+

चित्ताकर्षक पाँचपोखरी (तस्वीरहरू)

२०८२ कात्तिक  ५ गते १७:५७ २०८२ कात्तिक ५ गते १७:५७

चारदेखि पाँच दिनमै पाँचपोखरी यात्रा सकिन्छ। यात्रामा धेरै खर्च लाग्दैन, पाँच पोखरीको यात्रा पाँच हजारमै पूरा हुन्छ।

चित्ताकर्षक पाँचपोखरी (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको धार्मिक र सांस्कृतिक स्थल हो, जहाँ पाँच वटा पोखरी र जुगल हिमालको अवलोकन गर्न सकिन्छ।
  • पाँचपोखरी पदयात्रा सामान्यतया ४ देखि ५ दिनमा पूरा हुन्छ र काठमाडौंबाट छिम्ती हुँदै ताँगु खर्क, नोस्यामपाटी हुँदै पुगिन्छ।
  • पदयात्रामा भ्यु प्वाइन्टबाट जुगल हिमाल र पाँचपोखरीको दृश्यावलोकन गर्न सकिन्छ र यात्रा लगभग पाँच हजार रुपैयाँमा सम्पन्न हुन्छ।

५ कात्तिक, काठमाडौ। घरी बादल लाग्छ। छिनमै क्षितिजपारी पुग्छ, बादल। र, हराउँछ। एकैछिनपछि सिरेटो सेक्न आइपुग्छ। यात्रीहरू यसैमा झुमिरहेका छन्। हिँडेर पुगेकाहरू थकान मेटिरहेका छन्। ‘स्वर्गमा आइपुग्यौं,’ यात्रीहरू भनिरहेका छन्।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको पाँचपोखरी पुग्ने जोकोही यस्तै भन्छन्। ४१००–४२०० मिटरको उचाइमा रहेको पाँचपोखरी, जहाँबाट जुगल हिमालको अवलोकन गर्न पाइन्छ।

त्यतिमात्र होइन, पाँचपोखरी पवित्र धार्मिक स्थल पनि हो। हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल। जहाँ पाँच वटा पोखरी लहरै छन्। धर्मावलम्बीको आस्थाको धरोहर पनि हो पाँचपोखरी।

पछिल्लो समय आन्तरिक पर्यटकको लागि पनि उपयुक्त गन्तव्य बनेको छ। पाँचपोखरी पदयात्रा छोटो मानिन्छ। ४ देखि ५ दिनमा पाँचपोखरी पुगेर काठमाडौ फर्किन सकिन्छ।

कहाँबाट कसरी जाने?

पहिलो दिनः काठमाडौंछिम्ती–ताँगु खर्क

काठमाडौं जोरपाटी शिव चोकबाट छिम्तीसम्म सार्वजनिक बसमा पुगिन्छ। शिव चोकबाट बिहान ७ बजे गयो भने १२ बजेतिर बसले छिम्ती पुर्‍याउँछ। निजी सवारीसाधनमा पनि जान सकिन्छ।

छिम्तीमा खाना खाएपछि पदयात्रा सुरु हुन्छ। उकाली-ओराली गर्दै हिमाल, पहाड, खोला, झरनाको दृश्य हेर्दै पाइलाहरू अगाडि बढिरहन्छ। खोला सुसाएको आवाज, चराका चिरवीर र किराको एकोहोरो आवाजले संगीतको झल्को दिन्छ।

पहिलो दिनको बसाइ

जति छिटो पाइला चाल्न सक्यो त्यति छिटो गन्तव्यमा पुगिन्छ। छिटो हिड्न सक्नेहरू ताँगु खर्क पुगेर बस्छन्। अलि ढिला हिड्नेहरू देउराली वा टुप्पी डाँडामा बास बस्छन्। म भने पहिलो दिन ताँगु खर्कमा बास बस्न पुगें। जहाँ दुई-तीनवटा होटल छन्।

दोस्रो दिन : पाँचपोखरी

ताँगु खर्कबाट बिहान ७ बजे नै यात्रा सुरु भयो। फेरि हिमाल, पहाड, खोला, झरनाको अवलोकन गर्दै अघि बढियो। खाना खान नोस्यामपाटी पुगियो। कतिपय यात्रीहरू दोस्रो दिन नोस्यामपाटीमै बसेका भेटिए।
‘हिड्न सकिएन। पहिलोपटक ट्रेकिङ आएको। हामी त आज यतै बस्यौं,’ नोस्यामपाटी बसेका यात्रीले लामो सुस्केरा हाल्दै भने। हिँडाइको थकानले त्यो टोली नोस्यामपाटी नै बस्यो। तर म भने खाना खाएर उकालो चढेँ।

हामीलाई दोस्रो दिनमै पुग्नु थियो पाँचपोखरी। धेरैलाई सबैभन्दा गार्‍हो लौरीबिनाको उकालोमा हुँदो रहेछ। लौरीबिना पुगेपछि यात्रीहरू लामो सास लिन्छन्। र, एकैछिन थकान मार्छन्।
बाटोमा फूलेका फूलहरूको मीठो सुगन्ध आइपुग्छ। पाँचपोखरी आउन अब कति टाढा छ?

पाँचपोखरीबाट फर्केर आउने यात्रीहरूलाई अधिकांशले सोध्ने प्रश्न हो। ‘अब आउनै लाग्यो। बिस्तारै हिँडे पनि आजै पुग्नु हुन्छ,’ फर्किएका यात्रीहरूले जवाफ फर्काउछन्।

साँझको पाँच बजे पाँचपोखरी पुगियो। जहाँ होटेलहरू हाम्रै प्रतीक्षामा थिए। ‘ल है आज हाम्रोमा बस्ने पालो हो। यता है यता,’ होटेल संचालक दोबाटोमै बोलाउन आइपुगे।

होटेलको पालो सिस्टम रहेछ। एउटा होटेलमा १ सय जना पुगेपछि अर्को हेटेलको पालो आउने रहेछ। साँझमा पुगेकाहरू कोही पाँचपोखरीको अवलोकन गर्न निस्किए। चिसोका कारण कोही सिरकभित्र त कोही अगेनाको छेउमा आगो ताप्न थाले। दोस्रो दिनको बास पाँचपोखरीमा भयो।

तेस्रो दिन : भ्यु प्वाइन्ट

उषाका किरणसँगै पदयात्रीका आँखा खुले। ‘ल अब भ्यु प्वाइन्ट जाऔं,’ बिहानको तीन बजेदेखि नै यात्रीहरूको आवाज गुञ्जिन थाल्यो। यात्रीहरू उठेर उतैतिर लागे। पाँचपोखरीको दायाँबायाँबाट भ्यु प्वाइन्ट जान सकिन्छ। प्वाइन्टबाट चित्ताकर्षक जुगल हिमाल र पाँचपोखरी आँखासँगै क्यामेराको लेन्समा पर्छ।

धित मरुन्जेल भ्यु प्वाइन्टमा बसेर पाँचपोखरीतिरै झरिन्छ। त्यसपछि सोही दिन यात्रीहरू पाँचपोखरीबाट फर्किन्छन्। फर्किंदा धेरैजसोको खाना खाने ठाउँ नोस्यामपाटी नै हुनेरहेछ। पाँचपोखरीबाट झरेकाहरू कोही नोस्यामपाटी, कोही ताँगु खर्क, कोही टुप्पी डाँडा, कोही देउराली आएर बस्छन्। छिटो हिड्न सक्नेहरू छिम्तीमा आएर बास बस्छन्।

चौथो दिन : छिम्ती

नोस्यामबाटी बसेकाहरू चौथो दिन छिम्ती आइपुग्छ्न। छिम्तिमै बसेर पाँचौं दिनमा गाडी चढेर घर फर्किन्छन्। धेरैजसो भने चौथो दिनमै फर्किने रहेछन्। पाँचपोखरीबाट फर्केर ताँगु खर्क, टुप्पी डाँडा र देउराली बस्नेहरू चौथो दिनमा नै गाडी चढेर काठमाडौं आइपुग्छन्। समग्रमा चारदेखि पाँच दिनसम्म पाँचपोखरी यात्रा सकिन्छ। यो यात्रामा धेरै खर्च लाग्दैन। पाँच पोखरीको यात्रा पाँच हजारमै पूरा हुन्छ।

हेर्नुहोस् थप तस्वीरहरू :

तस्वीरहरू पर्यटक पाँचपोखरी
लेखक
दिनेश गौतम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय