल, बेल्ट तथा पुस्तक पुस्तिका कपडा बैंकमा दिन सक्नेछन् ।

यसरी संकलन भएको सामग्री विपन्न परिवारलाई वितरण गरिने नगरपालिकाले जनाएको छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?